आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले चौथो हार बेहोरेको छ । घरेलु मैदानमा मुम्बई रोयल्स च्यालेन्जर्स बैंग्लुरुसँग १२ रनले पराजित भएको हो । पाँचपल्टको आईपीएल च्याम्पियन मुम्बईलाई हराएको बैंग्लुरुले चार खेलबाट ६ अंक बटुलेको छ ।
बैंग्लुरु तेस्रो स्थानमा यथावत छ । समान खेलबाट दुई अंक जोडेको मुम्बई आठौं स्थानमा छ । घरेलु मैदानमा बैंग्लुरुले दिएको २२२ रनको चुनौति पछ्याएको मुम्बईले नौ विकेट गुमाएर जम्मा २०९ रन मात्रै बनायो । तिलक बर्मा र कप्तान हार्दिक पाण्ड्याको आक्रामक ब्याटिङका बाबजुद पनि मुम्बईले हारको सामना गर्नु पर्यो । तिलकले सर्वाधिक ५६ रन बनाए । २९ बल खर्चिएका उनले चार चौका र चार छक्का प्रहार गरे ।
पाण्ड्याले १५ बलमा तीन चौका र चार छक्का प्रहार गरे । यी दुईले पाँचौं विकेटका लागि ३४ बलमा ८९ रनको साझेदारी गरे । तर, हार टरेन । मुम्बईले अन्तिम तीन ओभरमा चार विकेट गुमाइसकेको थियो । विल ज्याक २२ रनमा आउट हुँदा रोहित शर्मा र र्यान रिकेल्टनले समान १७ रनको योगदान दिए ।
बलिङतर्फ बैंग्लुरुका क्रुनाल पाण्ड्या एक्लैले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ४५ रन खर्चिएका थिए । यश दयाल र जोश हजलवुडको नाममा समान दुई विकेट रह्यो ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२१ रन बनाएको थियो । जहाँ, ओपनर विराट कोहलीले सर्वाधिक ६७ रन बनाए । ४२ बल खर्चिएर उनले आठ चौका र दुई छक्का प्रहार गरे ।
जारी प्रतियोगितामा उनले बनाएको यो नै सर्वाधिक रन हो । यसअघि उनले कोलकाता नाइट राइडर्सविरुद्ध अविजित ५९ रनको पाली खेलेका थिए । कप्तान रजत पाटिदारले ३२ बलमा पाँच चौका र चार छक्कासहित ६४ रन बनाए । देवत्त पडिक्कर ३७ रन जोडेर आउट हुँदा जितेश शर्मा ४० रनमा नटआउट रहे । मुम्बईका ट्रेन्ट बोल्ड र कपतान हार्दिक पाण्ड्याले समान दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल