डढेलोले सखाप हुँदै जङ्गल

तानसेन । लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ ।
अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । डढेलोले वयस्क र पुराना रुख पनि नष्ट गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए ।
चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रुख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गरेको प्रमुख भट्टराईले बताए । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेकाले उच्च सर्तकता अपनाउन उनले सबैलाई आग्रह गरे ।
यसपाली हिउँदे वर्षा नभएकाले डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगतको अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपाली हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् ।
विशेषगरी जङ्गल नजिकैका बस्तीका नागरिक आगो लाग्नासाथ चिन्तित हुने गर्दछन् । जङ्गलमा लागेको आगो घरमा आउने डरले स्थानीय चिन्तित भएका छन् । वसन्त र ग्रीष्म ऋतु विशेषगरी डढेलो जोखिमको समय मानिन्छ । डढेलोका कारण वर्षभरि भएको हरियाली वन क्षणभरान नष्ट हुन्छ । यस वर्ष पनि गर्मी मौसम सुरु हुनासाथ डढेलोेका घटनाहरू बढेका वन प्रमुख भट्टराईले उल्लेख गरे ।
केही दिनयता जिल्लाका तिनाउ गाउँपालिका(३ झुम्साको खुलखुले सामुदायिक वन, झुम्साको वसन्तपुर नजिक ओढारखोला, सरागखोला, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वन, झिँगामारा, रिङ्सिङ वन, तिनाउ गाउँपालिका(२ को सुकेताल र खुर्साने नजिकैको जङ्गल, रम्भा गाउँपालिकाअन्तर्गत पर्ने रिमिघा डाँडा जङ्गल, रिब्दीकोट गाउँपालिकाको पालुङ सामुदायिक वनलगायत जङ्गलमा डढेलो लागिरहेको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ ।
हालसम्म जङ्गलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको जनाउँदै प्रमुख भट्टराईले १६ वटा घरगोठ जलेका बताए । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले मातहतका कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घ, सामुदायिक वन, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकायले दैनिकजसो नियन्त्रणको प्रयास गरे पनि सफल हुन नसकेका जनाइएको छ । सुक्खा मौसम तीव्रगतिमा चलेको हावाहुरी, चुरे तथा महाभारत क्षेत्रको भू(बनोटले गर्दा डढेलो नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयले जनाएको छ ।
दमकलले बस्ती नजिकेको आगो निभाए पनि जङ्गलको आगो भने नियन्त्रण गर्न नसकिएको वन कार्यालय प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वडाका वन, जङ्गल डढेलोको उच्च जोखिममा छन् भने २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३.४४ अंकले घट्यो नेप्से, घट्यो कारोबार
-
रोनाल्डोको होटलमा आगलागी
-
बल्खुबाट राप्रपाको खबरदारी : भातपानी बन्द गर्नेदेखि बंगलादेश र श्रीलंका बनाउने चेतावनी !
-
त्रिविका उपकुलपति बरालको राजीनामा सनाखतपछि स्वीकृति गरिने
-
रवि थुनामा गएपछि रास्वपाले बोलायो सचिवालय बैठक
-
महाकालीमा बाँध निर्माण नहुँदा जोखिममा बस्ती