बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : मुख्यमन्त्री कँडेलको एक वर्ष

‎विश्वास जगाउन मुख्यमन्त्रीले अझै मेहनत गर्नुपर्छ

मङ्गलबार, २६ चैत २०८१, ०७ : ३२
मङ्गलबार, २६ चैत २०८१

‎‎कर्णालीमा नेकपा एमाले तेस्रो ठुलो दल हो । गठबन्धनकै कारण यामलाल कँडेलले अहिले सरकारको नेतृत्व गर्ने अवसर पाउनु भएको हो । उहाँको एक वर्षे कार्यकालको समीक्षा गर्दा दुर्ई पक्षबाट विश्लेषण गर्नुपर्ने हुन्छ । उहाँ राजनीतिक रूपमा चिनिएको, हाई–प्रोफाइल भएको नेता हो, जसका कारण उहाँको नेतृत्व पनि स्वीकार्य जस्तो छ, जुन राम्रो पक्ष हो ।

मुख्यमन्त्री कँडेलको दलमात्र हैन, अन्य दलहरूले पनि उहाँको नेतृत्व स्वीकार गरेको जस्तो देखिन्छ । ‎दोस्रो, राजधानीको नेता भएका कारण उहाँ नेतृत्वमा पुग्दा केही राम्रो गर्नुहुन्छ भन्ने सबैजसोले अपेक्षा गरेको देखिन्छ । त्यो सँगै उहाँको राजनीतिक छवि पनि ‘क्लिन’ भएको, धेरै कुरा नगर्ने, भनेको पूरा गर्नुहुन्छ भन्ने खालको ‘सेन्टीमेन्ट’ छ, यो पनि उहाँको सबल पक्ष हो ।

त्यसको अलावा यो बिचमा उहाँ प्रदेशका सबै जिल्लामा, सम्बन्धित क्षेत्रमा सांसदहरूलाई सँगै लिएर जानुभयो । त्यहाँका अवस्था बुझ्नुभयो, त्यसलाई ल्याएर सरकारको नीति तथा कार्यक्रममा समेट्ने प्रयास गरेको देखिन्छ ।

‎‎स्थानीय तथा केन्द्र सरकारसँग समन्वय गर्ने कुरामा पनि उहाँ अग्रसर भएको देखिन्छ । यी सकारात्मक पक्ष नै‌ हुन् । उहाँले बजेट बनाउन पाउनुभयो ।‌ त्यसमा पनि केही राम्रा पक्षहरूलाई समेट्नु भएको छ । यद्यपि त्यसको कार्यान्वयन भए/नभएको अर्काे कुरा हो तर नीतिगत रूपमा बजेट कार्यान्वयनका लागि बजेटमै समावेश गर्नु सकारात्मक हो ।

‎‎सानो बजेटका टुक्रे योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने भन्ने कुरा प्रतिपक्षमा हुँदादेखि नै उहाँले उठाउँदै आउनु भएको थियो । अहिले पनि त्यसमा दृढ नै‌ हुनुहुन्छ जस्तो लाग्छ । यस्तै नयाँ पञ्चवर्षीय योजना बनाउँदा योजना बैंकको कन्सेप्ट ल्याउनुभयो । योजनाहरू निर्माण गर्दा परियोजना बैंकबाटै गर्नुपर्छ भनेर उहाँले त्यो कन्सेप्ट ल्याउनु भएको होला । त्यो पनि उदाहरणीय काम नै हो । यस्तै राजधानीको विकासमा स्थानीय तहसँग समन्वय गरेर सडक पूर्वाधार, पार्कहरूमा काम भएको छ ।

‎‎तर कतिपय कामहरू गर्न नसकेको देखिन्छ । गठबन्धनको सरकार भएकाले पनि होला, कतिपय योजना लागु गर्न नसकेको देखिन्छ । अर्काे, राजनीतिमा जनतामा यामलाल कँडेल मुख्यमन्त्री भएपछि त सबै काम हुन्छ भन्ने सोचाइ हुन्छ तर संरचना, नीति, कानुनले त्यो अनुसार काम गर्न गाह्रो भइरहेको हुन्छ । जनताले अपेक्षा गरे अनुसार काम नभएपछि जनता रुष्ट हुन्छन् ।

‎‎मुख्यमन्त्री कँडेलले कतिपय ठाउँमा यो काम गर्छु भनेर प्रतिबद्धता गर्नुभयो तर त्यही नहुँदा नकारात्मक असर पर्न जान्छ । उहाँ प्रतिपक्षमा हुँदा सबैभन्दा बढी उठाएको विषय टुक्रे योजना नियन्त्रण हो तर नेतृत्वमा पुग्दा उहाँले त्यो काम रोक्न सक्नुभएन । त्यसमा विवाद खेप्नुपर्‍यो ।

‎‎त्यो बाहेक उहाँले मन्त्रिपरिषद् नियमित गर्न सक्नु भएको देखिन्न । अथवा त्यसको निश्चित दिन तोकेर नियमित बैठक बसाल्ने, एउटा सिस्टममा लैजाने कुरामा चुक भएको छ । त्यसो गर्दा विभिन्न एजेण्डामा मन्त्रिपरिषद् सदस्यहरूसँग पारदर्शी तरिकाले छलफल गर्न सकिन्छ तर त्यस्तो हुन सकेन ।

‎‎कतिपय कुरामा उहाँले ‘एक्सन’ लिन नसकेको पनि देखिन्छ । सुर्खेत विमानस्थललाई विस्तार गर्ने, प्रदेश अस्पतालको विषयमा केन्द्रसँग पनि समन्वय गरेर गर्नुपर्ने हुँदा कतिपय समन्वय राम्रोसँग नभएको होला । गठबन्धन सरकार भएर पनि समस्या हुन सक्छ ।

‎‎मुख्यमन्त्री यामलाल कँडेलले कतिपय कुरा गर्न खोजेको देखिन्छ तर कतिपय गर्नैपर्ने कुराहरूमा कमी देखियो ।

‎मन्त्रीहरूले नै मुख्यमन्त्रीले भनेको नटेर्ने, आफैँले बोलेको कुराहरू पनि पूरा गर्न नसक्ने कुरामा मुख्यमन्त्री आफैँले प्रस्टसँग जनताले बुझ्ने गरी भनिदिनुपर्छ । मैले यो–यो काम गर्ने प्रयास गरेको हो, यो–यो कारण सकिएन भनेर ‌संसद तथा जनताका बिचमा प्रस्ट पार्नुपर्छ । यदि त्यसो नगरेको खण्डमा उहाँमाथि प्रश्न उठ्ने हुन्छ ।

‎अधिकारहरू पनि प्रदेशसँग पूर्ण छैन तर जनता अहिले प्रदेश केन्द्रित बढी देखिन्छन् । प्रदेश सरकारले करोडभन्दा तलका काम गर्नु हुँदैन । ठुला रणनीतिक काम गरेर विश्वास आर्जन गर्न सक्नुपर्छ ‌। वार्षिक बजेटमा १५/२० योजना तथा कार्यक्रम राखेर काम गर्नुपर्छ । स–साना काम स्थानीय तहबाटै गर्नुपर्छ तर अहिलेको प्रवृत्ति बजेट छर्ने भयो ।‌ सांसदहरूले पनि हामीलाई बजेट चाहियो भनेर भन्छन् । ४० जना सांसदले २/२ योजना राख्ने हो भने पनि ८० हुन्छ । यो मुख्यमन्त्री, मन्त्रीभन्दा पनि प्रणालीगत समस्या हो । सबै दलको इन्ट्रेस्टमा हुने हुँदा एक्लै काम गर्न गाह्रो हुने पनि देखिन्छ ।

‎‎अर्काे तर्फबाट हेर्दा गठबन्धन संस्कृति राम्रो होइन । समर्थन दिए पनि च्याँखेदाउ खोजिरहने, एउटाको समर्थन फिर्ता भए पनि हामीसँग अरु छ भन्ने खालको भइरहेको छ । यो समग्र राजनीतिक अस्थिरताको उपज हो ।

‎‎दुर्ई वटा ठुला दलको सरकार बनाउँदा पनि केही काम गर्न खोज्यो भने ‘हामी त सहयोग गर्दैनौँ’ भन्ने देखिन्छ ।‌ यो राजनीतिको समस्या हो । च्याँखेदाउ थापिरहने, आफैँ नेतृत्वमा जान चाहने प्रवृत्तिले जनतामा विश्वास आर्जन हुन सक्दैन । पटक–पटक राजनीतिक सम्झौता तोड्ने हुँदा जनताले अविश्वास गर्दै जान्छन् । मानौँ अहिले नेपाली कांग्रेस–एमालेको गठबन्धन बनाउँदा जनतालाई प्रस्टसँग भनेका थिए– अहिले देशको आवश्यकता यो हो, राजनीतिक अस्थिरता अन्त्य गर्नुपर्छ । ०८४ को चुनावसम्म यति महिना एउटा र बाँकी समय एउटाले सरकारको नेतृत्व गर्ने भन्यो । अब त्यहाँसम्म त जानुपर्‍यो नि ! बिचमै ‘हैन, म फिर्ता लिन्छु’ भन्नुभन्दा यो–यो काम राम्रो भएन, यसरी जानुपर्छ भनेर गठबन्धनको बैठकमा भन्नुपर्‍यो । आफूले असहयोग गर्ने अनि नेतृत्व असफल भयो भन्ने प्रवृत्ति छ, यो नकारात्मक कुरा हो ।

‎‎मुख्यमन्त्री यामलाल कँडेलले कतिपय कुरा गर्न खोजेको देखिन्छ तर कतिपय गर्नैपर्ने कुराहरूमा कमी देखियो । जस्तो संरचनालाई चुस्त, दुरुस्त बनाउनका लागि उहाँले केही निर्णय लिन सक्नुहुन्छ । जस्तो ओएनएम गर्ने विषयहरू पनि छ । कतिपय निष्प्रभावी संरचना पनि छन् । त्यस्ता संरचनालाई खारेज गर्न पनि सकिन्छ । सेवा प्रवाहको हिसाबले पनि प्रदेशका कतिपय संरचना सबै जिल्लामा पुर्‍याउन सकिन्छ ।

संविधानमा उल्लेख भएका, प्रदेश सरकारले गर्न सक्ने एकल अधिकारभित्र पर्ने विषयमा उहाँले प्रभावकारी रूपमा काम गर्न अझै पहल गर्नुपर्दछ ।

‎(‎मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तथा विश्लेषक कमलराज लम्सालसँग रातोपाटीका लागि पंखबहादुर शाहीले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमलराज लम्साल
कमलराज लम्साल
लेखकबाट थप