सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय
वास्तु

पञ्च महाभूत, दिशा र वास्तु

मङ्गलबार, २६ चैत २०८१, १० : ४८
मङ्गलबार, २६ चैत २०८१

प्राचीनकालदेखि नै मानवले आफ्नो आवासीय स्थानलाई प्राकृतिक तत्त्वहरूसँग मेल खाने गरी निर्माण गर्ने प्रयास गरेको देखिन्छ । यो प्रयास केवल भौतिक संरचना निर्माणसम्म सीमित नभई मानिसको मानसिक, शारीरिक र आध्यात्मिक स्वास्थ्यसँग समेत प्रत्यक्ष सम्बन्धित छ ।

वास्तुशास्त्रले मानव जीवनमा सकारात्मक ऊर्जा, समृद्धि, स्वास्थ्य र मानसिक शान्ति ल्याउन मार्गदर्शन प्रदान गर्छ । शास्त्रीय ग्रन्थहरू विश्वकर्मा प्रकाश, मयमत, समरांगण सूत्राधार जस्ता प्राचीन शास्त्रले वास्तुको सिद्धान्तलाई विस्तृत रूपमा वर्णन गरेका छन् । शास्त्रीय आधार अनुसार मानव र ब्रह्माण्डबिचको समन्वयले मानिसलाई पूर्ण स्वस्थ र मानसिक तथा आध्यात्मिक सन्तुलनमा रहन सहयोग गर्छ । मूलतः पञ्चतत्त्व अर्थात् पञ्च–महाभूतले मानव, मानवीय ऊर्जा र प्राणसँग ब्रह्माण्डलाई जोडेको हुन्छ ।

  • पञ्च महाभूतकोे महत्त्व

सामान्यतया वास्तुशास्त्रको मूल आधार पञ्चतत्त्वहरू (पृथ्वी, जल, अग्नि, वायु र आकाश)को सन्तुलनलाई लिइन्छ । उल्लिखित तत्त्वहरूले केवल भौतिक पदार्थको मात्र प्रतिनिधित्व नगरी मानव शरीर र मानसिकता समेतका लागि अत्यन्त महत्त्वपूर्ण ऊर्जा स्रोतका रूपमा काम गर्छन् । 

  • पृथ्वी तत्त्व 

मानव जीवनमा भौतिक र मानसिक सन्तुलन, सुरक्षा र समृद्धि प्रदान गर्ने आधारभूत शक्ति हो, पृथ्वी तत्त्व । शास्त्रीय सिद्धान्त अनुसार यसको सन्तुलन र सही उपयोगले जीवनमा सकारात्मक ऊर्जा प्रवाह गर्न मद्दत गर्छ । यस तत्त्वले शारीरिक स्वास्थ्यदेखि आर्थिक समृद्धि र मानसिक शान्तिसम्मको उपलब्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

  • जल तत्त्व

जल तत्त्वले जीवनमा बग्ने ऊर्जा, शुद्धता र भावनात्मक सन्तुलनको प्रतिनिधित्व गर्छ । यसको शुद्धता र परिवर्तनशील गुणले मानिसमा स्वास्थ्य, उपचार र आध्यात्मिक उन्नतिका लागि सकारात्मक प्रभाव पार्ने शास्त्रीय मत छ । यस तत्त्वलाई सही तरिकाले सन्तुलनमा राख्दा सुखानुभूति, ताजगी र शान्तिमार्फत जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ । 

  • वायु तत्त्व

वायु तत्त्वले मानव जीवनमा शारीरिक, मानसिक र ऊर्जा सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यो तत्त्वको गतिशीलतामार्फत जीवन शक्ति प्रदान गर्छ । वास्तुशास्त्र अनुसार यदि हाम्रो आवासमा वायु तत्त्वको सही सन्तुलन कायम हुन्छ भने मानसिक शान्ति र गतिशीलताको सुनिश्चितता प्रदान गर्छ । यही तत्त्वमार्फत जीवनमा समृद्धि र शान्ति प्राप्त गर्न सकिन्छ भन्ने शास्त्रीय मत पाइन्छ । 

  • अग्नि तत्त्व

अग्नि तत्त्वले मानव जीवनमा ऊर्जा, रूपान्तरण र शक्ति प्रवाहलाई व्यवस्थित गर्छ । अग्निको सही सन्तुलनले शारीरिक स्वास्थ्य, मानसिक स्पष्टता र आध्यात्मिक उन्नतिमा साथ दिन्छ । वास्तुशास्त्रले यस तत्त्वको उचित व्यवस्थापन र सन्तुलनलाई विशेष महत्त्व दिएको छ । मानिसलाई स्वस्थ, सक्रिय र प्रेरित बनाइराख्न यो तत्त्व प्रमुख मानिन्छ । यसको सही दिशा र सन्तुलनले सम्पूर्ण जीवनमा उज्यालो, न्यानो र परिवर्तन ल्याउन सकिन्छ ।

