चक्रपथको दोस्रो खण्डअन्तर्गत कलंकी–महाराजगञ्ज विस्तार गर्न चिनियाँ टोली आउँदै
_5kgk39jm7o_r7wJ8YiQ0a.jpg)
काठमाडौँ । करिब सात वर्षदेखि अस्तव्यस्त चक्रपथ दोस्रो खण्ड कलंकी–महाराजगञ्ज विस्तार कार्य अघि बढ्ने भएको छ । यो खण्ड विस्तारका लागि चिनियाँ टोली यसै साता नेपाल आउन लागेको नेपालका लागि चिनियाँ राजदूत चेन सङले रातोपाटीलाई जानकारी दिएका छन् ।
राजदूत सङले चक्रपथ विस्तारका साथै अन्य योजनामा काम गर्न चिनियाँ टोली नेपाल आउन लागेको बताएका हुन् । जनावरीमा यो खण्ड डिजाइनका लागि कम्पनी छनोट गर्न भन्दै चीन सरकारले बोलपत्र आह्वान गरेको थियो । अहिले भने डिजाइन गर्ने कम्पनी छनोट गरिसकेको चक्रपथ सडक विस्तार योजना कार्यालयका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।
‘डिजाइनका लागि कम्पनी छनोट भएको भन्ने हामीले सुनेका छौँ । तर चिनियाँ टोली नेपाल आउँदै छ भन्ने हामीकहाँ जानकारी आएको छैन,’ उनले भने, ‘कम्पनीको टुंगोपछि डिजाइन गर्न आउने त होला, तर कहिले आउनेबारे जानकारी छैन । आउने भए खबर गर्लान् ।’
डिजाइन गर्ने कम्पनी यो हो भन्नेबारे अफिसियल रूपमा समेत जानकारी नआएको उनको भनाइ छ । संघीय राजधानीकै सडकको करिब ७ वर्षदेखि अवस्था अस्तव्यस्त छ । सडकमा सर्भिस लेन बनाउने भन्दै सडक भत्काएर अलपत्र पारिएको छ । जसका कारण धुलो हिलोका साथै दुर्घटनाको जोखिम समेत बढेको छ । सडकको दूरवस्थाले कलंकीदेखि बसुन्धरासम्मको खण्डमा व्यापार व्यवसाय नै पलायन हुने अवस्था आएको व्यवसायीहरूले बताउँदै आएका छन् । सडककै कारण आसपास र बाटो भएर हिँड्नेहरूको स्वास्थ्यमा असर परिरहेको छ ।
सर्भिस लेनको काम अन्तिम चरणमा
चक्रपथ दोस्रो खण्ड (कलंकी–चाबहिल खण्ड) विस्तार गर्ने भनिए पनि महाराजगञ्जमा जग्गा प्राप्तिमा समस्या भएपछि बसुन्धरा पुलसम्म मात्र विस्तारको तयारी भएको छ । सो सडकको दूरी ८.२ किलोमिटर छ ।
यस खण्डमा नेपाल सकारको तर्फबाट निर्माण गर्ने सर्भिस लेनको काम अन्तिम चरणमा पुगेको योजना प्रमुख ओझा बताउँछन् ।
‘हामीले गर्नुपर्ने सम्पूर्ण तयारी गरिसकेका छौँ । सडक विस्तारका लागि सम्पूर्ण तयारी सकिएकाले अब सडक विस्तारको काम बाँकी छ,’ उनले भने, ‘सर्भिस लेन निर्माण र खाल्डाखुल्डी पुर्ने तथा धुलो न्यूनीकरण गर्ने कार्य भइरहेको छ ।’
चक्रपथको दोस्रो खण्ड विस्तारका लागि २०७५ सालमै सम्झौता भएको थियो । यससँगै आयोजनाले २०७५ जेठ १४ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनिएको थियो । र सोहीवेला हटाइएको पनि थियो । तर विश्वभर फैलिएको कोभिड १९ का कारण निर्माणको काम भने अघि बढ्न सकेन ।
चीनले निर्माण गरिदिने भने पनि कसरी निर्माण गर्ने अध्ययन भएको थिएन । २०७९ फागुनमा पनि दुई महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली नेपाल आएको थियो । तर उक्त टोलीले अध्ययन गरे पनि रिपोर्ट निकालेन ।
२०८१ भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिबिच सडक विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । नेपालका तर्फबाट अर्थ सचिव डा. रामप्रसाद घिमिरे र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष याङ वेइहुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यससँगै २०८१ मंसिर १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ लगायतसँग बेइजिङमा भेटवार्ता गरेका थिए । उच्चस्तरीय भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यको बुँदामा काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति जनाइएको थियो ।
तेस्रो खण्ड चीनले नबनाउने
यसअघि चीनले चक्रपथको कोटेश्वर–कलंकी पहिलो खण्ड विस्तार गरेको थियो । उक्त खण्ड विस्तार कार्य २०६९ मा सुरु भएको थियो । करिब ६ वर्ष अवधिमा २०७५ मा सडक विस्तार सम्पन्न गरेको थियो ।
यस खण्डको दूरी कोटेश्वरदेखि कलंकीसम्म १०.३९ किलोमिटर छ । ८ लेनको यो सडक विस्तारको लागत चीन सरकारले बेहेरोको थियो । यसको लागत करिब ५ अर्ब रहेको छ । यस सडक खण्डको विस्तारसँगै कलंकीमा जाम घटेको छ । यसैगरी चक्रपथको तेस्रो खण्ड नेपाल सरकार आफैले विस्तार गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स
-
मन्त्रिपरिषद्ले पारित गर्यो वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक