अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो

टोकियो । चीनमाथिको अतिरिक्त भन्सार महसुललाई बढाएर १०४ प्रतिशत पुर्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि शेयर बजारमा पुनः उथलपुथल भएको छ । बुधबारको कारोबारमा जापानको निक्केई २२५ परिसूचक ३ दशमलव ५ प्रतिशतले घटेको छ ।
उता, हङकङको हाङ्शेङ, दक्षिण कोरियाको कोस्पी, अस्ट्रेलियाको एसएन्डपी रएएसएक्स र भारतको निफ्टी पनि रातोमा आएको छ । चीनमा भने साङहाई कम्पोजिट हरियोमा थियो ।
यो समाचार तयार पार्दाखेरि सूचक शून्य दशमलव ७४ प्रतिशतले बढेको थियो । इन्डोनेशियामा जार्काता कम्पोजिट थोरैले बढेको थियो । अघिल्लो दिन बजार बन्द हुँदा अमेरिकी शेयर बजार रक्ताम्मे बनेपछि यसको असर एसिया क्षेत्रमा बजारमा पोखिएको हो ।
यसैबिच, अमेरिकी सरकारले मे महिनादेखि चीनबाट आउने सस्तो सामानका साना पार्सलहरूमा भारी भन्सार महसुल लगाउने घोषणा गरेको छ । यसले शीन र टेमु जस्ता ठुला चिनियाँ कम्पनीहरूलाई ठुलो घाटा पुर्याउन सक्ने देखिएको छ ।
अमेरिकाले लगाएको महसुलको विरुद्धमा चीनले कडा अडान लिएको छ भने अन्य एसियाली देशहरूले फरक नीति अपनाएका छन् । दक्षिण कोरियाले टुयारिफको बदला नलिने बताएको छ ।
दक्षिण कोरियाले आफ्नो अटोमोबाइल उद्योगलाई सहयोग गर्न दुई अर्ब डलरको आपत्कालीन योजना घोषणा गरेको छ । जापानले भने यस विषयमा ट्रम्प प्रशासनसँग कुराकानी गर्ने भएको छ ।