मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यू-१९ यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हरायो

बुधबार, २७ चैत २०८१, १५ : १९
बुधबार, २७ चैत २०८१

काठमाडौँ । यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाली टोलीले सान्त्वना जित हासिल गरेको छ । 

नेपाली यू–१९ टोलीले बुधबार खेलिएको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानको यू–१९ टोलीलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा ८५ रनले हराएको हो । 

काठमाडौँको मुलपानी क्रिकेट रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४।५ ओभरमा अलआउट हुनुअघि एक सय ९१ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले २०।१ ओभरमा ६ विकेट गुमाएर ४६ रन बनाएपछि वर्षाका कारण खेल अवरुद्ध भएको थियो । वर्षाका कारण खेल अगाडि बढ्न नसकेपछि डकवर्थ एन्ड लुइस नियमका आधारमा नेपाल विजयी भएको हो । 

अफगानिस्तानका लागि फैसल सिनोजादा (१६ रन) र अजिजुल्लाह मिया खिल (अविजित १५ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सके । नेपाली टोलीका बलरले अफगानिस्तानका ब्याट्सम्यानलाई सुरुदेखि नै दबाबमा राखेका थिए ।

नेपाली टोलीका बलर अपराजित पौडेलले दुई तथा दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले एक–एक विकेट लिए । 

त्यसअघि, ओपनर ब्याट्सम्यान साहिल पटेल र निरज कुमार यादवले नेपाललाई गतिलो सुरुवात दिलाएका थिए । यी दुबैले ओपनिङ विकेटका लागि ८३ रनको साझेदारी गरे । साहिल पटेलले ४६ रन बनाए । उनले ६२ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।

अर्का ओपनर निरजले पनि टोलीको खातामा ४२ रन थपे । उनले ४७ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान नरेन भट्टले पनि टोलीको खातामा २२ रन थपे । उनले ३५ बलमा तीन चौका प्रहार गरे ।

यसैगरी, रोशन विश्वकर्माले २८ रन बनाए । यसक्रममा उनले २३ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काए । दर्श सोनारले टोलीको खातामा १० रन थपे । मध्य र तल्लोक्रममा ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपाली टोलीले अतिरिक्त रुपमा पनि २८ रन पायो । अफगानिस्तानका बलर हाफिज जदरानले चार विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै ४९ रन खर्चिए । अब्दुल अजिज र जइतुल्लाह साहिनले पनि दुई–दुई विकेट हात पारे । 

तीन खेलको शृंखला भने अफगानिस्तानले २–१ ले जितेको छ । भ्रमणकारी टोली अफगानिस्तानले नेपाली टोलीलाई पहिलो खेलमा एक सय ३० रन र दोस्रो खेलमा एक रनले हराएको थियो । 

नेपालमै आयोजना हुने आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका क्रममा यो शृंखला खेलिएको हो । 

विश्वकप छनोट खेल पनि मुलपानी क्रिकेट मैदानमै हुनेछ । नेपाल र अफगानिस्तानबिचको शृंखलालाई यूथ एककदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइएको छ ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप