मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम

मङ्गलबार, २६ चैत २०८१, २२ : १६
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ ।  हिमाल आरोहणलाई सुरक्षित बनाउन र आरोहणका क्रममा हुनसक्ने जोखिम व्यवस्थापन गर्न पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) लाई पर्वतीय उद्धार तालिम दिइएको छ । 

नेपाल पर्वतारोहण सङ्घको सहयोगमा नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घले २१ पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु ट्रेनिङ’ दिएको हो ।

तालिममा सहभागीलाई आज आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष निमानुरु शेर्पाले प्रमाणपत्र वितरण गरे । दक्ष प्रशिक्षकले प्रशिक्षार्थीलाई लाङ्टाङ र काठमाडौँमा तालिम दिइएको हो । 

बीस दिनको तालिममा ‘इन्ट्रोडक्टरी रक क्लाइम्बिङ कोर्ष’, ‘बेसिक माउन्टेन रेस्क्यु’, ‘आइस क्लाइम्बिङ’, ‘हाइ अल्टिच्युट’ लगायत विषयमा तालिम दिइएको थियो । यो तालिमका लागि प्रति व्यक्ति करिब रु एक लाख खर्च लाग्ने जनाइएको छ ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष शेर्पाले समग्रमा नेपालको हिमाल आरोहणलाई कसरी सुरक्षित बनाउने र सम्भावित जोखिम न्यूनीकरणका लागि तालिम दिइएको बताए । उनले भने,“विशेषगरी समग्रमा नेपालको हिमाल आरोहणलाई कसरी सुरक्षित गराउने, आफू कसरी सुरक्षित हुने तथा ‘क्लाइन्ट’लाई र आरोही कसरी सुरक्षित गर्ने भन्ने उद्देश्यले तालिम दिइएको हो ।”

प्रशिक्षक सङ्घका अध्यक्ष छिरिङ पाण्डे भोटेले पर्वतारोहणलाई सुरक्षित बनाउन तथा सम्भावित जोखिम र जोखिमपछिको अवस्थामा कसरी उद्धार र व्यवस्थापन गर्ने भन्नेबारे गाइडलाई तालिम दिइएको बताए ।  

प्रशिक्षक सङ्घका महासचिव एवं तालिमका प्रमुख प्रशिक्षक पासाङ टेण्डी शेर्पाले आरोही गाइडलाई पर्वतीय उद्धारबारे हिमालमै तालिम दिनुपर्ने आवश्यकता महशुस गरी चार हजार मिटर उचाइको हिउँमा तालिम दिइएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप