समान स्थितिमा रहेका कोलकाता र लखनउको भिडन्त

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा मंगलबार दुईवटा खेल हुनेछ । पहिलो खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सको सामना गर्नेछ । उक्त खेल कोलकाताको घरेलु मैदान ईडन गार्डन्समा नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा कोलकाता र लखनउ दुवैले आफ्नो पाँचौँ खेल खेल्न लागेका हुन् । कोलकाताले हालसम्म तीनपटक आईपीएलको उपाधि जितेको छ । सन् २०१२ मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हराएको थियो ।
कोलकाताले दोस्रो उपाधि सन् २०१४ मा जितेको थियो । उक्त संस्करणको फाइनलमा कोलकाताले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो । कोलकाताले तेस्रो उपाधि सन् २०२४ मा जितेको थियो । कोलकाताले अघिल्लो संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो ।
लखनउ सुपर जायन्ट्सले भने हालसम्म आईपीएलको उपाधि चुम्न सकेको छैन । आईपीएलमा लखनउको सहभागिताको इतिहासमा पनि खासै लामो छैन । सन् २०२२ देखिमात्र लखनउले आईपीएलमा सहभागिता जनाउन थालेको हो ।
लखनउ सुपर जायन्ट्स हालसम्म दुईपटक आईपीएलको प्लेअफ चरणमा पुगेको छ । यो नै लखनउको सबैभन्दा ठुलो उपलब्धि हो । लखनउ सन् २०२२ र सन् २०२३ को संस्करणमा प्लेअफ चरणसम्म पुगेको थियो ।
- दुवै टोलीको अवस्था उस्तै
जारी आईपीएलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स दुवैले आफ्नो पाँचौँ खेल खेल्न लागेका हुन् । अंक तालिकामा दुवै टोलीको अवस्था उस्तै छ । कोलकाताले अघिल्ला चारमध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।
कोलकाता चार अंकसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ । लखनउले पनि अघिल्ला चारमध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकोलेको छ । लखनउ चार अंकसहित तालिकाको छैटौँ स्थानमा आसीन छ ।
- हेड टु हेडमा लखनउ अगाडि
आईपीएलमा हालसम्म लखनउ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्सबिच कुल पाँच खेल खेलिएको छ । त्यसमा लखनउ बलियो देखिन्छ । लखनउले पाँचमध्ये तीन खेलमा कोलकातालाई हराएका छ ।
कोलकाताले भने दुई खेलमा मात्र लखनउलाई हराउन सकेको छ । पछिल्लो पटक सन् २०२४ मा यी दुई टोली आपसमा भिडेका थिए । उक्त भिडन्तमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई हराएको थियो ।
- कोलकाताको सर्वाधिक रन अंगकृषको नाममा
आईपीएलको जारी संस्करणमा कोलकाता नाइट राइडर्सका चार ब्याट्सम्यानले अर्धशतक बनाइसकेका छन् । कोलकाताका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने अंगकृष रघुवंशी हुन् । उनले चार खेलमा कुल एक सय २८ रन बनाएका छन् ।
अंगकृषले सनराइजर्स हैदराबादविरुद्धको खेलमा ५० रन बनाएका थिए । कोलकाताका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा अजिनक्या रहाणे छन् । उनले चार खेलमा कुल एक सय २३ रन बनाएका छन् ।
यसका अतिरिक्त, क्विन्टन डी काक र वेंकटेश ऐयरले पनि अर्धशतक बनाएका छन् । कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर भने वरुण चक्रवर्ती हुन् । उनले चार खेलमा कुल ६ विकेट लिएका छन् । उनले हैदराबादविरुद्ध चार ओभरमा तीन विकेट लिएका थिए । वैभव अरोराले पनि तीन खेलमा ६ विकेट लिएका छन् ।
- लखउनका निकोलस पुरन लयमा
जारी आईपीएलमा लखनउ सुपर जायन्ट्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान निकोलस पुरन हुन् । उनले चार खेलमा कुल दुई सय एक रन बनाएका छन् । यस क्रममा उनले दुईवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
जारी आईपीएलमा सर्वाधिक रन बनाउने समग्र ब्याट्सम्यानको सूचिमा पनि उनी पहिलो स्थानमा आसीन छन् । उनले दिल्ली क्यापिटल्सविरुद्ध ७५ रन बनाएका थिए । लखउनका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा मिचेल मार्श रहेका छन् ।
मार्शले चार खेलमा एक सय ८४ रन बनाइसकेका छन् । उनले हालसम्म तीनवटा अर्धशतक बनाएका छन् । जारी आईपीएलमा तीनवटा अर्धशतक बनाउने उनी एकमात्र ब्याट्सम्यान पनि हुन् । उनले दिल्लीविरुद्ध ७६ रन बनाएका थिए ।
आईपीएलको यो संस्करणमा लखनउका लागि सर्वाधिक विकेट लिने बलर भने शार्दुल ठाकुर हुन् । उनलाई परिवर्तित खेलाडीका रुपमा टोलीमा समावेश गरिएको हो । उनले चार खेलमा सात विकेट लिएका छन् । उनले हैदराबादविरुद्ध ३४ रन खर्चिएर चार विकेट लिएका थिए । दिग्वेश राठीले पनि चार खेलमा ६ विकेट लिएका छन् ।
- ब्याट्सम्यानलाई साथ दिने पिच
कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबिच मंगलबारको खेल हुने ईडन गार्डेन्स स्टेडियमको पिच ब्याट्सम्यानका लागि निकै उपयोगी मानिन्छ । खेल अगाडि बढ्दै जाँदा स्पिन बलरलाई पनि यो पिचले केही सहयोग पुर्याउँछ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९५ खेल खेलिएको छ । त्यसमध्ये ३९ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित हात पारेका छन् । ५६ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् ।
छैन वर्षाको सम्भावना
लखनउ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्सबिच खेल हुने दिन मंगलबार कोलकातामा वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर घाम लाग्नेछ र चर्को गर्मी हुने बताइएको छ । तापक्रम २५ देखि ३४ डिग्री सेल्सियसको बिचमा रहनेछ ।
सम्भावित टोली
कोलकाता नाइट राइडर्स : अजिनक्या रहाणे (कप्तान), सुनिल नारिन, क्विन्टन डी काक (विकेटकिपर), अंगकृष रघुवंशी, वेंकटेश ऐयर, रिंकु सिंह, रमनदीप सिंह, आन्द्रे रसेल, हर्षित राणा, वरुण चक्रवर्ती, मोइन अली र वैभव अरोडा ।
लखनउ सुपर जायन्ट्स : ऋषभ पन्त (कप्तान तथा विकेटकिपर), मिचेल मार्श, एडेन मारक्रम, निकोलस पुरन, आयुष बडोनी, डेभिड मिलर, अब्दुल समाद, शार्दुल ठाकुर, दिग्वेश सिंह, रवी बिश्नोई, आवेश खान र एम. सिद्धार्थ ।
ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण
-
राप्रपाका ७ नेतालाई निर्मल निवास बोलाएर ज्ञानेन्द्रले गरे ‘लन्च मिटिङ’
-
विद्यालयका प्रधानाध्यापक मृत भेटिए
-
विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित होइन : महासचिव पोखरेल
-
सिराहामा नालामा डुबेर एक बालिकाको मृत्यु
-
आईपीएलका ‘कान्छा खेलाडी’ले पहिलो बलमै छक्का हाने