शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स

बाँकी सम्पत्तिको के होला ?
मङ्गलबार, २६ चैत २०८१, १३ : ०७
मङ्गलबार, २६ चैत २०८१

वासिङ्टन डिसी । अमेरिकी बुहराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्स सधैँ कुनै न कुनै कुराले हेडलाइनमा रहन्छन् । कहिले सम्पत्ति, कहिले श्रीमती मेलिन्डासँगको सम्बन्ध विच्छेद त कहिले परोपकार कर्मले उनलाई चर्चामा ल्याउँछ । 

यतिबेला ६९ वर्षीय गेट्सले आफ्नो सम्पत्तिको एक प्रतिशत मात्र आफ्ना छोराछोरीका लागि छाड्ने घोषणा गरेर चर्चामा छन् । आफ्ना छोराछोरीले सम्पत्ति प्राप्त गर्नुभन्दा आफ्नै बलबुतामा सफलता हासिल गरून्  भन्ने आफ्नो चाहना भएको गेट्सको भनाइ छ । 

माइक्रोसफ्टका संस्थापक गेट्सको कुल सम्पत्तिको एक अंश पनि एक अर्ब डलरभन्दा बढी हुन्छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बिल गेट्सको सम्पत्ति १ खर्ब ६२ अर्ब डलर छ । यसको एक प्रतिशत मात्रै छोराछोरीले पाए भने पनि यो १ अर्ब ६२ करोड डलर हुन आउँछ । हुन त पैतृक सम्पत्ति नपाएरै पनि गेट्सका छोराछोरी शीर्ष धनाढ्यको सूचिमा पर्छन् । 

आफ्ना छोराछोरीले राम्रो शिक्षा र पालनपोषण पाएको तर अब उनीहरूले आफ्नो पहिचान बनाउनु पर्ने एक पोडकास्टमा बिल गेट्सले भनेका छन् । ‘यो कुनै शाही वंश होइन, म उनीहरूलाई माइक्रोसफ्ट चलाउन भनिरहेको छैन । म उनीहरूलाई आफैले पैसा कमाउने र सफल हुने मौका दिन चाहन्छु । बालबालिकाले आफैँले कडा परिश्रम गरेर अगाडि बढ्नु पर्छ ।’ उनले भने । गेट्सले पहिला नै आफ्नो सारा सम्पत्ति आफ्ना छोराछोरीलाई दिनु ‘गल्ती’ हो भन्दै अधिकांश सम्पत्ति परोपकारी गतिविधिमा जाने बताएका थिए । 

  • कति जना गेट्सका छोराछोरी ?

बिल गेट्स र मेलिन्डा फ्रेन्च गेट्सको २७ वर्षको वैवाहिक जीवनबाट तीन सन्तान जन्मिएका छन् । जेठी छोरी जेनिफर क्याथरिन गेट्स २८ वर्षकी भइन् । छोरा रोरी जोन गेट्स २५ वर्ष र कान्छी छोरी फोबी एडेल गेट्स २२ वर्षकी छिन् । पिपल पत्रिकाका अनुसार, बिल र मेलिन्डाले आफ्ना सबै छोराछोरीले हाई स्कूलबाट स्नातक नगरेसम्म सम्बन्ध विच्छेदलाई स्थगित गरेका छन् । २०२१ मा यो जोडी अलग भएका थिए । उनीहरूका तीनै जना छोराछोरी अधिकांश समय लाइमलाइटबाट टाढा रहेका छन् । फोबी मात्र सार्वजनिक जीवनमा देखा पर्छिन् । 

पिताले झैँ तीनै जना भाइबहिनीले सियाटलको प्रतिष्ठित लेकसाइड स्कूलमा शिक्षा प्राप्त गरेका हुन् । पिपल रिपोर्ट अनुसार, जेनिफर गेट्सले कोलम्बिया विश्वविद्यालयबाट सार्वजनिक स्वास्थ्यमा स्नातक डिग्री र स्ट्यानफोर्ड विश्वविद्यालयबाट मानव जीवविज्ञानमा डिग्री हासिल गरेकी छिन् । जेनिफरले मे २०२४ मा माउन्ट सिनाईस्थित इकान स्कूल अफ मेडिसिनबाट स्नातक गरेकी थिइन् । उनले माउन्ट सिनाईबाट आफ्नो चिकित्सा अभ्यास सुरु गरेकी थिइन् । जेनिफर पनि एक पेशेवर घोडसवार हुन् । उनले २०२१ को अक्टोबर मा घोडसवार मित्र नायल नसारसँग विवाह गरेकी छिन् । यो दम्पतीका दुई छोरीहरू छन्: लीला र मिया ।

  • के गर्दैछन् रोरी र फोबी ? 

रोरी जोन गेट्सले २०२२ मा शिकागो विश्वविद्यालयबाट स्नातक डिग्री  पूरा गरे । मात्रै चार वर्षमा उनले आफ्नो डबल मेजर र मास्टर डिग्री पूरा गरे । गेट्सकी कान्छी छोरी फोबी एडेल गेट्सले २०२४को जुनमा स्ट्यानफोर्ड विश्वविद्यालयबाट स्नातक गरिन् । उनलाई फेसनमा निकै रुचि छ ।  उनले ब्रिटिस भोग पत्रिकामा इन्टर्नसिप गरेकी छिन् । फोबीले आफ्नी कलेज रूममेट सोफिया कियानीसँग मिलेर सस्टेनेबल फेसन प्लेटफर्म फिया खोलेकी छिन् । उनी सामाजिक र राजनीतिक मुद्दाहरूमा बोलिरहन्छिन् ।  एक रिपोर्टका अनुसार, फोबी हाल विश्व प्रसिद्ध बीटल्स ब्यान्डका संस्थापक सदस्यहरू मध्ये एक पल म्याकार्टनीका नाति आर्थर डोनाल्डलाई डेट गरिरहेकी छिन् । 

यसअघि गेट्सले आफ्ना प्रत्येक छोराछोरीलाई १/ १ करोड डलर उपहार दिने बताएका थिए ।  आफ्ना छोराछोरीहरूले आफैँ आफ्नो कर्म गरुन् र गेट्सको अविश्वसनीय भाग्य र अथाह सम्पत्तिबाट प्रभावित नहोउन् भन्ने गेट्स चाहन्छन् । २०१४ मा क्यानडामा आयोजित टेड सम्मेलन (प्रविधि, मनोरञ्जन र डिजाइन विषयहरूमा वार्षिक सम्मेलन)मा गेट्सले घोषणा आफ्नो विशाल सम्पत्ति आफ्नो पारिवारिक संस्था, बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई दान दिने घोषणा गरेका थिए । यो संस्था विश्वको सबैभन्दा ठुलो निजी परोपकारी संस्था हो । बिल र मेलिन्डा गेट्सले अन्य कयौँ  अर्बपतिहरूसँग मिलेर २०१० मा ‘गिभिङ प्लेज’ अभियान सुरु गरेका थिए । यसले अन्य अर्बपति र धनाढ्यहरूलाई पनि आफ्नो सम्पत्ति दान दिन प्रेरित गरिरहेको छ । 

  • अर्बौँ गरिसके दान 

आफ्ना सारा सम्पत्ति छोराछोरीलाई नदिने निर्णय गर्ने गेट्स एक्ला अर्बपति होइनन् । आफ्ना तीन छोराछोरीलाई जे पनि गर्न सक्ने महसुस गर्न पर्याप्त पैसा दिने तर यति धेरै पनि होइन कि उनीहरूले केही गर्न नसकुन् भनेर अर्का अर्बपति लगानीकर्ता वारेन बफेटले १९८६ मा फच्र्युनलाई भनेका थिए । उनी अझै पनि आफ्नो ९६ अर्ब डलरको सम्पत्ति कसैलाई नदिने र यसको ९९ दशमलव ५ प्रतिशत दान गर्ने दाबी गरिरहेका छन् । बफेटले आफ्नो लगभग सबै सम्पत्ति परोपकारी संस्थाहरूलाई दान गर्ने योजना बनाएका छन् ।

अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोसले पनि आफ्नो अधिकांश सम्पत्ति चार छोराछोरीलाई दिनुको सट्टा परोपकारमा दान गर्ने योजना बनाइरहेका छन् । पुस्ताबाट पुस्तालाई सम्पत्ति हस्तान्तरण गर्नुभन्दा परोपकारी गतिविधिलाई प्राथमिकता दिन्छु भनेर भन्ने अर्बपतिमा माइकल ब्लूमबर्ग पनि पर्छन् । एप्पलका दिवंगत संस्थापक स्टिभ जब्सकी परोपकारी पत्नी तथा लरेन पावेल जब्सले आफ्ना पतिबाट विरासतमा पाएको अर्बाैं रुपैयाँ आफ्ना तीन छोराछोरीलाई हस्तान्तरण नगर्ने बताएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप