शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय
गोलार्द्ध

विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो

धनी मुलुकमा आफ्ना वस्तु निर्यात गरेर धनी बन्ने ‘गोल्डेन टिकेट’ विकासशील मुलुकका लागि अब रहेन
बुधबार, २७ चैत २०८१, ०६ : ३०
बुधबार, २७ चैत २०८१

ह्वाइट हाउसको रोज गार्डेनबाट राष्ट्रपति ट्रम्पले भन्सार महसुलमा व्यापक वृद्धि गरेको दिनलाई ‘मुक्ति दिवस’ अर्थात् ‘लिवरेसन डे’ भन्दिए । तर, भियतनामको हनोइ तथा न्होम पेन्ह जस्ता सहरका कपडा उद्योगहरूमा ‘पारस्परिक भन्सार’ सम्बन्धी यस्तो घोषणा आर्थिक युद्ध बनेर आइपुग्यो ।

गत सात दशकदेखि धेरै मुलुकले आफूलाई गरिबीबाट बाहिर निकाल्न समान तरिका अपनाए । त्यो हो– बस्तु बनाऊ र विदेशमा बेच । यो रणनीति ‘निर्यातमुखी औद्योगिकीकरण’ भनेर चिनिन्छ । यस्तो रणनीति घरेलु सुधारको जगमा उठेको थियो तर, यसमा व्यापक वृद्धि भने दोस्रो विश्व युद्धपछि अमेरिकाको अगुवाइमा सबैका लागि खुला भएको विश्व अर्थतन्त्रका कारण सम्भव भएको थियो ।

ट्रम्पले यही खुला विश्वको ढोका बन्दमात्रै गरेका छैनन्, सन् १९३० को दशकको ठुलो आर्थिक मन्दीपछिकै ठुला व्यापार अवरोधहरू पनि लगाइदिएका छन् । अमेरिकी बजारमा आफ्ना उत्पादन पठाउनका लागि भियतनाम र कम्बोडियाले अब क्रमशः ४६ र ४९ प्रतिशतको सजायकारी भन्सार महसुल सामना गर्नेछन् । ती अर्थतन्त्रहरूको कुल ग्राहस्थ्य उत्पादनमा यस्तो बिक्रीको हिस्सा करिब एक तिहाइ थियो । यस्ता भन्सार महसुलले उनीहरूलाई ठुलो झट्का दिएको छ ।

धेरै देशले आफ्नो मुलुकको भविष्य निर्माणमा अन्तर्राष्ट्रिय व्यापारलाई समृद्धिको पहिलो आधारका रूपमा रोजेका थिए । त्यस्ता मुलुकका नीति निर्माता र लगानीकर्ताहरू अहिले डराएका छन् । अमेरिकाको संरक्षणवादी नीतिका कारण उनीहरू त्यसरी डराउनु अस्वाभाविक पनि भएन तर, सत्य भने थोरै भिन्न छ ।

सात दशकदेखि धेरै मुलुकले आफूलाई गरिबीबाट बाहिर निकाल्न समान तरिका अपनाए । त्यो हो– बस्तु बनाऊ र विदेशमा बेच । अब आर्थिक वृद्धिलाई पुनः बिउँताउने हो भने उनीहरूले ट्रम्पको नीतिसँग पाइला मिलाएर अघि बढ्नुपर्ने हुन्छ ।

उनीहरू जुन रणनीति बोकेर हिँडिरहेका थिए, त्यसले सास फेर्न छोडेको केही दशक अघिदेखि नै हो । त्यसले धेरै जसो विकासशील मुलुकमा यसले काम गर्न छोडेको थियो । अब आर्थिक वृद्धिलाई पुनः बिउँताउने हो भने उनीहरूले ट्रम्पको नीतिसँग पाइला मिलाएर अघि बढ्नुपर्ने हुन्छ । यसरी मात्रै उनीहरूले भोगिरहेका आफ्नै घरेलु बजार, मध्यम वर्ग र सेवा क्षेत्रको विकासलाई राम्रो रोजगारी सिर्जनासम्म पुर्‍याउन सक्छन् ।

धनी मुलुक बन्ने गरिब मुलुकको सपनाका लागि ‘एसियन टाइगर’ भनिने चार वटा एसियाली अर्थतन्त्रले नमुनाको रूपमा काम गरेका थिए । त्यसमा ताइवान, दक्षिण कोरिया, हङकङ र सिंगापुर पर्छन् । सन् १९५० मा अहिले एसियन टाइगर भनिने यी मुलुक अफ्रिकी मुलुक जत्तिकै गरिब थिए । साथै कृषि उत्पादन र कच्चा पदार्थमा निर्भर थिए ।

06rodrik_2-02-videoSixteenByNine3000

व्यापारले उनीहरूलाई परिष्कृत औद्योगिक उत्पादनमा विशिष्टिकरणको अवसर दियो । जसलाई उनीहरूले विश्व बजारमा बेच्न पाए । यसक्रममा उनीहरूले खेलौना, कपडा, स्टिल, कार, इल्क्ट्रोनिक्स हुँदै अहिले आएर सेमिकन्डक्टरसम्म उत्पादन गरे । उनीहरूले उच्च प्रविधि तथा यान्त्रिकीमा पहुँच पनि पाए ।

चीनले यही रणनीति पछ्यायो । आफूलाई विश्वभरको उत्पादनको प्रमुख शक्तिकेन्द्र बनायो । यसक्रममा उसले ८० करोडभन्दा धेरै चिनियाँलाई गरिबीबाट बाहिर निकाल्यो । अमेरिकाको मुख्य प्रतिद्वन्द्वी हुने स्तरमा आइपुग्यो । चीनको रणनीतिले राम्रो काम गरेको हुन सक्छ । तर, राष्ट्रपति जो बाइडेनको समयसम्म आइपुग्दा चीनलाई ‘हिर्काउने’ नीति अमेरिकामा दुवै प्रमुख पार्टीमाझ साझा बन्ने अवस्था आइपुग्यो ।

ट्रम्पको भन्सार महसुल वृद्धि पक्कै पनि भियतनाम, कम्बोडिया, मेक्सिको तथा अमेरिकी बजारमा आफ्नो उत्पादन निर्यात गर्ने अन्य मुलुकका लागि पीडादायी नै हुनेछ र उनीहरूले नयाँ भन्सारको चोट भोग्ने छन् ।

जब चीनमा कामदारको ज्याला बढ्न थाल्यो, केही वैदेशिक लगानी भियतनामतर्फ गए । सन् १९८० पछि यस्तो क्रममा वृद्धि हुन थालेको हो । निर्यात केन्द्रित आर्थिक मोडेलको सफलताको अन्तिम उदाहरण त्यही नै हो । यी मुलुकको जादुमयी रुपान्तरणको अवस्थामा अन्य गरिब मुलुकले पनि यसलाई पछ्याउनु स्वाभाविक नै थियो । निर्यातमुखी औद्योगिकीकरण भन्ने शब्दावली प्रायःजसो आर्थिक वृद्धिका विज्ञ तथा बहुपक्षीय संगठनको मुखमा झुन्डिन पुग्यो । गरिब मुलुकका नीति निर्माताहरू माझ अनिवार्यजस्तै बन्न थाल्यो ।

तर, सन् १९९० को दशकदेखि भने औद्योगिक उत्पादनको संगठन र प्रविधिमा भएको परिवर्तनले उक्त रणनीतिको प्रभावकारिता घटाइसकेको थियो । गरिब देशको सबैभन्दा ठुलो तुलनात्मक लाभको क्षेत्र भनेको प्रचुर मात्रमा श्रमिकहरूको उपस्थिति थियो । अटोमेसन, रोबोटहरू, थ्री–डी प्रिन्टिङ जस्ता प्रविधिका कारण कामदारलाई मेसिनले विस्थापित गर्न सजिलो बनाइसकेको थियो ।

धेरै विकासशील मुलुकले सन् १९० को दशकमा तीव्र गतिमा आर्थिक वृद्धि हासिल गरे । खासगरी कोरोना महामारीसम्म यो अवस्था रह्यो तर, यस्तो वृद्धिमा औद्योगिक निर्यातमा भएको वृद्धिको धेरै हात छैन । इथियोपियाले यसको कथा राम्रोसँग भन्छ । केही दशक पहिलेसम्म इथियोपियामा निर्यातमुखी औद्योगिकरणको नयाँ लहर चल्ने भविष्यवाणी गरिन्थ्यो । यसमा चीनमा बढ्ने ज्यालालाई मुख्य कारणका रूपमा देखाइएको थियो ।

एसियाका केही सफल अर्थतन्त्रमा जस्तै इथियोपियामा पनि उद्योगमा काम गर्न तयार धेरै युवा जनशक्ति थिए । त्यहाँको सरकारले चिनियाँ तथा अन्य लगानीकर्ताहरू बोलाएर वैदेशिक फर्मका लागि औद्योगिक पार्कहरू तयार गर्‍यो तर, आखिरमा धेरै रोजगारी भने सिर्जना हुन सकेन । बरु इथियोपियाले यातायात तथा उन्नत सिँचाइ प्रणालीमा सार्वजनिक लगानी गरेर आफ्नै आन्तरिक बजार चलायमान बनाउँदै तीव्र आर्थिक वृद्धिको बाटो लियो ।

सम्भवतः इथियोपियाको अन्तर्राष्ट्रिय बजारसँगको कमजोर सम्बन्धले पनि यसलाई औद्योगिक शक्ति बन्नबाट रोकेको हुन सक्छ तर, अन्य मुलुकको हकमा पनि कथा उस्तै छ । जस्तै मेक्सिकोलाई नै हेरौँ । मेक्सिकोको सीमा संसारको सबैभन्दा ठुलो अर्थतन्त्रसँग जोडिएको छ । उसको अर्थतन्त्र उत्तर अमेरिकासँग जोडिएको छ । सन् १९९० देखि नै यसले मेक्सिकोको आर्थिक वृद्धिको रणनीतिमा ठुलो भूमिका खेलेको छ । इथियोपियाभन्दा भिन्न रूपमा यहाँ निर्यात, म्यानुफ्याक्चरिङ तथा वैदेशिक लागानीमा नाफ्टाको गठन भएपछि उल्लेख्य वृद्धि भयो ।

ट्रम्पले विश्वव्यापी व्यापार युद्ध थाल्नु अघि नै त्यो विधिको प्रभावकारिता कमजोर भइसकेको थियो । हामीले जानेको चामत्कारिक वृद्धिको युग सकिइसकेको थियो । अबका दिनमा विकासशील मुलुकहरूको भाग्य उनीहरूकै हातमा छ ।

यो सबै वृद्धिको फाइदा भने मेक्सिकोको अर्थतन्त्रको सानो हिस्सामा मात्रै सीमित रह्यो । बाँकी हिस्सा भने अड्किएर रह्यो तथा समग्र आर्थिक वृद्धि न्यून नै रह्यो । यसको समस्या के भयो भने उत्तर अमेरिकी आपूर्ति चक्रमा जोडिएर काम गरिरहेका उद्योगहरू आफ्नै आन्तरिक अर्थतन्त्रमा भने कमजोर रूपमा जोडिएका थिए । तिनीहरूले प्रशस्त रोजगारी सिर्जना गर्नै सकेनन् ।

ट्रम्पको भन्सार महसुल वृद्धि पक्कै पनि भियतनाम, कम्बोडिया, मेक्सिको तथा अमेरिकी बजारमा आफ्नो उत्पादन निर्यात गर्ने अन्य मुलुकका लागि पीडादायी नै हुनेछ । उनीहरूले नयाँ भन्सारको चोट भोग्ने छन् र, यसले उनीहरूलाई मन्दीतर्फ लैजान सक्छ । तर, कथाको खास पक्ष के हो भने अमेरिकी बजारमा त्यस्तो खुला पहुँच पाउँदा समेत मेक्सिकोले राम्रो गर्न सकेन ।

यसले के देखाउँछ भने ट्रम्पको नीतिलाई हाल पर सारेर हेर्दा पनि धनी मुलुकमा आफ्ना वस्तु निर्यात गर्ने कुरा विकासशील मुलुकका लागि धनी बन्ने ‘गोल्डेन टिकेट’ रहेन अब । त्यसो भए त्यस्ता मुलुक कसरी माथि उठ्न सक्छन त ? म्यानुफ्याक्चरिङको भूमिका कम त पक्कै हुँदैन तर उनीहरूले आफ्ना आन्तरिक सेवाहरूको स्तर बढाउनुपर्छ । हेरचाह, खुद्राबजार तथा हस्पिटालिटी जस्ता क्षेत्रले ठुलो मात्रामा रोजगारी दिन सक्छन् ।

विकासशील अर्थतन्त्रले भोग्नु परेको चुनौती भनेको उनीहरूले यस्तो क्षेत्रमा उन्नत तथा अझ उत्पादक रोजगारी सिर्जना गर्दै मध्यम–वर्गीय अर्थतन्त्रमा आफूलाई ढाल्नुपर्ने हो । यो अप्ठ्यारो काम हो । किनभने आन्तरिक सेवा क्षेत्रको उत्पादकत्व ऐतिहासिक रूपमै म्यानुफ्याक्चरिङको तुलनामा पछि परेको छ ।

श्रमिक–प्रधान सेवा क्षेत्रमा आधारित औद्योगिक नीतिका लागि केही राम्रा तरिका पक्कै छन् । उनीहरू खुद्रा तथा प्लेटफर्म बजारमा ठुला फर्महरूलाई आफ्नो आन्तरिक बजारमा जोडेर स्थानीय श्रमिकहरूलाई राम्रो काम उपलब्ध गराउन सक्छन् । स्थानीय श्रमिकलाई त्यसरी जोडेर प्रविधि र तालिम मार्फत उद्यमशील तथा लघुउद्यमी बनाउन सक्छन् ।

यस्ता नीतिगत हस्तक्षेपले निर्यात केन्द्रित औद्योगिकीकरणको समयमा पूर्वी र दक्षिण पूर्वी एसियाली मुलुकले हासिल गरेजस्तो वृद्धि हासिल त पक्कै हुँदैन तर शैक्षिक स्तर न्यून भएका ठुलो सङ्ख्याका बेरोजगारलाई लक्षित गरिने कार्यक्रमको प्रभाव पक्कै पनि ठुलो हुन्छ । यसले माथिबाट तल जाने भनिएको ‘ट्रिकल–डाउन ग्रोथ’ नभएर तलबाट माथिसम्म जाने ‘बटम–अप ग्रोथ’ बढाउन मद्दत गर्छ ।

आजका दिनमा पनि गरिबीको अवस्थामै रहेका अर्बौं मानिसका लागि यस्तो तरिका भिन्न लाग्न सक्छ । किनभने यो तरिका धनी मुलुकहरू तथा एसियामा चमत्कार गरेका मुलुकले गरिबीको अवस्था पार गरेको तरिकाभन्दा फरक छ । त्यो पुरानो तरिकाको भविष्य केही अघि नै अन्त्य भइसकेको थियो ।

ट्रम्पले विश्वव्यापी व्यापार युद्ध थाल्नु अघि नै त्यो विधिको प्रभावकारिता कमजोर भइसकेको थियो । हामीले जानेको चमत्कारी वृद्धिको युग सकिइसकेको थियो । अबका दिनमा विकासशील मुलुकहरूको भाग्य उनीहरूकै हातमा छ ।

(लेखक हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय राजनीतिक अर्थतन्त्रका प्राध्यापक हुन् ।)

(द न्युयोर्क टाइम्सबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दानी रोड्रिक
दानी रोड्रिक
लेखकबाट थप