  • आकाश तत्त्व

आकाश तत्त्वले मानव चेतनाको उचाइलाई प्रतिनिधित्व गर्छ । यो तत्त्वले मानसिक स्पष्टताको प्रतिरूपको रूपमा काम गर्छ । शास्त्रीय दृष्टिकोणले यसलाई ब्रह्माण्डको अपारता र आत्मिक उन्नतिको प्रतीक मानिएको छ । वास्तुशास्त्र अनुसार जीवनमा यसको सकारात्मक प्रभाव प्राप्त गर्न खुला, प्रशस्त वातावरण र प्राकृतिक प्रकाशको महत्त्वलाई ध्यानमा राख्नुपर्छ । 

शास्त्रीय ग्रन्थहरूमा पूर्वको उच्च महिमा छ । उत्तरदिशा धन, समृद्धि र सफलता प्राप्तिका लागि अनुकूल मानिन्छ भने ईशान दिशालाई आध्यात्मिक ऊर्जा र शान्तिको केन्द्रको रूपमा लिइएको छ । यो दिशा धार्मिक तथा आध्यात्मिक विकासका लागि अत्यन्त शुभ दिशा भएको शास्त्रको मत छ ।
  • दिशा र ऊर्जा 

वास्तुशास्त्रमा दिशालाई अत्यन्त महत्त्व दिइन्छ । ब्रह्माण्डको ऊर्जा विभाजन विभिन्न दिशामा भएको छ । प्रत्येक दिशाको आफ्नै विशेषता र महत्त्व छ । पूर्वदिशा सूर्योदयको दिशा भएकाले यसलाई स्वास्थ्य, प्रकाश र सकारात्मक ऊर्जासँग जोडिएको छ । शास्त्रीय ग्रन्थहरूमा पूर्वको उच्च महिमा छ । उत्तरदिशा धन, समृद्धि र सफलता प्राप्तिका लागि अनुकूल मानिन्छ भने ईशान दिशालाई आध्यात्मिक ऊर्जा र शान्तिको केन्द्रको रूपमा लिइएको छ । यो दिशा धार्मिक तथा आध्यात्मिक विकासका लागि अत्यन्त शुभ दिशा भएको शास्त्रको मत छ ।

दक्षिण र पश्चिम दिशाहरूमा वास्तुका केही नकारात्मक पक्ष उल्लेख गरिए पनि शास्त्रीय नियमको पालना गरिएमा यी दिशाबाट पनि सकारात्मक ऊर्जा प्राप्तिका लागि उपयोगी बनाउन सकिन्छ । प्रत्येक दिशा फरक–फरक तत्त्व र ऊर्जाले भरिएका छन् । वास्तुशास्त्रीय आधारमा ती स्रोतको सदुपयोग गर्दा मानव जीवनले लाभ प्राप्त गर्न सक्छ । 

  • ब्रह्माण्ड र मानवको आपसी सम्बन्ध

शास्त्रहरूमा मानवलाई ब्रह्माण्डको एक अङ्गका रूपमा हेर्ने गरिन्छ । त्यसैले मानवले आफ्नो निवास स्थानलाई ब्रह्माण्डीय नियम अनुसार व्यवस्थित गर्दा सम्पूर्ण ब्रह्माण्डको सकारात्मक ऊर्जा ग्रहण गर्न सक्षम हुन्छ । 

शास्त्रअनुसार मानिस र प्रकृतिबिचको उचित समन्वय भएमा मानसिक, शारीरिक र आध्यात्मिक पक्षमा सकारात्मक प्रभाव आउँछ । सही दिशाहरू, खुला र स्वच्छ वातावरणले मानिसमा आत्मविश्वास, शान्ति र सन्तुलनको अनुभूति गराउँछ । उचित प्रकाश र खुला वातावरणले मानिसलाई शान्त र प्रशन्न बनाउँछ । स्वस्थ वायुमण्डल, स्वच्छ पानी र सही ढलान भएका घरहरूले स्वास्थ्य समस्या आउन दिँदैन । अग्नि, जल र वायुका तत्त्वहरूको उचित समन्वयले मानिसमा रोग प्रतिरोधक क्षमता बढाउँछ । 

वास्तुशास्त्रले प्राकृतिक तत्त्वहरू र दिशाहरूको महत्वलाई जोड दिएकाले यसले पर्यावरणसँग मेल खाने संरचनाहरू निर्माण गर्न मार्गदर्शन गर्छ । जसले पर्यावरणीय संकट र प्रदूषणका विरुद्ध लड्न पनि सहयोग पुर्‍याउँछ । आधुनिक जीवनका व्यस्तताका बिच मानिसमा आध्यात्मिक विकास र शान्तिको खोज निरन्तर रहन्छ । वास्तुका सिद्धान्तहरू अनुसार बनेका घरहरूमा बस्ने मानिसको आत्मिक उन्नतिको मार्ग सकारात्मक बन्छ । 

  • शास्त्रीय ग्रन्थमा वास्तु 

वास्तुशास्त्रका ग्रन्थहरूमा वास्तुशास्त्रीय नियम र सिद्धान्तहरू स्पष्ट रूपमा व्याख्या गरिएको छ । विश्वकर्मा प्रकाश, मयमत, वास्तुमाला, वास्तु चिन्तामणि, अग्नि पुराण, गरुड पुराण लगायत दर्जनौँ ग्रन्थले वास्तुको मूलभूत सिद्धान्त दिएका छन् । यस्ता ग्रन्थमा वर्णित ज्ञानलाई परम्परादेखि मानिसले आफ्ना आवासीय स्थलहरूमा प्रयोग गर्दै आएका छन् । 
शास्त्रहरूमा वास्तु सिद्धान्तहरूको वर्णन र तत्त्वका आधारमा उचित स्थान व्यवस्था गर्न सुझाइएको छ । शास्त्रअनुसार वास्तु केवल भौतिक संरचना निर्माणसम्म सीमित नभई मानिसको आत्मिक उन्नति, मानसिक शान्ति र समृद्धिमा समेत योगदान हुने भएकाले घरलाई वास्तुशास्त्रका नियम अनुसार व्यवस्थित गर्दा सम्पूर्ण ब्रह्माण्डको सकारात्मक ऊर्जा ग्रहण गर्न सहज हुन्छ । 

अन्त्यमा, वास्तुशास्त्र प्राचीन ज्ञानको अमूल्य धरोहर हो । यसले मानव जीवनमा सकारात्मक ऊर्जा, स्वास्थ्य, समृद्धि र मानसिक शान्ति ल्याउन महत्त्वपूर्ण योगदान दिन्छ । पञ्चतत्त्व र दिशाहरूको सही व्यवस्था, ब्रह्माण्डीय ऊर्जासँगको सामञ्जस्यका आधारमा वास्तुशास्त्रले मानिस र प्रकृतिबिचको अद्वितीय सम्बन्धलाई उजागर गर्छ । शास्त्रीय ग्रन्थहरूमा यसका प्रमाण र सिद्धान्तहरू स्पष्ट रूपमा उल्लेख छन् । जसमा प्राचीनकालदेखि नै मानिसलाई आत्मिक, शारीरिक र मानसिक स्वास्थ्य सन्तुलित राख्न मार्गदर्शन दिएको छ ।
मानिसहरू दैनिक जीवनका तनाव र व्यस्तताबाट ग्रसित छन् । वास्तुशास्त्रका शास्त्रीय सिद्धान्तहरू अपनाउँदा केवल आवासीय स्थलमा सकारात्मक ऊर्जा प्रवाह सुनिश्चित मात्र नभई मानसिक शान्ति र आत्मिक उन्नतिमा समेत सकारात्मक प्रभाव पर्छ ।

उचित वास्तु व्यवस्थापनले घर–परिवारमा सौहार्द, समृद्धि र आत्मविश्वासको वातावरण सिर्जना गर्छ । वास्तुशास्त्रले मानव जीवनलाई नवीकरण गर्ने, सकारात्मक ऊर्जा प्रवाह गराउने र जीवनका सबै पाटालाई समृद्ध बनाउने प्रमुख साधनका रूपमा कार्य गर्छ । मानव जीवनमा सकारात्मक ऊर्जा र समृद्धि ल्याउने मात्र नभई, मानिस र ब्रह्माण्डबिचको गहिरो समन्वयलाई पनि स्थापित गर्छ । आफ्ना जीवनशैलीलाई प्राकृतिक नियमहरू अनुसार पुनर्संरचित गर्ने हो भने समग्र मानव जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । हामी सबैलाई प्रकृतिको सकारात्मक साथ चाहिन्छ तर हामीले प्रकृतिको नियम विपरीत कार्य गर्न थाल्यौँ भने त्यसले सकारात्मकता दिन सक्दैन । तसर्थ आफ्नो घर र कार्य क्षेत्रलाई वास्तुसम्मत बनाई अधिक लाभ लिने प्रयत्न गर्नुपर्छ कि !
(लेखक दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव तथा वास्तु विज्ञान प्रालिका सञ्चालक हुन् ।) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप