सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्मृति

रत्नकुमार बान्तवासँगको मेरो त्यो अन्तिम भेट

बुधबार, २७ चैत २०८१, १४ : ३४
बुधबार, २७ चैत २०८१

नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका योद्धा रत्नकुमार बान्तवा (जन्म : २००८ चैत २७, सहादत : २०३५ चैत २७) को आज ७३औँ जन्मजयन्ती एवं ४६ औँ स्मृति दिवस परेको छ ।

किशोरकालदेखि कम्युनिस्ट पार्टीप्रति झुकाव राख्ने रत्न विशेषतः झापा आन्दोलनबाट प्रभावित थिए । इलाममा जन्मेका रत्नले २०३२ सालमा त्रिभुवन विश्वविद्यालयबाट बिएड गरी इलामै फर्केर भूमिगत राजनीतिमा लागेका थिए । उनलाई तत्कालीन पञ्चायती सरकारले २०३५ चैत २७ गते गोली हानी हत्या गरेको थियो । हत्या भएको ३७ वर्षपछि (२०७२ मा) राज्यले उनलाई सहिद घोषणा गर्‍यो । 

२०३२ सालको कुरो हो । म विराटनगरबाट घर फर्कंदै थिएँ । झापाबाट पैदलै हिँडेर इलाम पुगेँ । म सोझै रत्नकुमार बान्तवाको डेरामा पुगेँ । त्यसको केही महिनाअघि मात्रै म, भरत श्रेष्ठ, देवराज घिमिरे, पूर्ण भट्टराई ताप्लेजुङबाट आउँदा इलाम पुगेका थियौँ । त्यसो त हामी पहिला नै ‘झापाली’ भइसकेका थियौँ । 

कोठामा छिर्ना साथै मैले भारी बिसाएँ र हात मिलाउन थालेँ, कर्याप्प हात समातेर । 

‘तपाईं थाक्नुभको होला, एकछिन आराम गर्नाेस्,’ रत्नले मसिनो तर उही आत्मीय भावमा भने । 

रत्नकुमार, गणेश राई र वसन्त पराजुली कोठाभित्रै थिए । म भने छोरी माइत आएजस्तै फुरुङ्ग थिएँ, आत्मीयता जो थियो । मलाई यी तीनजना त्रि–रत्नजस्तै लाग्थ्यो — उस्तै उमेर, हित्तचित्त मिलेका । खाइलाग्दा त थिए नै, त्योभन्दा बढ्ता उनीहरूको अनुहारमा निश्छल समर्पण प्रस्टै देखिन्थ्यो, आजभोलि जसलाई ‘व्यवहारवादी’ राजनीति भनिन्छ र ‘मालिक र कारिन्दा’को व्यवहार गरिन्छ, त्यसको कहीँकतै नामोनिसाना थिएन । लाग्थ्यो, हामी एउटै आमाका लाम्टा चुसेका हौँ । अनि मनमनै गम्थेँ, ‘मेरो सानो समर्पण गलत ठाउँमा छैन । यिनीहरू मिसनका पक्का जोधाहा हुन् ।’ बस, मलाई के चाहियो !

रत्नकुमार बाँकी दुईजनाका पनि अगुवा छँदै थिए, ‘शिल र समाधि’मा उस्तै भए पनि ‘प्रज्ञा’मा उनी माथिल्लो कोटिका थिए । अहिले लाग्छ, उनको समर्पण नै ‘प्रज्ञा, शिल र समाधि’को फ्युजन हो — निजात्मक उन्नयनको छक्कापन्जा थिएन । 

उनले माओत्से तुङलाई उद्धृत गर्दै यो पनि भनेका हुन्, ‘क्रान्ति कार्चाेपी भर्नु होइन, न त भोजभतेर गर्नु नै । विनासमर्पण र विनाबलिदान आस गर्नु पनि मिथ्या हुन्छ । क्रान्तिको आफ्नै विज्ञान हुन्छ ।’

म त्यहाँ बस्दाबस्दै उनले धेरै जनासँग संवाद चलाए । कोही अलिक पाका, कोही तरुण तर ती मभन्दा प्रौढ थिए । बेलुका सँगै खाना खायौँ । खाना उनैले बनाएका थिए । अनि हामी हाम्रो ‘बिजनेस’मा लाग्यौँ । विद्यार्थी आन्दोलनको चर्चा गर्‍यौँ, कम्युनिस्ट आन्दोलनको नयाँ शिराको चर्चा गर्‍यौँ । ‘झापा विद्रोह’ले प्रशस्त गरेको बाटोमा छलफल चलायौँ । पार्टी विस्तारका सम्भावनाका कुरा भए । 

यो पनि

पञ्चायती शासनको बर्बर आतङ्क : यसरी भएको थियो रत्नकुमार वान्तवाको हत्या

‘यता त उत्साहजनक प्रगति भइरहेको छ । ताप्लेजुङका निम्ति के गर्नुपर्ला ?’ उनले माओत्से तुङलाई उद्धृत गर्दै यो पनि भनेका हुन्, ‘क्रान्ति कार्चाेपी भर्नु होइन, न त भोजभतेर गर्नु नै । विनासमर्पण र विनाबलिदान आस गर्नु पनि मिथ्या हुन्छ । क्रान्तिको आफ्नै विज्ञान हुन्छ ।’ उनी बोल्दै गर्दा म भने आफ्नै अघिल्तिर क्रान्तिको घोडा दौडँदै गरेको सपना देख्दै थिएँ । 

अलिकअघि मात्रै म विराटनगर क्याम्पसबाट ‘रस्टिकेट’ भएको, चार वर्षअघि एसएलसीमा पनि । आफ्नै जीवनले भन्थ्यो, यो शासन अधम छ, बदल्नुको विकल्प छैन — हेलिनुपर्छ क्रान्तिमा । उनी मलाई ढाडस दिँदै थिए, ‘यो सत्ताको बल नै अत्याचार हो ।’ 

हामी अबेरसम्म विमर्शमै रह्यौँ । भोलिपल्ट बिहानै म लागेँ, आफ्नै दर्गदिसा । यो नै मेरो रत्नकुमार बान्तवासँगको अन्तिम भेट थियो । त्यसको तीन वर्षपछि मलाई काठमाडौँमा भरतले दुःखद समाचार सुनाए, ‘कमरेड रत्नकुमारको सहादत भयो ।’ 

म खङग्रङ्ग भएँ, नेपाली कम्युनिस्ट आन्दोलनका एक नक्षत्रको अस्त भयो । आक्कलझुक्कल मैले सोनाम साथीलाई भेट्थेँ । उनलाई देख्दा अनायास म आफैँलाई उही इलामको झझल्को आउँथ्यो । पार्टी र सत्तातिर अचेल रत्नकुमारहरू हराउन थालेका छन् ।

आज उनै अमर सहिद रत्नकुमार बान्तवाको जन्म दिन तथा स्मृति दिवस । हार्दिक श्रद्धाञ्जली तथा लाख लाख नमन, कमरेड रत्न कुमार बान्तवा ! 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कार्की
टंक कार्की
लेखकबाट थप