ट्रम्प ट्यारिफले तेलको भाउ घट्यो, पुटिनमाथि बढ्यो दबाब

वासिङ्टन डिसी । युक्रेनसँगको युद्ध सुरु भएदेखि नै रुसको अर्थतन्त्र पूर्ण रूपमा तेल, ऊर्जा र खनिज पदार्थको निर्यातमा निर्भर छ । युद्ध गर्न सक्ने रुसको क्षमतामा अंकुश लगाउन पश्चिमा देशहरूले रुसमाथि अनेकौँ प्रतिबन्धहरू लगाएका थिए । तर यी प्रतिबन्धले पुटिनलाई खासै समस्या भएन ।
युक्रेन युद्धमा खर्च भएको पैसा भन्दा धेरैको तेल बेचिरहेका थिए । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका व्यापार साझेदारमाथि लगाएको अतिरिक्त भन्सार महसुल अर्थात् ट्यारिफका कारण रुसमाथि दबाब बढेको छ । ट्यारिफ युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उच्च कमी आएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा झरेको थियो । यसैबिच, कच्चा तेलको रुसी बेञ्चमार्क युराल प्रति ब्यारेल ५० मा झर्यो ।
- दबाबमा रुसी सरकार
तेलको मूल्यमा आएको कमीले पुटिन सरकारमाथि आर्थिक दबाब बढेको छ । तेल र ग्यास क्षेत्रहरूले रुसको राजस्वमा सबैभन्दा बढी योगदान पुर्याउँछन् । पहिला देखि नै रुसको तेल तथा ग्यास क्षत्रेको राजस्व घटेको थियो । गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको मार्चमा रुसको तेल तथा ग्यास क्षेत्रको कमाई १७ प्रतिशतले घटेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलमा धेरै देशहरूमा कर लगाउने निर्णय गरेपछि तेलको भाउ थप घट्ने देखिएको छ । यस्तोमा तेल बेचेर हुने रुसको आम्दानी झनै घट्ने र उसको आर्थिक दबाब अरू बढ्ने अपेक्षा गरिएको छ । यसबारे रुसी सरकार पनि चिन्तित छ ।
रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभलाई तेलको मूल्यमा आएका कमीले रुसको अर्थतन्त्रमा पार्ने प्रभावबारे सोधिएको थियो । यस क्रममा उनले यस्तो जवाफ दिएका थिए, ‘अवश्य पनि हामी यसबारे चिन्तित छौँ । यी सूचकहरू हाम्रो बजेटको लागि अत्यन्तै महत्त्वपूर्ण छन् र हाल तिनीहरूको अवस्था अत्यन्तै तनावपूर्ण र चिन्ताजनक छ । यद्यपि, हामी यसबाट माथि उठ्ने कदम चालिरहेका छौँ ।’ पेस्कोभले भनेका थिए ।
- अन्तर्राष्ट्रिय बजारमा कति छ कच्चा तेलको मूल्य ?
शुक्रबार रुसी बेञ्चमार्क युरालको मूल्य प्रति ब्यारेल ५२ डलरमा कारोबार भइरहेको थियो । यो अझै घट्ने अनुमान गरिएको छ । अमेरिकी बेञ्चमार्क डब्ल्यूटीआई वा टेक्सास तेल पनि प्रति ब्यारेल ६० मा कारोबार भइरहेका छन् । कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट तेलको मूल्य प्रति ब्यारेल ६४ डलर आसपास छ ।
यस उथलपुथलको बिचमा ट्रम्पले सोमबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा एउटा पोस्ट सेयर गरेर चीनले २४ घण्टा भित्र अमेरिकामाथि लगाएको ३४ प्रतिशत कर हटाएन भने चीनमाथि अरू ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाइने धम्की दिएका थिए । चीन र अमेरिकाबिच व्यापार युद्ध रोकिने सम्भावना कतै छैन । यस्तोमा विश्वका दुई ठुला अर्थतन्त्रबिचको व्यापार युद्धको प्रभाव विश्व अर्थतन्त्रमा पर्ने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै