शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

वैशाखमा तोकिएको महाधिवेशन गर्न रास्वपाले मरिहत्ते नगर्ने !

बुधबार, २७ चैत २०८१, १४ : ००
बुधबार, २७ चैत २०८१

काठमाडौँ । आगामी वैशाखमा निर्धारण भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अनिश्चित भएको छ । महाधिवेशनको संघारमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै महाधिवेशन अनिश्चित भएको कतिपय नेताहरूको भनाइ छ । विधानले दिएको सुविधा र सभापतिसमेत अनुपस्थित हुने अवस्थामा वैशाखको महाधिवेशन मिति सार्नुपर्ने धेरैजसो नेताहरूको धारणा छ ।

सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतको आदेशलाई उच्च अदालत तुलसीपुरले उल्ट्याएपछि सभापति लामिछाने गत शुक्रबार पक्राउ परेका थिए । लामिछाने हाल पुर्पक्षका लागि रुपन्देहीमा थुनामै छन् । उनी कति समय थुनामा रहने हुन् भन्ने अनिश्चित छ ।

यद्यपी आगामी वैशाखको २५, २६ र २७ गतेलाई तोकिएको पहिलो राष्ट्रिय महाधिवेशन सोही मितिमा गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय बुधबारको सचिवालय बैठकले गर्ने भएकाले अहिले नै केही भन्न नसक्ने सो पार्टीका नेताहरूको भनाइ छ ।

रास्वपा राष्ट्रिय परिषद् भेलाले २०८२ साल वैशाख २५ देखि २७ सम्म चितवनमा महाधिवेशन गर्ने यसअघि निर्णय गरेको थियो । विधानत पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था अनुसार महाधिवेशनको तयारी लगभग अन्तिम अवस्थामा पुगेको कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीको भनाइ छ ।

स्रोतका अनुसार रास्वपाको सचिवालयमा रहेका ११ जना सदस्यमध्ये वैशाखमै महाधिवेशन गरिहालौँ भन्ने पक्षमा अत्यन्त थोरैमात्र रहेका छन् ।

‘वैशाखमै गरिहालौ भनेर जोडबल गर्ने नेताहरु अत्यन्त कम मात्र छन् । अनुकुल समयमा गरौ भन्ने नै सवैको सुझाव छ’, एक नेताले रातोपाटीसँग भने ।

उनका अनुसार सभापति लामिछाने पुर्पक्षका लागि थुनामा गएपछि पार्टीको महाधिवेशन तोकिएको समयमै गर्ने कि नगर्ने भन्ने छलफल गर्ने मुख्य एजेण्डासहित बुधबार अपराह्न केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।

‘आजको सचिवालय बैठकमा महाधिवेशनको एजेण्डा राखिएको छ, बैठकले छलफल गरेर उपयुक्त निर्णय गर्छ’, बुर्लाकोटीले भने, ‘महाधिवेशनका लागि गर्नुपर्ने व्यवस्थापनका कुराहरु भइरहेका छन्, भेन्युहरु पनि हेरिरहेका छौं । पार्टी संगठन तय भएकै मितिमा महाधिवेशन गर्ने निर्णयबाट पछि हटेन भने गर्नुपर्छ भनेर प्रतिनिधिहरुको पनि ट्रेसिङ गरिसकेका छौ ।’

बुर्लाकोटीका अनुसार २ हजारको हाराहारमीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने आँकलन पार्टीको छ । रास्वपाको विधान अनुसार प्रत्येक जिल्लाबाट सभापति र एक महिलासहित ५ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट हुने व्यवस्था छ ।

‘महाधिवेशनमा पेश हुने नीतिगत विषयको तयारी गर्न पनि नेताहरुलाई भनिसकिएको छ । केही कानुनी पक्षमा पनि छलफल चलिरहेको छ । यो सवै हेर्दा तोकिएको मितिमा महाधिवेशन गर्न नसकिने भन्ने छैन’,बुर्लाकोटीको भनाइ छ ।

उनले कानुनी पाटोका साथै केही प्राविधिक र व्यवहारिक विषयहरू प्रस्ट भएमा तोकिएको मितिमा महाधिवेशन गर्न कुनै कठिनाइ नरहेको बताए ।

rsp 1rsp 2

कानुनी रूपमा पाँच बर्षभित्रमा महाधिवेशन गर्नुपर्ने सुविधा पार्टीलाई रहेको भन्दै अहिले मरिहत्ते गरेर कसका लागि गर्ने भन्ने विषय टुंग्याउँन जरुरी रहेको बुर्लाकोटीको भनाइ छ ।

‘अरुले तिमीहरुको महाधिवेशन सरेको सर्‍यै गर्छ भनेर प्रश्न गर्दैमा आत्तिनुपर्ने अवस्था छैन । किनभने सरेपनि म्यादभित्रै हुनेगरी सर्छ । त्यसैले हतारिनुभन्दा पनि उपयुक्त समयमा गर्नुपर्छ भन्ने मेरो प्रस्ताव हो’, बुर्लाकोटीको भनाइ छ । हतारिएर महाधिवेशन गर्दा हुने लाभ र हानीको विश्लेषण गरेर निर्णय हुने उनको तर्क छ ।

यसअघि रवि लामिछानेसहित बसेको केन्द्रीय समिति बैठकमा छलफल हुँदा महाधिवेशनबारे नेताहरुले मिश्रित धारणा राखेका थिए । त्यसक्रममा सभापति लामिछानेले तोकिएकै मितिमा महाधिवेशन गर्ने कि नगर्ने भनेर नेताहरुसँग लिखित धारणा समेत मागेका थिए ।

रास्वपाले महाधिवेशनको तयारीस्वरुप ७० वटा जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ ।

रास्वपाका सांसद समेत रहेका नेता सन्तोष परियारले यसअघिको बैठकमा तोकिएकै समयमा महाधिवेशन गर्नुपर्छ भन्ने सभापतिको समेत मत रहेको भन्दै फेरिएको परिस्थितमा के गर्ने भन्ने सचिवालयको बैठकको निर्णय नै कुनुपर्ने बताए ।

‘सभापति पुर्पक्षका लागि थुनामा गइसकेपछि पूर्व निर्धारित कार्यतालिका के हुन्छ भनेर अहिले भन्न सकिदैन’, परियारको भनाइ छ ।

यसअघि सभापति रवि लामिछानेको अध्यक्षतामा १८ चैतमा बसेको केन्द्रीय समिति बैठकले निर्धारित मितिमै महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप