शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि दुई समूह भिड्दै

बुधबार, २७ चैत २०८१, १२ : २०
बुधबार, २७ चैत २०८१

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३० औँ साधारणसभा चैत २९ गते हुँदैछ । वर्तमान कार्यसमितिको कार्यकाल सकिएसँगै नयाँ नेतृत्व चयन गर्नका लागि साधारणसभा हुन लागेको हो । 

त्यसका लागि हाल दुई समूह प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । जसमा एमाले निकट मेनपावर व्यवसायीहरू, एकीकृत समाजवादी निकट व्यवसायी र नेपाली कांग्रेस निकटका व्यवसायीका असन्तुष्ट पक्षको एक प्यानल बनेको छ । 

त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट मेनपावर व्यवसायीहरू छुट्टै प्यानलसहित चुनावी मैदानमा होमिएका हुन् । त्यसका लागि सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष राजेन्द्र भन्डारीले जानकारी दिए । नयाँ नेतृत्वका लागि दुई वटा समूह प्यानल नै बनाएर अघि बढेका छन् । उनीहरूले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन् । 

अहिले दुवै समूह मेनपावर व्यवसायीकोमा घरदैलो अभियानमा जुटेका छन् भने आफ्ना एजेन्डाहरू समेत व्यवसायी माझ राखिरहेका छन् । एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी सङ्घको तर्फबाट नरेश गेलाल अध्यक्षका उम्मेदवार बनेका छन् भने कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको तर्फबाट भुवनसिंह गुरुङ अध्यक्षका उम्मेदवार बनेका छन् । 

गत सोमबार गुरुङ समूह र गेलाल समूहले कार्यक्रमको आयोजना गरेर आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका थिए । ९०२ मतदाता व्यवसायी रहेका सङ्घमा यो पटकको निर्वाचनका लागि २०० भन्दा बढी नयाँ व्यवसायी थपिएका छन् । 

लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक मञ्चको संयुक्त प्यानलमा नरेन्द्रप्रसाद ढकाल प्रथम उपाध्यक्ष पदका उम्मेदवार छन् । त्यस्तै देवकुमार खोखाली द्वितीय उपाध्यक्ष, हर्कबहादुर लिम्बु तृतीय उपाध्यक्ष, महेशकुमार बस्नेत महासचिव पदका उम्मेदवार छन् भने कुन्छा दोर्जे डिम्दोङ सचिव, विक्रम श्रेष्ठ कोषाध्यक्ष पदका उम्मेदवार छन् । 

त्यस्तै राज लामा तामाङ, कृष्ण ढकाल, भरत सापकोटा, विद्यालक्ष्मी बज्राचार्य, सुवर्ण लामा, देवीप्रसाद गिरी, रेखा शर्मा, दीपककुमार राय, सुमनराज पाण्डे, गीता राउत सदस्य पदका उम्मेदवार छन् । 

त्यस्तै एमाले निकट व्यवसायीहरूको गेलाल नेतृत्वको प्यानलमा कांग्रेस निकटका असन्तुष्ट व्यवसायीहरू समेत छन् ।  जसको प्रथम उपाध्यक्षमा कांग्रेस निकट व्यवसायी सुजितकुमार श्रेष्ठ र महासचिवमा समेत कांग्रेस निकटकै व्यवसायी कर्णराज कटुवाल उम्मेदवार बनेका हुन् । 

मधुकर रिजाल द्वितीय उपाध्यक्ष, वैकुण्ठप्रसाद पौडेल तृतीय उपाध्यक्ष, अनिल बोगटी सचिव, धनमाया सिन्जाली कोषाध्यक्ष पदका उम्मेदवार छन् ।  त्यस्तै चन्द्रबहादुर लिम्बु, रमा खडका, देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, दिनेश बस्नेत, छत्रबहादुर बस्नेत, हेमा गुरुङ, युवराज देवकोटा, कामेश्वर साह (राहुल) र राजेश यादव सदस्यका उम्मेदवार छन् । 

त्यस्तै प्रथम उपाध्यक्ष अख्तर हुसेन र सचिवमा ईश्वर सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप