बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

जितबाट उत्साही पञ्जाब र लगातारको हारबाट विचलित ‘बुढो बाघ’ चेन्नई आपसमा भिड्दै

मङ्गलबार, २६ चैत २०८१, १४ : ००
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा मंगलबारको दोस्रो खेल चेन्नई सुपर किङ्स र पञ्जाब किङ्सबिच खेलिँदै छ । खेल महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । यो पञ्जाबको घरेलु मैदान हो ।

आईपीएलको जारी संस्करणमा खेल्न लागिएको यो २२औँ खेल हो । पञ्जाबले आफ्नो चौथो र चेन्नईले आफ्नो पाँचौँ खेल खेल्न लागेका हुन् । आईपीएलको इतिहासमा चेन्नई सबैभन्दा बढी उपाधि जित्ने टोलीमध्ये एक हो । 

चेन्नईले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितेको छ । चेन्नईका अतिरिक्त मुम्बई इन्डियन्सले मात्र पाँच पटक उपाधि कुम्ल्याउन सकेको छ । चेन्नईले सन् २०१० मा पहिलो उपाधि जितेको थियो । त्यतिबेला चेन्नईले फाइनलमा मुम्बई इन्डियन्सलाई २२ रनले हराएको थियो । 

दोस्रो पटक चेन्नईले सन् २०११ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५८ रनले हराउँदै उपाधि चुमेको थियो । सन् २०१८ को फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै उपाधि हात पारेको थियो । सन् २०२१ को फाइनलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराएको थियो । सन् २०२३ को फाइनलमा चेन्नईले गुजरात टाइटन्सलाई पाँच विकेट हराएको थियो ।

पञ्जाब कङ्लिे भने हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । सन् २०१४ मा पञ्जाब किङ्स फाइनलमा पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो । 

  • पञ्जाबको चौथो र चेन्नईको पाँचौँ खेल

आईपीएलको जारी संस्करणमा पञ्जाब किङले चौथो र चेन्नई सुपर किङ्सले पाँचौँ खेल खेल्न लागेका हुन् । जारी संस्करणमा गतिलो प्रदर्शनबाट पञ्जाब उत्साही देखिन्छ भने पाँचपटकको च्याम्पियन ‘बुढो बाघ’ चेन्नई लगातारको हारबाट निराश । 

punjab

पञ्जाबले यसअघि खेलिएको तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । पञ्जाब चार अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । चेन्नईले भने चारमध्ये एक खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । चेन्नई दुई अंकसहित तालिकाको नवौँ स्थानमा छ । 

  • हेड टु हेडमा चेन्नई अगाडि 

चेन्नई सुपर किङ्स र पञ्जाब किङ्सबिच हालसम्म आईपीएलमा कुल ३० खेल खेलिएको छ । त्यसमा चेन्नई बलियो देखिन्छ । चेन्नईले १६ खेलमा पञ्जाबलाई पराजित गरेको छ । पञ्जाबले भने १४ खेलमा चेन्नईलाई हराएको छ । 

मुल्लनपुरस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भने यी दुई टोली पहिलो पटक आपसमा भिडन लागेका हुन् । यी दुई टोली पछिल्लो पटक सन् २०२४ को संस्करणमा आपसमा भिडेका थिए । उक्त खेलमा चेन्नईले पञ्जाबलाई हराएको थियो ।

  • चेन्नईको सर्वाधिक रन ऋतुराजको नाममा

आईपीएलको जारी संस्करणमा चेन्नई सुपर किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ऋतुराज गायकवाड हुन् । उनी टोलीका कप्तान पनि हुन् । उनले हालसम्म खेलिएको चार खेलमा कुल एक सय २१ रन बनाएका छन् । 

ruturaj

राजस्थान रोयल्सविरुद्धको खेलमा ऋतुराजले ४४ बलमा ६३ रन बनाएका थिए । चेन्नईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा रचिन रवीन्द्र छन् । उनले चार खेलमा कुल एक सय नौ रन बनाएका छन् । 

रचिनले मुम्बई इन्डियन्सविरुद्धको खेलमा ४५ बलमा ६५ रन बनाएका थिए । चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर भने नुर अहमद हुन् । उनले चार खेलमा १० विकेट लिइसकेका छन् । उनले मुम्बई इन्डियन्सविरुद्ध केवल १८ रन खर्चिएर चार विकेट लिएका थिए । 

नुर अहमद आईपीएको जारी संस्करणमा समग्रमै सर्वाधिक विकेट लिने बलर पनि हुन् । चेन्नईका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा खलिल अहमद छन् । उनले तीन खेलमा आठ विकेट लिएका छन् । उनले मुम्बईविरुद्ध २९ रन खर्चिएर तीन विकेट लिएका थिए । 

  • लयमा छन् पञ्जाबका कप्तान श्रेयष ऐयर

आईपीएलको जारी संस्करणमा पञ्जाब किङ्सका कप्तान श्रेयष ऐयर लयमा देखिएका छन् । उनी टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले यसअघि खेलिएको तीन खेलमा कुल एक सय ५९ रन बनाएका छन् । 

श्रेयषले गुजरात टाइटन्सविरुद्ध केवल ४२ बलमा ९७ रन बनाएका थिए । पञ्जाबका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा नेहल बधेरा हुन् । उनले दुई खेलमा कुल एक सय पाँच रन बनाएका छन् । उनले हालसम्म सिनियर टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । 

नेहलले राजस्थान रोयल्सविरुद्धको खेलमा ६२ रन बनाएका थिए । जारी आईपीएलमा पञ्जाबका लागि सर्वाधिक विकेट लिने बलर भने अर्शदीप सिंह हुन् । उनले तीन खेलमा ६ विकेट लिएका छन् । उनले लखनउ सुपर जायन्ट्सविरुद्ध चार ओभरमा तीन विकेट लिएका थिए ।

  • पिच रिपोर्ट

चेन्नई सुपर किङ्स र पञ्जाब किङ्सबिच मंगलबारको खेल हुने मुल्लनपुरस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रुपमा बढी रन बन्ने गरेको छ । 

यो स्टेडियममा हालसम्म आईपीएलको कुल ६ खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा पहिले ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । तीन खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले जित हात पारेका छन् । 

  • दिनभर चर्को गर्मी 

पञ्जाब किङ्स र चेन्नई सुपर किङ्सबिच खेल हुने दिन मंगलबार मुल्लनपुरमा चर्को गर्मी हुनेछ । वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम २२ देखि ४१ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ । हावाको गति भने १३ किलोमिटर प्रति घण्टा रहने अनुमान गरिएको छ ।

सम्भावित टोली 

चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), रचिन रवीन्द्र, डेभोन कनवे, विजय शंकर, शिवम दुबे, रवीन्द्र जडेजा, महेन्द्रसिंह धोनी (विकेटकिपर), रविचन्द्रन आश्विन, नुर अहमद, मकेश चौधरी, खलिल अहमद र माथिशा पाथिराना ।

पञ्जाब किङ्स : श्रेयष ऐयर (कप्तान), प्रियांश आर्या, प्रभसिमरन सिंह (विकेटकिपर), नेहल बाधेरा, शशांक सिंह, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, सूर्यान्श शेडगे, मार्को यान्सन, लोकी फर्गुसन, अर्शदीप सिंह र युजवेन्द्र चहल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप