शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

के आर्थिक मन्दीतर्फ बढिरहेको छ विश्व ?

मङ्गलबार, २६ चैत २०८१, १७ : ३२
मङ्गलबार, २६ चैत २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वभर आफ्ना दर्जनौं व्यापार साझेदार मुलुकमाथि अतिरिक्त भन्सार महसुलको घोषणा गरेपछि लगानीकर्ताहरू आत्तिएका छन् । विश्व शेयर बजारमा उथलपुथल भएको छ । तर, यसको अर्थ के साँच्चै नै विश्व मन्दीतिर बढिरहेको छ त ? सबैभन्दा पहिला ध्यान दिनु पर्ने कुरा के छ भने शेयर बजारमा जे पनि हुन्छ, सबै अर्थतन्त्रमा त्यस्तै हुँदैन । शेयर बजारमा पहिरो जानुको अर्थ सधैं आगामी दिनमा आर्थिक कठिनाई आउँछ, आर्थिक संकट नै उत्पन्न हुन्छ भन्ने हुन्न । 

तर, कहिलेकाँही भने यस्तो हुन्छ । कुनै कम्पनीको शेयर बजार मूल्यमा कमी आउनुको अर्थ भविष्यको सो कम्पनीको नाफाको अनुमान बदलिन्छ भन्ने हुन्छ । ट्यारिफ बढाएपछि सामानको मूल्य बढ्ने बजारले अनुमान गरेको छ । महँगी बढेपछि कम्पनीहरूको नाफा घट्नेछ । तर, यसको अर्थ यो होइन कि मन्दी निश्चित रूपमा हुन्छ नै हुन्छ । तर ट्रम्पको ट्यारिफ घोषणापछि अर्थतन्त्र आर्थिक मन्दीमा भाँसिने सम्भावना टड्कारो भएको छ । 
के हो आर्थिक मन्दी ? 

जब कुनै अर्थतन्त्रमा लगातार दुई त्रैमाससम्म खर्च वा निर्यात घट्छ, तब मन्दी आएको मानिन्छ । गतवर्ष अक्टोबरदेखि डिसेम्बरसम्म बेलायतको अर्थतन्त्रमा शून्य दशमलव १ प्रतिशतको वृद्धि देखिएको थियो । गत महिनाको तथ्याङ्कले जनवरीमा पनि अर्थतन्त्रमा यस्तै कमी आएको देखाएको छ  । फेब्रुअरीमा बेलायती अर्थतन्त्रले कस्तो प्रदर्शन गर्याे भन्ने पहिलो अनुमान यसै शुक्रबार जारी गरिनेछ । 

शेयर बजारमा पहिरो 
तर, यो कुरा स्पष्ट छ कि विश्वभरका शेयर बजारमा आएको उथलपुथलले चिन्ताजनक क्षति निम्त्याएको छ । बैंकहरूलाई सामान्यतया अर्थतन्त्रको प्रतिनिधिको रूपमा हेरिन्छ । ‘मेरो सास रोकिरहेको एउटै कुरा भनेको बैंकको शेयर मूल्यमा आएको कमी हो,’ एक बजार विज्ञले आज भनेका छन् । एचएसबीसी र स्ट्यान्डर्ड चार्टर्ड दुई ठूला बैंक हुन् ।

यसले पूर्वी र पश्चिमी अर्थतन्त्रहरूबीच भर्‍याङको रूपमा काम गर्छन् । यी दुवै बैंकहरूको शेयरमूल्यमा सोमबारको कारोबारमा एक क्षणमा १० प्रतिशतको कमी आएको थियो । पछि भने यो कमी केही घट्यो पनि । 

तर, चिन्ता केवल शेयर बजारमा भएको उथलपुथलको मात्र होइन । चिन्ताको विषय कमोडिटी एक्सचेन्जको हो । यसमा पनि चेतावनीको संकेत देखिएको छ । तामा र तेलको मूल्यलाई विश्वव्यापी आर्थिक स्वास्थ्यको ब्यारोमिटर मानिन्छ । ट्रम्पले कर घोषणा गरेदेखि तामा र तेलको मूल्य १५ प्रतिशतभन्दा बढीले घटिसकेको छ । 

यस अघि कहिले आएको थियो मन्दी 
आर्थिक मन्दी सामान्य घटना होइन । ‘वास्तविक आर्थिक मन्दीको अवधि निकै कम रहेको छ । आर्थिक मन्दी नै मान्न सकिने गरि अहिलेसम्म तीनवटा घटना भएका छन् । 
– १९३० को दशकको मन्दीलाई अर्थशास्त्रीहरूले ‘महामन्दी’ भन्छन् ।

– २००८ को आर्थिक संकटलाई ‘विश्वव्यापी वित्तीय संकट’को नाम दिइएको छ । 

– कोभिड महामारीका कारण २०२० मा विश्व अर्थतन्त्रको पाङ्ग्रा नै रोकियो । 

यस पटक पनि यस्तै केही हुने सम्भावना अहिले नै कम छ । तर, धेरैजसो आर्थिक विश्लेषकहरूको नजरमा अमेरिका, बेलायत र युरोपेली संघ (ईयू)मा मन्दीको डर कायमै छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप