‘असन्तुष्टि सम्बोधन नभए दलहरूभित्रै विद्रोह हुन सक्छ’

राजावादीले चैत १५ गते राजधानीको तीनकुनेमा मच्चाएको वितण्डाले देशको राजनीति तरङ्गित बनायो ।
तेस्रोपटक राजा बन्ने महत्त्वाकाङ्क्षा राखेका पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गते शाहीकालको झल्को दिने गरी वक्तव्यबाजी गरेपछि राजावादीहरूले उग्र बने । तर चिहानबाट फेरि राजा बन्ने दुस्साहस नदेख्न चेतावनी दिँदै गणतन्त्रवादीहरूले घटनाको सम्पूर्ण जिम्मा पूर्वराजा ज्ञानेन्द्रले नै लिनुपर्ने बताएका छन् ।
तर राजावादीहरूले दुईतिहाइ सरकारको दम्भका कारण घटना हिंसात्मक बनेको आरोप लगाएका छन् । उनीहरूले घटनाको तत्काल न्यायिक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
तर प्रधानमन्त्री केपी ओली हिंसात्मक घटना हुनुको प्रमुख दोषी ज्ञानेन्द्र नै देख्छन् । र जिम्मेवारीबाट पन्छिन् खोजेका छन् । विपक्षीले माग गरेअनुसार न्यायिक समिति गठन गर्न नसकिने पनि संकेत गरेका छन् ।
तीनकुनेको हिंसात्मक घटना पूर्वराजाको ग्रान्ड डिजाइनमा भएको वा गणतान्त्रिक शासकका कुशासनको आक्रोशमा भएको भन्नेमा सत्ता र विपक्षको आ–आफ्नै तर्क छ । यसै विषयमा प्राध्यापक कृष्ण पोखरेलसँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन्:
- चैत १५ गते तीनकुनेमा भएको घटनालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
राजतन्त्रको पक्षमा माहौल बनाउन, वर्तमान सरकार र गणतन्त्रवादीलाई झुक्क्याउन राजतन्त्रवादीहरूले जे प्रयास गरे, त्यो असफल भएको छ । उनीहरूलाई के लाग्यो भने साधारण कार्यक्रम मात्र गर्दा सकियो, त्यसको केही अर्थ हुन्थेन । सोही दिन भृकुटीमण्डपमा गणतन्त्रवादीको कार्यक्रम भयो, सकियो । गणतन्त्रवादीले गरेको कार्यक्रमजस्तै गर्दा राजाको पक्षमा एउटा कार्यक्रम गरेँ है भन्ने हुन्थ्यो । त्यत्तिकै सेलाउँथ्यो । तर उनीहरूले तोडफोड र हिंसाको एउटा स्वरूप दिएपछि जनमानस तातेको माहौल आफ्नो पक्षमा ल्याउन सकिन्छ भन्ने लाग्यो । अर्थात् फलाम तातेको वेला हिर्कायो भने आफ्नो स्वरूपमा ल्याउन सकिन्छ भन्ने भ्रम राजावादीलाई लागेको हुन सक्छ । तर यसले इतिहासमा कुनै टर्न ल्याएन । त्यसकारण उनीहरूको गलत आकलनको सिकार भयो त्यो आन्दोलन ।
- हिंसात्मक घटनालाई लिएर राजावादी र सरकारले एकअर्कालाई दोषारोपण गरिरहेका छन् । तपाईंको विचारमा कमजोरी कुन पक्षबाट भयो ?
तीनकुनेमा दुईतिर सुरक्षाकर्मीले घेरेर बसेको देखिन्छ । भक्तपुर र ललितपुर जाने बाटो मलाई लाग्छ, पुलिसले छेकेन । विमानस्थल र नयाँ बानेश्वरतिर आउने बाटो कडा पहरा दिएर बसे । राजावादीहरूलाई त्यहाँ कार्यक्रम गर्नु नै थिएन । सुरक्षाकर्मीले केही गरिराखेको पनि थिएन । खाली बाटो छेकेर बसिराखेको मात्र थियो ।
त्यो अवस्थामा राजावादीहरू तोडफोडमा उत्रिए । खासगरी दुर्गा प्रसाईंले ब्यारिकेड नै तोडेर गाडी लिएर निस्केपछि घटनाक्रमले अर्कै स्वरुप लिएको हो । त्यसकारण एक पक्ष प्रतिरक्षाका लागि अर्को पक्षले उदण्डताका लागि ती सबै गरे ।
कडा सुरक्षा घेराले गर्दा राजावादीहरू विमानस्थलतिर पनि जान पाएनन् । बानेश्वरतिर पनि आउन पाएनन् । यसैकारण उनीहरूले रिट्रिट गरेर तोडफोड गरे । भाटभटेनीमा लुटपाट र जडीबुटीमा आगजनी गरे । तीनैतिर थुन्दा अझै नराम्रो हुन्थ्यो । उनीहरूले जे भने पनि आन्दोलनकारीका कमान्डर प्रसाईंले बोलेको, रवीन्द्र मिश्रले बोलेको भिडियो बाहिर आइरहेको छ ।
जनअसन्तुष्टिलाई पनि पूर्वराजाले आकलन गरेको देखिन्छ । राजावादी शक्तिहरूले पनि निर्वाचनबाट बहुमत ल्याएर शासन गर्न सक्ने अवस्था छैन । यस्तै गतिविधिबाट परिस्थितिलाई आफू अनुकूल ढाल्न सकिन्छ भन्ने उनीहरूको कोसिस हो ।
उनीहरूले त्यहाँ कार्यक्रम गर्नेभन्दा पनि अराजक भिडलाई अझ अराजकतिर लैजान उक्साइरहेको देखिन्छ ।
- २०६२/६३ को आन्दोलनमा सबै जनता निरंकुश राजतन्त्रविरुद्ध उत्रिएका थिए । तर आज तिनै व्यक्ति आक्रोश पोखिरहेका छन्, किन ?
यसमा दुई वटा कोणबाट अध्ययन गर्नुपर्छ । केही भएन भन्ने भाष्य पनि गलत भयो । धेरै कुरा भएको छ । तर जनअपेक्षा र शासकहरूको पर्फमेन्सबिच ठुलो खाडल छ । जनतामा देखिएको जुन निराशा हो, त्यो चिर्न सत्तामा आएका राजनीतिक दलहरूले नसकेको कुरा साँचो हो ।
लिडरमा भिजन हुनुपर्छ । त्यहाँ पुग्ने बाटो पनि उसैले देखाउनुपर्छ । त्यो दुवै कुरा भएको देखिँदैन । यसले गर्दा अन्योल छ, असन्तुष्टि छ, त्यसैलाई लिएर प्रगतिको पांग्रालाई पछाडि धकेल्न सकिन्छ कि भनेर धमिलो पानीमा माछा मार्ने प्रयास भएको देखिन्छ ।
जनअसन्तुष्टिलाई पनि पूर्वराजाले आकलन गरेको देखिन्छ । राजावादी शक्तिहरूले पनि निर्वाचनबाट बहुमत ल्याएर शासन गर्न सक्ने अवस्था छैन । यस्तै गतिविधिबाट परिस्थितिलाई आफू अनुकूल ढाल्न सकिन्छ भन्ने उनीहरूको कोसिस हो । त्यसकारण गणतन्त्रवादीहरू सच्चिन जरुरी छ ।
तीनकुने घटनाबारे सचिवालयमार्फत पूर्वराजाको भनाइ आइसकेको छ । हिंसा भड्काउन भूमिका नभएको कुरा आएका छन् । विवादमा ल्याउन बाहिर गलत प्रचार गरियो गुनासो गरेको भनिएको छ ।
लोकतन्त्रमा यो नेताले भएन भने अर्को नेता आउनुपर्छ भन्ने कुरा सुनिश्चित हुन्छ । आवधिक निर्वाचनमा नेतृत्व परिवर्तन गर्न सक्छन् । त्यसकारण लोकतन्त्रलाई अझै सुधार्ने कुरा हो ।
त्यसकारण ज्ञानेन्द्र डिफेन्सिभ भए भन्ने देखियो । यद्यपि दलहरू यसमै दंग परेर राजावादी शक्ति कमजोर भयो वा सकियो भन्ने अवस्था छैन । युवामा रहेको जुन आक्रोश र असन्तुष्टि छ, त्यसलाई सकारात्मक काममा लैजान सोच्न र सोहीअनुसार काम गर्न जरुरी छ ।
- त्यसो भए अहिलेको असन्तुष्टि तथ्यगत वा व्यवस्थामाथि भन्दा पनि शासकहरूको कार्यशैलीप्रति रहेको भन्न सकिन्छ ?
आजभन्दा १०/१५ वर्षअघिको अवस्था र अहिलेको अवस्था धेरै फरक छ । भौतिक पूर्वाधारमा आएका प्रगति, आईटी क्षेत्रमा आएको प्रगति, सडकमा देखिएको प्रगति, बैंकिङ क्षेत्रमा आएको प्रगति, मुलुककै अर्थतन्त्र पनि खत्तमै भएको देखिँदैन । एउटा कुरा सत्य हो । ग्लोबलाइजेसनका कारण युवाशक्ति अहिले विदेश पलायन भएका छन् । नेपालबाट मात्र होइन, भारतबाट पनि गएका छन् । अन्य मुलुकबाट पनि गइरहेका छन् । तर उनीहरूबाट आएका रेमिटेन्स सदुपयोग गर्न राज्यले नीति बनाउन सकेको छैन । यी कुरालाई पनि अलिकति कोर्स करेक्सन गरेर अगाडि बढ्न ढिलो भइसकेको जस्तो मलाई लाग्छ ।
- गणतन्त्र स्थापनाताका जन्मिएका बच्चा २०८४ को मतदाता बन्दैछन् । त्यतिवेला व्यवस्था परिवर्तनका लागि लडेका युवा अहिले सन्तुष्ट देखिएका छैनन् । यो जेनेरेसनलाई समेटेर लैजाने क्षमता अहिलेका शासकमा देख्नुहुन्छ ?
नेतृत्व परिवर्तन गर्नुपर्यो । राजतन्त्रमा बाउ मरेपछि छोरा राजा हुने हो । जन्मिँदै श्रेष्ठ हो । त्यहाँ नेतृत्व परिवर्तनको सम्भावना नै हुँदैन, समाप्त हुन्छ । लोकतन्त्रमा परिवर्तन हुन्छ । अहिलेका युवाले अन्यत्र पनि हेर्छ । राजतन्त्र भएको मुलुक पनि हेर्छ । गणतन्त्र भएको मुलुक पनि हेर्छ । राजतन्त्र हुँदैमा मुलुकको विकास हुन्छ भन्ने छैन । लोकतन्त्रमा यो नेताले भएन भने अर्को नेता आउनुपर्छ भन्ने कुरा सुनिश्चित हुन्छ । आवधिक निर्वाचनमा नेतृत्व परिवर्तन गर्न सक्छन् । त्यसकारण लोकतन्त्रलाई अझै सुधार्ने कुरा हो । अघिल्लो पुस्ताभन्दा अहिलेका पुस्ता झन् सुसूचित छन् । अहिलेका पुस्तालाई देश दुनियाँका सारा कुरा थाहा छ । उनीहरूको आवश्यकतालाई सम्बोधन हुनेगरी सरकारले काम गर्नुपर्छ । सोहीअनुसार नीति ल्याउनुपर्छ ।
- गणतन्त्र स्थापनापछि पनि पटक–पटक यिनै नेताहरू दोहोरिइरहे । यसैले आम नागरिकमा असन्तुष्टि र निराशा बढ्दै गएको भन्न सकिन्छ नि ?
लोकतन्त्रमा परिवर्तन भनेको कि दलहरूले आफूलाई सुधार्नुपर्यो । हैन भने चुनावबाट हुन्छ परिवर्तन । अहिले जनता आक्रोशित हुनुमा उनै बासी पड्किएको बारुद अगाडि आएर हो ।
उनीहरूले नै पार्टी कब्जा गरेर राखेका छन् । पार्टीहरूबाट उनीहरूलाई मुक्त नगरेसम्म यी कुरामा परिवर्तन आउँदैन । यी परिवर्तन मुख्यतः चुनावले नै ल्याउने हो । निर्वाचनमा यी कुरा उठ्छन् । पार्टीभित्र उथलपुथल छ । असन्तुष्टि छ । त्यसले पनि कुनै रूप लिन सक्छ । मलाई लाग्दैन, अहिलेका प्रधानमन्त्रीले सर्लक्कै शेरबहादुरलाई सत्ता हस्तान्तरण गर्छन् । उहाँको पास्ट रेकर्ड हेर्दा त्यस्तो लाग्दैन । ओलीलाई शंका गर्ने ठाउँ प्रशस्त छन् यी बिचमा । देशको राजनीति स्मुथली अगाडि बढ्छ भन्ने स्थिति छैन । परिवर्तन निर्वाचनमार्फत वा दलहरूभित्र देखिएको उकुसमुकुसले नै उल्ट्याउन सक्ने अवस्था आउँछ ।
- ज्ञानेन्द्रलाई मात्र देखाएर दलहरूले उन्मुक्ति पाउने स्थिति छैन, राजतन्त्रभन्दा पनि अन्य कुनै निरंकुशतन्त्र आउने खतरा छ हैन त ?
यथास्थितिमै देशको राजनीति रहने हो भने गडबड आउने देखिन्छ । यद्यपि यो स्थिति नै रहिरन्छ भन्न पनि सकिँदैन । तर राजतन्त्र नै फर्किने सम्भावना देखिँदैन । यस्तो अवस्थामा जे पनि हुन सक्छ । जनताको असन्तुष्टि यही ढंगले बढ्दै गयो र शासकले ठिक ढंगले सम्बोधन गर्न सकेन भने पार्टीभित्रै विद्रोह भएर नयाँ नेतृत्व आउन सक्छ । दलहरूभित्रै असन्तुष्टि छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा हरेक दलका युवाले आपसमा इन्टरियाक्ट गरेर निकासका लागि आ–आफ्ना पार्टीभित्र के गर्न सकिन्छ भनेर सोच्ने वेला आएको छ ।