बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

इङ्लिस प्रिमियर लिग फुटबल  : ‘डेब्यू’ खेलमा किन फरक जर्सी लगाएर मैदानमा ओर्लिए लेस्टर सिटीका १५ वर्षीय जेरेमी ?

मङ्गलबार, २६ चैत २०८१, १५ : ४३
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति लेस्टर सिटी र न्युक्यासल युनाइटेडबिच खेल भएको थियो । उक्त खेलमा न्युक्यासल युनाइटेडले घरेलु टोली लेस्टर सिटीलाई ३–० गोलले हराएको थियो । 

उक्त खेलमा लेस्टर सिटीबाट एक १५ वर्षीय खेलाडीले प्रिमियर लिगमा ‘डेब्यू’ गरेका थिए । उनी हुन्, जेरेमी मोंगा । जेरेमी इङ्लिस प्रिमियर लिग फुटबल खेल्ने दोस्रो सबैभन्दा कम उमेरका खेलाडी पनि बनेका छन् ।

प्रिमियर लिगमा आफ्नो ‘डेब्यू’ खेल खेल्दा उनको उमेर १५ वर्ष दुई सय ७१ दिन पुगेको थियो । सबैभन्दा कम उमेरमा प्रिमियर लिग खेल्ने खेलाडी भने इथान न्वानेरी हुन् । इथानलाई आर्सनलले सन् २०२२ मा प्रिमियर लिगमा ‘डेब्यू’ गराएको थियो ।

त्यतिबेला इथानको उमेर केवल १५ वर्ष एक सय ८१ दिन पुगेको थियो । न्युक्यासलविरुद्धको खेलमा लेस्टर सिटीले जेरेमीलाई निर्धारित समयको ७४औँ मिनेटमा मैदानभित्र प्रवेश गराएको थियो । उक्त खेलमा जेरेमी क्लबको सादा जर्सी लगाएर मैदानभित्र प्रवेश गरेका थिए ।

लेस्ट सिटीका अन्य खेलाडीको जर्सीमा क्लबको लोगोसँगै प्रयोजकको नाम र लोगो पनि अंकित थियो । तर, जेरेमीको जर्सीमा भने क्लबको लोगोमात्र अंकित थियो । आखिर किन क्लबको लोगोमात्र भएको जर्सी लगाएर ‘डेब्यू’ खेल खेल्न मैदानमा ओर्लिए त जेरेमी ?

खासमा, प्रिमियर लिगको नियम पालना गर्न उनी क्लबको लोगोमात्र भएको जर्सी लगाएर मैदानमा ओर्लिएका हुन् । लेस्टर सिटीको जर्सीको आधिकारीक प्रायोजक बीसीडटगेम हो । यो एक अनलाइन क्रिप्टोकरेन्सीमा आधारित जुवा प्लेटफर्म हो । 

जुवा ऐन २००५ ले १८ वर्ष मुनिका कुनै पनि खेलाडीलाई जुवाको प्रचारप्रसार गर्न रोक लगाएको छ । त्यसैले जेरेमीले लेस्टर सिटीको आधिकारीक जर्सी लगाउँदा त्यो कानुनको उल्लंघन हुन जान्थ्यो । सोही कारणले न्युक्यासलविरुद्धको खेलमा जेरेमीले लेस्टर सिटीको आधिकारीक जर्स नलगाएका हुन् ।

टोलीका अन्य खेलाडीले लगाएभन्दा फरक जर्सी लगाएर जेरेमी मैदानमा ओर्लिएपछि धेरैको ध्यान त्यसतर्फ तानिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप