सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘ह्याट्रिक’ गर्ने ज्ञानेन्द्र शाहको रहर

मङ्गलबार, २६ चैत २०८१, ११ : ४७
मङ्गलबार, २६ चैत २०८१

पछिल्लो केही समययता सर्वाधिक चर्चामा रहेका पात्र हुन् पूर्वराजा ज्ञानेन्द्र शाह । ज्ञानेन्द्र शाह त्यही व्यक्ति हुन् जो इतिहासमा आफ्नो बुवाभन्दा अगाडि राजा बन्न पुगे । संयोगले उनी शाह वंश परम्पराको मान्यताविपरीत राजा बनेका पात्र हुन् । हजुरबुवा त्रिभुवनले राणाहरूसँगको संघर्षमा नेपाल छाडेर जेठा छोरा महेन्द्रसहित भारत पसेपछि महेन्द्रका माइला छोरा ज्ञानेन्द्रले दुई महिना राजा हुने अवसर पाएका थिए ।

उनी २००७ सालको कात्तिक २२ गते पुस २३ सम्म राजा बने । जुन राजाको जेठो छोरा राजा हुने शाह परम्पराभन्दा विपरीत थियो । पछि राजा वीरेन्द्रको वंशनाश भएपछि उनी दोस्रोपटक (२०५८ जेठ २२ मा) दोस्रोपटक राजा भए । यसरी राजा त्रिभुवनको नाति भएर, राजा महेन्द्रको माइलो छोरा भएर र राजा वीरेन्द्रको छोरा नभईकन भाइ भएर पनि राजा बन्न पुगेका ज्ञानेन्द्र शाह विगत १७ वर्षदेखि पूर्वराजाको हैसियतमा एक नागरिकसरह जीवनयापन गरिरहेका छन् ।

उसो त ज्ञानेन्द्र शाहले आफ्नो स्वेच्छाले राजपाठ छाडेका भने होइनन् । आफ्नो राज्य सञ्चालन गर्ने ढङ्ग नपुग्दा र राजनीतिक असक्षताका कारण उनलाई राजगद्दी त्याग्न बाध्य पारिएको थियो । जनयुद्ध लडिरहेको तत्कालीन नेकपा (माओवादी) र संसद्वादी पार्टीका बिचमा खेलेर आफ्नो निरङ्कुशता र शासनसत्तामा नियन्त्रण गरिराख्ने उनको रणनीति जब असफल हुन पुग्यो, तब राजतन्त्र बिस्तारै धर्मराउन थाल्यो । राजतन्त्र र संसद्वादका विरुद्धमा भीषण लडाइँमा होमिएको माओवादी र राजतन्त्रलाई अविभावक मानी संसदीय राजनीतिमा सक्रिय रहेका काङ्ग्रेस लगायत सात राजनीतिक पार्टीका बिचमा निरङ्कुश राजतन्त्रका विरुद्ध संघर्ष केन्द्रित गर्ने सहमति बनेपछि राजतन्त्रका आधार भत्किन थालेको थियो । २०६२/६३ को दोस्रो संयुक्त जनआन्दोलनपछि विस्तृत शान्ति सम्झौता हुँदै पहिलो संविधानसभा (२०६४) को पहिलो बैठक (२०६५ जेठ १५)ले गणतन्त्रको घोषणा गर्‍यो । २४० वर्षदेखि कहिले सक्रिय र कहिले निस्क्रिय रूपमा चल्दै आएको राजतन्त्र कानुनी रूपमा सदाका लागि अन्त्य हुन पुग्यो ।

राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा भएसँगै राजा ज्ञानेन्द्र पनि आफ्नो पोको–पुन्तुरो बोकेर नारायणहिटीबाट बाहिरिएका हुन् । २०६५ सालसम्म बडामहाराजधिराज भएका ज्ञानेन्द्र अहिले पूर्वविशिष्टका हैसियतले सरकारी सुरक्षासहित राम्रो व्यवसाय, घरबार र तीर्थयात्रा गरिरहेका छन् ।

ओली, प्रचण्ड, देउवा वा अरु कुनै नेतालाई पराजित गरेर तह लगाउने अधिकार अहिलेको जनतामा छ । गणतन्त्रका थुप्रै सीमाहरू हुन सक्छन् । तर वंशमा आधारित शासनभन्दा जनतामा आधारित शासन हजार गुणा बलशाली, शोभनीय र उपयुक्त हुन्छ ।

ज्ञानेन्द्रले राजदरबार छाडेको पनि १७ वर्ष बितिसकेको छ । तत्कालीन राजाको मुख्यालय नाराणहिटी राजदरबार राष्ट्रिय संग्रहालयमा परिणत भइसकेको छ । राजाका वरिपरीका भाइभारदारहरू र आसेपासेहरू विभिन्न स्वार्थसमूहमा विभक्त भइसकेका छन् । यो सत्र वर्षको अवधिमा देशमा लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, धर्म निरपेक्षता र संघीयता जस्ता नवीन अभ्यास भएका छन् र जनता सार्वभौमसत्ता सम्पन्न भएका छन् । सिंहदरबारदेखि वडासम्म जननिर्वाचित जनप्रतिनिधि छन् । थुप्रै सकारात्मक र नकारात्मक अनुभवसहित नेपाल आजको अवस्थामा आइपुगेको छ ।

ज्ञानेन्द्रको राजा हुने धोको अझै पूरा नभएको रहेछ । नेपाल सरकारले सम्मानै गरेर उपलब्ध गराएको सुरक्षा र नागार्जुन दरबार वा निर्मल निवासमा बसेर भजन–कीर्तन गरेर अनि देश–विदेशको समाचार हेरेर मात्र कति बसिराख्ने भन्ने लाग्दो हो, कहिलकाहीँ र गाडी निकालेर विभिन्न दर्शन भेट र सम्मानका नाममा यात्रामा निस्किरहने गरिरहेका छन् । नारायणहिटी हुँदै आवतजावत गर्दा विगतले घचघचाउँदो पनि होला र स्मरणहरूले निदहराम पनि गर्दाे हो । त्यसैले सायद देश–विदेशको तीर्थयात्रा प्राथमिकतामा परेको पनि हुन सक्छ । जनताको छोरा सरकार प्रमुख भएको देख्दा, किसानको छोराछोरी राष्ट्रप्रमुख भएको देख्दा मन पनि पोल्दो हो र समय–समयमा राजाकै भानदिने गरी विज्ञप्ति पनि जारी गर्ने गरेका छन् । 

राजाकै हैसियतमा उनले विभिन्न चाडपर्व तथा विशेष समय सन्दर्भमा शुभकामना दिने र देशको चिन्ता प्रकट गर्ने कार्य विज्ञप्तिमार्फत गर्दै आएका छन् । यसपालिको प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा भने यिनले अलि महत्त्वाकाङ्क्षी विज्ञप्ति जारी गरे । देशमा अस्तव्यस्तता रहेको र संकट परेको भन्दै राष्ट्र बचाउन, समृद्धि र राष्ट्रिय एकता कायम गर्न अब आफूलाई सहयोग गर्न आह्वान गरे । विज्ञप्ति हेर्दा उनलाई कार्यकारीको भोक जागेको देखिन्छ । नत्रभने म आएपछि सब ठिक गर्छु भन्ने मनसायको विज्ञप्ति जारी गर्ने थिएनन् होला । यही विज्ञप्तिको जगमा केही राजसंस्थावादी संघ–संगठनले पूर्वराजा ज्ञानेन्द्र पोखरादेखि काठमाडौँ फर्कने क्रममा यही फागुन २५ गते काठमाडौँमा स्वागत गर्ने भनेर केही हजार मान्छे जम्मा पारे । केही मान्छेहरू स्वतस्फूर्त पनि गए होलान् । यो भिड देखेपछि राजतन्त्रवादी झनै हौसिए र ज्ञानेन्द्र आफैँ पनि अब उपयुक्त समय आएको निष्कर्षमा पुगे । विभिन्न वादविवादका बिच राजसंस्था पुनस्र्थापनाका लागि राजाकै प्रत्यक्ष निगरानी र पहलकदमीमा पूर्वराष्ट्रिय पञ्चायत अध्यक्ष वयोवृद्ध ज्येष्ठ नागरिक नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको गठन भयो । 

राप्रपा र उसका केही नेताहरू, केही अन्य पूर्वपञ्चहरू, दुर्गा प्रसाईं जस्ता विवादित व्यक्तिहरू लिएर गठन गरिएको समिति जन्मनेबित्तिकै विवादित बन्न पुगेको र एक पञ्चले अर्काे पञ्चलाई नस्विकार्ने अनि समितिमा नबस्ने घोषणा गर्ने प्रक्रिया पनि चलिरहेको छ । अझभन्दा कसले धेरै पूर्वमहाराजको चाकडी गर्ने र जस लिने प्रतिस्पर्धा चलिरहेको छ ।
गणतन्त्र घोषणा भएको दिनदेखि नै राजतन्त्रको वकालत गर्ने एउटा सानो शक्ति संविधानसभा हँुदै अहिलेको प्रतिनिधिसभामा पनि छँदै छ र अझै रहला पनि । तर सडक संघर्षमार्फत या सैन्य विद्रोहमार्फत या वैदेशिक हस्तक्षेप निम्त्याएरै भए पनि राजतन्त्रको पुनस्र्थापना गर्नुपर्छ भन्ने मानसिकता भने खतरनाक देखिन्छ । 

यही चैत्र १५ गते गणतन्त्रको पक्षधर तर सरकारको विपक्षी पार्टीहरूको समाजवादी मोर्चाले सरकारको विरुद्धमा, सुशासन र गणतन्त्रको सुदृढीकरणको पक्षमा खबरदारी सभाको आयोजना गर्‍यो । समाजवादी मोर्चाको सभालाई काउन्टर दिन भन्दै राजसंस्थावादीहरूले पनि सोही दिन काठमाडौँमै सभाको आयोजना गरे । समाजवादी मोर्चाको कार्यक्रम भृकुटी मण्डपमा आयोजना गरियो । सुरक्षा निकायकै रिपोर्ट अनुसार पनि ३५ हजारभन्दा बढी जनसमुदायको उपस्थिति रहेको प्रदर्शन सानदार रूपमा सम्पन्न भयो । मोर्चाका शीर्षस्थ नेताहरूले अहिलेको सरकार, व्यवस्था, समस्या, समस्याका समाधानहरू लगायत विषयमा आफ्ना धारणा र प्रतिबद्धताहरू सार्वजनिक गरे । उता त्यही समयमा, उही मितिमा राजावादीहरूको तीनकुनेको प्रदर्शन भने नेतृत्वका अराजक प्रवृत्ति, असंगठित र अनियन्त्रित मान्छेको भिड र गलत प्रशिक्षणका कारण लुटपाट र अराजकतामा रूपान्तरण भयो । 

यसरी चैत १५ गते गणतन्त्रवादीको राजनीति कस्तो हो र राजावादीहरूको मण्डले प्रवृत्ति कस्तो हुन्छ भन्ने कुरा यो सानो डेमोले सबैका सामु स्पष्ट पारिदिएको छ । राजनीतिक पार्टीहरूको कार्यालयमा आक्रमण गर्ने, नेताका घरमा आक्रमण गर्ने, व्यावसायिक केन्द्रहरूमा लुटपाट गर्ने, सुरक्षाकर्मीको हतियार खोस्ने र दरबारिया मण्डले आतङ्क सिर्जना गर्ने यो कुनै राजनीतिक आन्दोलन होइन; न यो युद्ध हो न त आन्दोलन, न कुनै शान्तिपूर्णसभा र प्रदर्शन नै हो । यो त अराजकवादीहरूको नौटङ्की मात्र हो भन्दा फरक नपर्ला ।
अहिलेका राजनीतिक पार्टीहरू र अभ्यासरत गणतन्त्रले जनआकाङ्क्षाको पूरा सम्बोधन गर्न नसकेको कुरा साँचो हो । परिणाममुखी कार्यक्रम दिन नसकेको पनि साँचो हो । यति हँुदाहँुदै पनि जनतालाई रैतीबाट सार्वभौम नागरिक बनाएको कुरा पनि साँचो । ओली, प्रचण्ड, देउवा वा अरु कुनै नेतालाई पराजित गरेर तह लगाउने अधिकार अहिलेको जनतामा छ । गणतन्त्रका थुप्रै सीमाहरू हुन सक्छन् । तर वंशमा आधारित शासनभन्दा जनतामा आधारित शासन हजार गुणा बलशाली, शोभनीय र उपयुक्त हुन्छ । यसमा समयक्रमानुसार सुधार गर्नुपर्ने धेरै कुराहरू छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई राजगद्दीमा ह्याट्रिक गर्ने रहर लाग्न सक्ला । त्यसका लागि देशी–विदेशी शक्तिहरूलाई गुहार्न पनि सक्ला । समर्थन र प्रदर्शनका केही ट्रायल गर्न पनि सक्ला । हजार मात्र होइन लाखको संख्यामा मानिसले उनलाई जयजयकार गर्दै फूलपाती पनि चढाउँला तर उनको ह्याट्रिक गर्ने सपना पूरा हुन सक्दैन । किनकि उनको विगत सुखद छैन, सन्ततिमा भरोसा छैन, उनी राजनीति कम र व्यापार बढी जान्ने मानिस हुन् ।

उनलाई घेरिएको घेरा अवसरवादीहरूको माखेसाङ्लोमा जेलिएको जालो हो । जसले राजतन्त्र भनेर भनिरहेका छन् तीनलाई राजा भन्दा पनि आफ्नो सुरक्षित राजनीति चाहिएको छ । आजको समाजले अंश र वंशका आधारमा चल्ने शासनभन्दा, स्वतन्त्रता, समानता र प्रतिस्पर्धामा आधारित गणतन्त्र नै स्वीकार गर्छ । यो कुरा ज्ञानेन्द्रको चेतन मनले स्विकारेको पनि हुन सक्छ तर फेरि उनको अवचेतन मनले यो देशको ठेक्का त मेरो पो हो, हिन्दु धर्म र संस्कृतिको त मबाहेक अरुले संरक्षण नै गर्न सक्दैन, जता गए पनि सयौँ मेरा मान्छेले स्वागत गरेका छन्, खर्बौंको चलअचल सम्पत्ति छ, पुराना पार्टी र नेताहरूप्रति जनताको असन्तुष्टि चुलिएको छ, त्यसैले अब आँट्नुपर्छ भन्ने सोचेको होला । अन्तर्मनको द्वन्द्वबाट चेतन मनलाई अवचेतन मनले दबाएर निर्णय गरिएको हो भने परिणाम अवश्य प्रत्युत्पादक बन्नेछ । 

फेरि पनि गणतन्त्रवादीलाई चुनावमा, लडाइँमा, आन्दोलनमा पराजित गरेर, करोडौँ जनताको मन जितेर सरकार प्रमुख वा राष्ट्रप्रमुख हुने अधिकार पूर्व र अन्तिम राजा ज्ञानेन्द्रलाई छ । जुन कुरा मेरो ८० वर्षे हजुरबुवा सरहका ज्ञानेन्द्रले गर्न सक्छन् भनेर कसले पत्याइदिने ? दुई–चार हजार मान्छे नियन्त्रण गर्न नसक्ने दुर्गा प्रसाईंलाई जनकमान्डर बनाउने, आफ्नो सल्लाह र योजनामा भएको घटनाको जिम्मा समेत लिन नसक्ने, आफैँ मैदानमा उत्रेर नेतृत्व गर्न नसक्ने, राजतन्त्र भन्दै पाँचतिर फर्केका पाँच टाउकालाई मिलाउन नसक्ने ज्ञानेन्द्रलाई नारायणहिटीको ढोका कसले खोल्दिने हो कुन्नि । 

(लेखक गुरुङ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला सेक्रेटरी हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काजी गुरुङ
काजी गुरुङ
लेखकबाट थप