बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस

मङ्गलबार, २६ चैत २०८१, २२ : १३
मङ्गलबार, २६ चैत २०८१

हेटौँडा । मकवानपुरको सामरी खोलामा नदीजन्य पदार्थ उत्खनन मापदण्डविपरीत भएको पाइएको छ । मकवानपुरगढी गाउँपालिकाको सामरी खोलाको तीन स्थानबाट भएको नदीजन्य पदार्थ उत्खनन मापदण्डअनुकूल नभएको भेटिएको हो । 

जिल्ला समन्वय समिति मकवानपुरको टोलीले गरेको अनुगमनले यस्तो देखाएको हो । 

समन्वय समिति प्रमुख ललितबहादुुर घलानको नेतृत्वमा भएको टोलीले ढुंगा, गिट्टी तथा बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार नभएको निष्कर्ष निकालेको हो । जिल्ला समन्वय अधिकारी शान्ति विकका अनुुसार हालसम्म सो खोलामा ३ पटक अनुगमन भइसेकको र अनुगमनका क्रममा भेटिएका कमजोरी तथा त्रुटि हटाउन सुझाव दिए पनि कम्पनीले सम्बोधन गरेको छैन ।

उत्खनन स्थलमा सूचनापार्टी राख्नुपर्ने मापदण्ड भए पनि कम्पनीले बेवास्ता गरेको उनले बताइन् । स्थानीय तहले निर्धारण गरेको लाइन लेन्थको सीमासमेत कम्पनीले हटाएर आईई गरेको भन्दा फरक ठाउँमा उत्खनन गरेको पाइएको उनको भनाइ छ । सामरी खोलाको ३ स्थानबाट तोकिएको मापदण्डअनुसार नदीजन्य पदार्थ उत्खनन गर्ने गरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अनियमित ढंगबाट उत्खनन गरेको समन्वय समिति प्रमुख घलानले बताए । 

कार्यविधिअनुुसार हुनु पर्ने मापदण्डसमेत पालना नभएको उनले बताए । वातावरणिय प्रभाव मूल्यांकनविपरीत नदीबाट गिट्टी बालुवा उत्खनन गरेको उनको भनाइ छ । उत्खननको जिम्मा लिएको कम्पनीले खोलामा ठुला र गहिरो खाल्डो पर्नेगरी उत्खनन गरेको, संवेदनशील स्थानमा पनि उत्खनन गरेको, अनुमति नभएको र जफतमा लागि तोकिएको स्थानमा नदीजन्य पदार्थ घटगद्दी गरेको पाइएको उनले बताए । 

उत्खनन मापदण्डअनुसार मानवबस्ती र वन क्षेत्रको २ किलोमिटर, राजमार्गको ५०० सय मिटर दूरी भित्रको नदी, सडक पुल तथा झोलुङ्गे पुलको एक किलोमिटर तल र ५०० मिटर माथिको नदीजन्य पदार्थ उत्खनन र संकलन गर्न रोक लगाएको छ । 

तर निर्माण कम्पनीले पक्की पुललाई नै जोखिम हुने गरी पुलको मुनिसम्म उत्खनन गरेको उनको भनाइ छ । कम्पनीले एकै स्थानमा दुई पटकसम्म उत्खनन गरेको भेटिएको उनले बताए । मापदण्डविपरीत काम गरेको उक्त कम्पनीलाई भने अनुगमन टोलीले कारबाही गरेको छैन । प्रमुख घलानले उत्खनन गरिएको क्षेत्रमा नदीजन्य पदार्थलाई घाटगद्दी गरी नापजाँच गर्न निर्देशन दिएका छन् । 

उक्त नापजाँचको प्रतिवेदनका आधारमा आवश्यक प्रक्रिया अघि बढाउन उनको निर्देशन छ । मापदण्डअनुसार काम नगर्ने व्यक्ति वा संस्थालाई कारवाहीको दायरामा ल्याउन उनले गाउँपालिकालाई निर्देशन दिए ।
मकवानपुरगढी गाउँपालिकाले २०८१ मंसिर २३ मा ३ स्थानबाट नदीजन्य पदार्थ उत्खनन गर्ने गरी ठेक्का सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछानेले जानकारी दिए । 

४ करोड ५ लाख रुपैयाँमा १ लाख २९ हजार घन मिटर नदीजन्य पदार्थ उत्खनन गर्नेगरी सगरमाथा अमित जेभीसँग ठेक्का सम्झौता भएको उनले बताए । हालसम्म निर्माण कम्पनीले उत्खनन गरी घाटगद्दी गरेको १ लाख १६ हजार घनमिटर नदीजन्य पदार्थ नापजाँच गरिसकेको र चैत मसान्तसम्मको समय सीमा रहेकोमा सो कम्पनीले १३ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न बाँकी रहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप