बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

दोस्रो उपाधिको खोजीमा रहेका गुजरात र राजस्थान आपसमा भिड्दै

बुधबार, २७ चैत २०८१, १० : ४२
बुधबार, २७ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बुधबार दुई पूर्वविजेता गुजरात टाइटन्स र राजस्थान रोयल्स आपसमा भिड्दै छन् । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । 

यो गुजरातको घरेलु मैदान हो । जारी आईपीएलमा खेल्न लागिएको यो २३औँ खेल हो । १८औँ संस्करणमा यी दुबै टोलीले आफ्नो पाँचौँ खेल खेल्न लागेका हुन् । यी दुबै टोलीले हालसम्म एक–एक पटक आईपीएलको उपाधि चुमेका छन् । 

गुजरात टाइटन्सले सन् २०२२ मा आईपीएलको उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई नै सात विकेटले हराएको थियो । त्यसैले बुधबारको खेलमा राजस्थान त्यो हारको बदला लिने धुनमा रहने छ ।

यसैगरी, राजस्थान रोयल्सले सन् २००८ मा आयोजित आईपीएलको पहिलो संस्करणको उपाधि चुमेको थियो । उक्त संस्करणमा उत्कृष्ट प्रदर्शन गरेको राजस्थान रोयल्सले फाइनलमा चेन्नई सुपर किङ्सलाई तीन विकेटले हराएको थियो ।  

गुजरात चौथो र राजस्थान तेस्रो जितको खोजीमा
आईपीएलको १८औँ संस्करणमा गुजरात टाइटन्स र राजस्थान रोयल्स दुबैले आफ्नो पाँचौँ खेल खेल्न लागेका हुन् । हालसम्मको नतिजालाई हेर्दा राजस्थानभन्दा गुजरातको अवस्था तुलनात्मक रुपमा केही गतिलो देखिन्छ । 

गुजरातले अघिल्लो चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । गुजरात ६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । राजस्थानले भने चारमध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । राजस्थान चार अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

हेड टु हेडमा गुजरात अगाडि 
आईपीएलमा हालसम्म राजस्थान रोयल्स र गुजरात टाइटन्सबिच कुल ६ खेल खेलिएको छ । त्यसमा गुजरात निकै अगाडि देखिन्छ । गुराजतले ६ मध्ये पाँच खेलमा राजस्थानलाई हराएको छ । बाँकी एक खेलमा भने राजस्थानले गुजरातलाई पराजित गरेको छ । 

Gujarat-Titans-GT-IPL-2025

गुजरातको सर्वाधिक रन साई सुदर्शनको नाममा
आईपीएलको जारी संस्करणमा गुजरात टाइटन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान साई सुदर्शन हुन् । उनले चार खेलमा कुल एक सय ९१ रन बनाएका छन् । उनले हालसम्म दुईवटा अर्धशतक प्रहार गरिसकेका छन् । उनले मुम्बईविरुद्ध ६३ र पञ्जाबविरुद्ध ७४ रन बनाएका थिए ।

saisudarshan

गुजरातका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान जस बटलर हुन् । उनले चार खेलमा कुल एक सय ६६ रन बनाएका छन् । उनले पनि दुई अर्धशतक बनाएका छन् । सर्वाधिक विकेट लिने बलर भने मोहम्मद सिराज हुन् । तिब्रगतिका बलर सिराजले चार खेलमा नौ विकेट लिइसकेका छन् । 

हसरंगा राजस्थानका सर्वाधिक विकेट लिने बलर
जारी आईपीएलमा राजस्थान रोयल्सका लागि सर्वाधिक विकेट लिने बलर वानिन्दु हसरंगा हुन् । उनले हालसम्म तीन खेल खेल्दै ६ विकेट लिइसकेका छन् । उनले चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ३५ रन खर्चिएर चार विकेट लिएका थिए ।

hasranga

राजस्थानका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने संजु सामसन हुन् । उनले चार खेलमा कुल एक सय ३७ रन बनाएका छन् । उनले एक अर्धशतक पनि बनाएका छन् । दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान ध्रुव जुरेल हुन् । उनले चार खेलमा कुल एक सय १९ रन बनाएका छन् । 

ब्याट्सम्यानलाई माया गर्ने पिच
गुजरात टाइटन्स र राजस्थान रोयल्सबिच बुधबारको खेल हुने नरेन्द्र मोदी स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रुपमा बढी रन बन्ने गरेको पाइन्छ ।

यो स्टेडियममा हालसम्म आईपीएलको कुल ३७ खेल खेलिएको छ । त्यसमध्ये १७ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । यो स्टेडियममा खेलिएको २० खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् ।

यो स्टेडियममा हालसम्म खेलिएको खेलमा बनेको उच्च स्कोर भने पाँच विकेट गुमाएर दुई सय ४३ रन हो । उक्त स्कोर यही सिजनको आईपीएलमा गुजरात टाइटन्सविरुद्ध पञ्जाब किङ्सले बनाएको थियो । 

उक्त खेलमा पञ्जाब किङ्स ११ रनले विजयी भएको थियो । जारी सिजनको आईपीएलमा भने यो स्टेडियममा हालसम्म दुई खेल खेलिएको छ । ती दुबै खेलमा पहिले ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । 

छैन वर्षाको सम्भावना
राजस्थान रोयल्स र गुजरात टाइटन्सबिच खेल हुने दिन बुधबार अहमादाबादमा वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार दिनभर घाम लाग्ने र चर्को गर्मी हुने बताइएको छ । तापक्रम २७ देखि ४४ डिग्री सेल्सियसको बिचमा रहने अनुमान छ । 

सम्भावित टोली 
गुजरात टाइटन्स :
शुभमन गिल (कप्तान), साई सुदर्शन, जस बटलर, शाहरुख खान, राहुल तेवतिया, वासिङ्टन सुन्दर, राशिद खान, साई किशोर, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, इशान्त शर्मा र शेरफन रदरफोर्ड ।

राजस्थान रोयल्स : सन्जु सामसन (कप्तान), यशस्वी जैसवाल, नितिश राणा, रियान पराग, ध्रुव जुरेल, शिमर हेटमायर, वानिन्दु हसरंगा, जोफ्रा आर्चर, महिश तिक्षणा, युद्धवीर सिंह, सन्दीप शर्मा र कुमार कार्तिकेय ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप