बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय
राप्रपा प्रदर्शन

बल्खुको प्रदर्शनलाई शान्तिपूर्ण बनाउने चुनौतीमा राप्रपा

घुसपैठ भए प्रतिकार गर्ने, ठाउँको ठाउँ कारबाही
मङ्गलबार, २६ चैत २०८१, १० : ३६
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । चैत १५ मा वर्तमान व्यवस्थाविरोधी राजावादी समूहले राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बन्न पुग्यो । उक्त हिंसात्मक प्रदर्शनको मूल आयोजक दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियान भए पनि त्यसमा बलियो साथ नवराज सुवेदी नेतृत्वको राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको पनि थियो । 

साथसाथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित अन्य राजावादी समूहको समेत साथ थियो । राजवादीदेखि दुर्गावादीसम्म एकै ठाउँमा भेला भएर गरेको उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान जानुका साथै तोडफोड, आगजनी र लुटपाटका घटना समेत भए । 

सो घटनाको चौतर्फी आलोचना भइरहेको बेला राप्रपाले राजतन्त्र फर्काउने अभियानस्वरुप मंगलबार अर्को प्रदर्शन र आमसभा गर्न लागेको छ ।  स्मरण रहोस्, राप्रपाको उक्त प्रदर्शनमा सुवेदी नेतृत्वको समितिको पनि साथ छ । 

समितिका कार्यवाहक संयोजक जगमान गुरुङले राप्रपाको प्रदर्शनमा आफूहरूको साथ रहने बताउँदै राष्ट्रिय झन्डासहित कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेका छन् । गुरुङले शान्तिपूर्ण रूपमा सक्रिय सहभागिता जनाउनका लागि आग्रह गरेका हुन् । 

राप्रपाको मंगलबारको प्रदर्शन शान्तिपूर्ण नहुन सक्ने बुझाइकै साथ स्थानीय प्रशासनले पार्टीले माग गरेको भृकुटीमण्डपमा कार्यक्रम गर्न दिएको थिएन। सुरक्षा संवेदनशीलता देखाउँदै आइतबार प्रशासनले सिफल वा बल्खु क्षेत्रमा प्रदर्शन गर्न भनेको थियो । 

भृकुटीमण्डपमा आमसभा आयोजना गर्ने गरी राप्रपाले चैत २२ मै प्रशासनलाई इमेल पठाएको थियो ।  सो पत्रका सन्दर्भमा उक्त स्थानमा कार्यक्रम आयोजना गर्न अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमहरू लगायत पूर्व निर्धारित कार्यक्रमहरू) पनि भइरहेकाले अनुमति दिन नसकिएको प्रशासनको भनाइ थियो । 

‘सुरक्षा संवेदनशीलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयअनुसार अनुरोध छ’, प्रशासनले राप्रपालाई पठाएको पत्रमा भनिएको थियो । 

‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मूल नाराका साथ वर्तमान व्यवस्था विरोधी दल राप्रपाले ‘नवीन समझदारी’का लागि भन्दै गर्न लागेको प्रदर्शन शान्तिपूर्ण बनाउनुपर्ने चुनौती छ । चैत १५ को मूल आयोजक राप्रपा नभएको परिस्थितिमा भएको घटनालाई चिर्न राप्रपाले शान्तिपूर्ण प्रदर्शन गर्दै उदाहरणीय दलको रूपमा उभ्याउनुपर्ने चुनौती पनि छ । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सरकारले सर्वसत्तावादी चरित्र देखाएर भृकुटीमण्डपमा  विरोध प्रदर्शन गर्न नदिएको उल्लेख गर्दै अब बल्खुमा मात्रै नभएर पार्टीले जहाँ प्रदर्शन गरे पनि शान्तिपूर्ण नै हुने बताए । 

‘हामीले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका हौँ । कुनै हिंसात्मक प्रदर्शन नभएकाले नियम कानुनले दिने हो भने सिंहदरबारमै अनुमति दिँदा पनि फरक पर्दैनथ्यो’, उनले भने, ‘तर सरकारले भृकुटीमण्डपमा नदिने जुन निर्णय गर्‍यो यो सर्वसत्तावादी चरित्र हो ।’

  • घुसपैठ भए प्रतिकार गर्ने

राप्रपाले आजको बागमती प्रदेशस्तरीय प्रदर्शन तथा आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको छ । 

सोमबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बल्खुमा हुने आमसभालाई शान्तिपूर्ण बनाउन हजारौँ स्वयंसेवक खटाउने र आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको हो ।

 बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भत्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौँ स्वयंसेवक खटाइने बताए । उनले मंगलबार ९ बजेबाटै कार्यक्रम स्थल स्वयंसेवकको नियन्त्रणमा हुने भन्दै राज्यपक्ष वा कसैबाट घुसपैठ र हिंसा भड्काउने प्रयास भए ठाउँको ठाउँ कारबाहीको व्यवस्था मिलाएको उल्लेख गरे । 

अध्यक्ष लिङ्देनले चैत्र १५ गते भएको प्रदर्शनमा पनि आयोजकभन्दा पनि राज्यपक्ष हिंसा भत्काउन उद्धत देखिएको जिकिर गरे । राप्रपा हिंसामा विश्वास नगर्ने भएकाले आफ्नो पार्टीले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने बताए । 

आफ्ना कुनै नेतालाई पक्राउ गर्दैमा आफूहरूको आन्दोलन कमजोर नहुने भन्दै लिङ्देनले आफूलाई पक्राउ गरे आन्दोलन अझ निर्णायक हुने चेतावनी दिए । चैत १५ को प्रदर्शनमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा हाल प्रहरी हिरासतमा छन् ।  यसैबिच राप्रपाको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था समेत चुस्त बनाउने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप