सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

रोनाल्डो र फिगोजस्ता चर्चित फुटबलर तयार पार्ने प्रशिक्षक अरेलियो परेराको निधन

‘जीवनमा सही बाटो देखाउनु भएकोमा सधैं तपाइँप्रति कृतज्ञ रहनेछु’
बुधबार, २७ चैत २०८१, १२ : ३०
बुधबार, २७ चैत २०८१

काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई फुटबलमा लाग्न प्रेरणा दिने प्रशिक्षकको निधन भएको छ । प्रशिक्षक अरेलियो डा सिल्भा परेराको मंगलबार राति ७७ वर्षको उमेरमा निधन भएको हो । 

प्रशिक्षक परेराले नै रोनाल्डोको क्षमता पहिचान गरी उनलाई फुटबल खेलाडी बन्न प्रेरणा दिएका थिए । आफूलाई फुटबलको कखरा सिकाउने पहिलो प्रशिक्षकको निधनबाट स्तब्ध भएको रोनाल्डोले बताएका छन् । उनले प्रशिक्षक परेराप्रति हार्दिक श्रृद्धाञ्जली व्यक्त गरेका छन् । 

प्रशिक्षक परेराले रोनाल्डोसँगै पोर्चुगलका थुप्रै प्रभावशाली खेलाडी तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । परेराले नै सन् १९८८ मा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनमा युवा खेलाडी भर्ना गरेर प्रशिक्षक दिने अभियान सुरु गरेका थिए । 

प्रशिक्षक परेराले रोनाल्डोसँगै लुइस फिगो, नानी, रिकार्डो क्वारेस्माजस्ता प्रभावशाली खेलाडीहरु पनि तयार पारेका थिए । ‘विश्व प्रशिक्षणका महान हस्तीले हामीलाई छाडेर गएका छन् । तर, उनको विरासत सधैं जीवित रहने छ,’ रोमाल्डोले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

रोनाल्डोले आफू प्रशिक्षक परेराप्रति सधैं कृतज्ञ रहने पनि बताएका छन् । ‘उहाँले भुल्नै नसक्ने  गुन लगाउनु भएको छ । म सधैं तपाइँप्रति कृतज्ञ रहनेछु,’ उनले भनेका छन्, ‘मलाई जीवनको सही बाटो देखाउनु भएकोमा धन्यवाद ।’ 

पोर्चुगलको फुटबलमा पनि प्रशिक्षक परेराले ठुलो गुन लगाएका छन् । पोर्चुगलले सन् २०१६ मा युरो कपको उपाधि जितेको थियो । त्यतिबेला पोर्चुगिज टोलीमा १० जना त प्रशिक्षक परेराले नै तयार पारेका खेलाडी थिए । 

त्यसैले सन् २०१६ मा पोर्चुगललाई युरो कपको उपाधि चुमाउने टोलीको नाम नै प्रशिक्षक परेराको नामबाट ‘अरेलियोस’ राखिएको थियो । सन् २०१७ मा उनले लिस्बन शहरबाट मेडल अफ स्पोर्टिङ मेरिट सम्मान प्राप्त गरेका थिए ।

त्यसपछि सन् २०१८ मा युरोपेली फुटबल महासंघ (यूईएफए)ले पोर्चुगिज र युरोपेली फुटबलको विकासमा पुर्‍याएको योगदानका लागि प्रशिक्षक परेरालाई अर्डर अफ मेरिटले सम्मान गरेको थियो । ‘प्रशिक्षम अरेलियो परेराको मृत्यू पोर्चुगिज फुटबलका लागि अपूरणीय क्षति हो,’ पोर्चुगल फुटबल महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप