बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिविका उपकुलपति बरालको राजीनामा सनाखतपछि स्वीकृति गरिने

मङ्गलबार, २६ चैत २०८१, १६ : ५०
मङ्गलबार, २६ चैत २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा‍‍.डा. केशरजंग बरालको राजीनामा सनाखतपछि स्वीकृत गरिने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बरालले राजीनामा दिएपछि सनाखत हुन बाँकी रहेको जनाएको छ । राजीनामा सनाखत भएपछि स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय गर्नेछन् । 

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले राजीनापत्र आएपछि सनाखत हुन बाँकी रहेको बताए । ‘राजीनामा पत्र आएको छ । तर, यो राजीनामा उहाँले नै दिनुभएको हो वा होइन भन्ने विषयमा सनाखत गर्नुपर्ने हुन्छ । त्यसका लागि उहाँ आफैं आएर सनाखतको फाराम भर्नुपर्ने हुन्छ,’ सिलवालले भने । 

सनाखत हुन नसकेपछि स्वीकृतिका लागि प्रधानमन्त्री समक्ष पेश हुन नसकेको उनको भनाइ छ । सनाखत भएर आएपछि राजीनामा स्वीकृति गर्ने मनसाय प्रधानमन्त्री ओलीको देखिएको छ । 

‘राजीनामा दिइसकेपछि स्वीकृति नगर्ने भन्ने हुदैन । फेरि काममा फर्केर काम गर्ने के मनासाय होला र ?’ सिलवालले भने । बरालले दिएको राजीनामा फिर्ता गराएर काममा फर्काउन पहल समेत भइरहेको छ । त्यसका लागि रेक्टर प्राडा खड्क केसी तथा रजिष्ट्रार प्रा.डा. केदार रिजाल बराललाई भेट्न पोखरा नै पुगेका थिए ।

भेटका क्रममा आफुहरू सहयोग गर्न तयार रहेको बताउँदै राजीनामा फिर्ता लिन अनुरोध गरेका थिए । तर, बरालले चौतर्फी रूपमा असहयोग भएको बताउँदै काममा फर्किन सकिने अवस्था नरहेको बताएका थिए । 

त्यसपछि उपकुलपति कार्यालयका कर्मचारीहरू समेत बराललाई भेट्न पोखरा पुगेका थिए । बरालको राजीनामापछि उनले नियुक्त गरेका रेक्टर र रजिष्ट्रारमाथि समेत राजीनामा गर्न दबाब परेको छ ।

एमाले निकट विद्यार्थी संगठनका नेता कार्यकर्ताहरू तथा प्राध्यापक, कर्मचारीहरूले दुवै जनालाई समेत राजीनामा दिन दबाब दिदै आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप