सार्वजनिक सवारीलाई जीपीएस प्रणालीमार्फत ट्र्याकिङ गर्दै सरकार

काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जीपीएस) प्रणाली लागू गर्ने भएको छ ।
विगत लामो समयदेखि चर्चा हुँदै आएको तर हालसम्म लागू हुन नसकेको अवस्थामा अब भने सरकार तीव्रताका साथ लागि परेको हो । यातायात व्यवस्था विभागका अनुसार सम्पूर्ण सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली जडान गर्नेगरी काम अगाडि बढेको छ ।
सवारी साधनको नियमन तथा सवारी साधन दुर्घटनापश्चात् खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन जीपीएस प्रणाली अनिवार्य गर्न लागिएको विभागले जनाएको छ ।
जीपीएस प्रणाली जडान गर्न आवश्यक कार्यविधि बनाउनको लागि समिति बनाएर तयारी थलिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए । उनले समितिले एक महिनाभित्रै प्रतिवेदन बुझाएपछि कार्यान्वयन गरिने बताए ।
‘जीपीएस प्रणाली मात्रै छैन । त्यसमा विभागले सार्वजनिक सवारी साधनलाई डिजिटललाइज गर्ने, डिजिटल भुक्तानी, डिजिटल टिकट,यातायात सुरक्षा र एफआर समेत समावेश गर्ने कुरा छन्,’ महानिर्देशक पोखरेलले भने, ‘विभागले भर्खरै कमिटी बनाएको छ । त्यो कमिटीले प्रतिवेदन दिएपछि कार्यान्वयनमा जान्छौँ ।’
महानिर्देशक पोखरेलका अनुसार समितिले प्रतिवेदन दिएपछि विभागले कार्यान्वयनमा लैजाने छ । समितिले दिएपछिको प्रतिवेदनको एक महिनाभित्र विभागले लागू गर्नसक्ने उनको भनाइ छ ।
यातायात व्यवस्था विभाग सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन, यातायात र सवारी मापदण्ड निर्धारण शाखाका निर्देशक श्रीकान्त यादवले सार्वजनिक सवारी साधनबाट हुने दुर्घटना न्यूनीकरणका लागि सम्पूर्ण सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली जडान गर्न लागिएको बताए । उनले करिब एक वर्षअघि नै काठमाडौँ–पोखरा र काठमाडौँ–वीरगन्जको रुटमा चल्ने केही सवारीमा परीक्षणको रूपमा जीपीएस प्रणाली जडान गरिसकेको उल्लेख गरे ।
‘जीपीएस प्रणालीको प्रभावकारिताको विषय दुर्घटनाको समयमा मूल्याङ्कन हुन्छ । केही सवारी साधनमा मात्र यो प्रणाली जडान गरिएको छ । त्यसले मात्रै वास्तविक प्रभावकारिता हामीले नै मूल्याङ्कन गरेको अवस्था छैन’, निर्देशक यादवले भने, ‘अन्य देशका अभ्यास तथा विभिन्न अध्ययनलाई मध्यनजर गर्दै सार्वजनिक सवारीमा डिजिटल मैत्री यातायात सहितको जीपीएस प्रणाली लागू गर्ने तयारी छ । अन्य देशमा भएको प्रभावकार अनुरूप विभागले पनि प्रक्रिया अगाडी बढाएका छौँ ।’
सरकारले सार्वजनिक सवारी साधनमा जीपीएस लागू गर्ने प्रक्रिया अगाडि बढाउनु सकारात्मक भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । सवारी साधन दुर्घटना न्यूनीकरण गर्नको लागि सरकारले पहिला नै लागू गर्नु पर्ने भएपनि ढिला भएको उनको भनाई छ । उनले सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउने जीपीएस लागू गर्दा व्यवसायीहरू तयारी अवस्थामा रहेको बताए ।
‘यातायात व्यवसायीहरू जीपीएस प्रणाली जडान गर्न तयारी छौँ । जीपीएस,अनलाइन टिकट, डिजिटल भाडा लागू गर्न व्यवसायीहरू तयार छन्’, वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुई वटा बस खसेको घटनाको अध्ययन प्रतिवेदनले पनि जीपीएस लागू गर्न भनेको छ । प्रतिवेदनले सडकमा ‘एकीकृत सूचना प्रणाली प्रयोगमा ल्याउनु पर्ने भनेको छ । त्यही आधारमा जीपीएस प्रणाली अनिवार्य भएको छ ।’
- डिजिटल भुक्तानी र अनलाइन टिकट
जीपीएस प्रणालीसँगै विभागले अनलाइन टिकटको समेत व्यवस्था गरी सार्वजनिक सवारी साधनलाई डिजिटल रूपमा व्यवस्थापन गर्ने तयारी गरेको महानिर्देशक पोखरेलले बताए । त्यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले जीपीएस प्रणालीसँगै सार्वजनिक यातायात क्षेत्रलाई डिजिटलाइज गर्नु आवश्यक रहेको बताए । उनले त्यसको लागि सरकारले वातावरण बनाउनु पर्नेमा जोड दिए । सरकारले जीपीएस प्रणाली लागु गरेसँगै यातायात व्यवसायीहरू डिजिटल भुक्तानी र अनलाइन टिकटमा जान तयार रहेको उनको भनाइ छ ।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागु गरी सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित र पहुँचयोग्य बनाउने घोषणा गरेको थियो ।
२०७७ सालमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सार्वजनिक यातायातको अनुगमन गर्न अनलाइन मोनिटरिङ सिस्टम लागू गरेका थिए । विशेष गरी लामा दूरीका सवारीमा लागू हुने गरी विभागले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम सुरु गरेको थियो ।
त्यस्तै, विभागले २०७८ मा काठमाडौँ–जनकपुर, काठमाडौँ वीरगन्ज र काठमाडौँ–पोखरामा चल्ने १०० वटा सार्वजनिक यात्रु वाहक सवारी साधनमा निःशुल्क जीपीएस डिभाइस जडान गरी सञ्चालनमा ल्याउने भनिए पनि प्रभावकारी कार्यान्वयन भएको छैन ।
सरकारले अघि सारेको राष्ट्रिय यातायात नीति,२०८१ मा समेत सार्वजनिक सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीले ट्राकिङ प्रणाली लागु गरिने उल्लेख गरिएको छ ।
- जीपीएस प्रणाली लागू अघि कार्यविधि आवश्यक
जीपीएस प्रणाली लागू गर्नका लागि कार्यविधि बनाउनु पर्ने यातायात व्यवसायीहरूको माग छ । सरकारले कुन मापदण्डमा जीपीएस प्रणाली जडान गर्दा सडक दुर्घटना न्यूनीकरण हुन्छ भन्ने विषयमा स्पष्ट रूपमा कार्यविधिले समेट्नु पर्ने व्यवसायीहरू बताउँछन् । महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले जीपीएस लागू गर्नु अघि सरकारले कार्यविधि बनाउन जरुरी रहेको बताए ।
तर, सरकारले अहिलेसम्म कार्यविधि बनाउन नसकेको उनले उल्लेख गरे । सरकारले जीपीएस प्रणाली जडान गर्ने भनेर धेरै समय पहिला पनि बारम्बार भन्दै आएपनि कार्यविधि बनाउन नसक्दा अहिलेसम्म काम गर्न उनको भनाइ छ ।
‘सरकारले जीपीएस जडान गर्न कार्यविधि बनाई दिनुपर्छ । कुन मापदण्ड अनुसार व्यवसायीहरूले जडान गर्ने हो । सरकारले मापदण्ड कार्यविधि बनाएको छैन । राज्यले किन कार्यविधि बनाउन सकेको छैन ? सरकारले कार्यविधि बनाए यातायात व्यवसायीहरू तयार छन्’, वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘सरकारले जीपीएस प्रणाली जडान गर्ने मापदण्ड बनाए त्यही अनुसार सबै सार्वजनिक सवारी साधन प्रवेश गर्छन् । यातायात व्यवसायीहरू जीपीएस सफ्ट्वेयर प्रणालीका विषयमा जानकार हुँदैनन् । कार्यविधि बनाए तत्काल जडान गर्न व्यवसायीहरू तयार छन् ।’
यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलले जीपीएस प्रणालीका विषयमा प्रतिवेदनसँगै कार्यविधि पनि आउने बताए । उनले समितिले कार्यविधि सहित प्रतिवेदन एक महिनामा बुझाउने गरी गठन भएको दाबी गरे ।
महानिर्देशक पोखरेलले प्रणाली जडानले सडक दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्ने भएकाले चाँडै लागू गर्ने तयारी स्वरूप विभागले काम थालनी गरेको बताए ।
उनले भने,‘लामो समय देखि लागू गर्ने गरी जीपीएस भेहिकल ट्र्याकिङ प्रणालीको सफ्टवेयर समेत तयारी गर्ने गरी समिति गठन भएको छ । जीपीएस भेहिकल ट्रयाकिक प्रणालीको सफ्टवेयर तयार गर्नेगरी समितिले कार्य अघि बढाएको छ ।’
- जीपीएस प्रणाली जडान गर्दा हुने फाइदा
जीपीएस जडान खासगरी सवारी साधनको गति, अवस्था र स्थानको जानकारी लिन गरिने हो । सवारी साधनको निगरानी गर्न जीपीएस प्रणाली जोड्न लागिएको छ । जीपीएस जडान गरिएपछि दुर्घटना न्यूनीकरण हुने दाबी सरकारको छ ।
तीव्र गतिका कारण दुर्घटना हुँदै आएकोमा गति तीव्र भएको खण्डमा तुरुन्त चालकलाई म्यासेज मार्फत सचेत गर्न सकिने छ । त्यसरी चालकको निगरानी हुने र चालकको व्यवहार परिवर्तन हुनुका साथै अटेर गरे कारबाहीसम्म सरकारले गर्न सक्छ ।
त्यस्तै गाडी कहाँ छ भन्ने कुराको जानकारी प्राप्त हुने र यात्रुले पनि प्रयोग गर्न मिल्ने गरी जीपीएस लागू गरिने छ । यात्रुले आफू जाने स्थान र रुट अनुसार टिकट बुक गर्नसक्ने तथा गाडीको अवस्था वा गाडी कहाँ छ भनेर हेर्न सक्ने छन् ।
यो प्रणाली लागू भएसँगै कुन सार्वजनिक सवारी साधन कता छ, कतिको गतिमा गुडिरहेको छ भन्ने कुरा पनि थाहा हुने छ । त्यसले यातायात व्यवसायीहरूलाई फाइदा हुने व्यवसायी सिटौला बताउँछन् । उनले जीपीएससँगै डिजिटललाइज भएपछि समय बचत गराउँछ भने लाइन लागेर बस्नु पर्ने अवस्थाको अन्त्य हुने बताए । उनका अनुसार चोरी डकैती, यात्रु भाडामा ठगिने अवस्थाको पनि अन्त्य हुने छ ।
विभागका प्रवक्ता गणेशमान सिं राईले नयाँ प्रणालीले सडक र यातायात सुरक्षालाई राम्रो हुने बताए । उनले विश्वका धेरै देशमा जीपीएस प्रणालीले सार्वजनिक यातायात प्रणाली व्यवस्थित बनाउने काम गरेको भन्दै नेपालमा पनि व्यवस्थित बन्ने विश्वास रहेको उल्लेख गरे ।
प्रवक्ता राईले यातायात व्यवसायी र सरकार दुबैलाई सार्वजनिक सवारी साधन व्यवस्थापनमा फाइदा हुने दाबी गरे ।
सवारी साधनमा जीपीएस जडानपछि ट्राफिक प्रहरीलाई ट्र्याकिङ गर्न, गतिको जानकारी हुनुका साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने विभागको विश्वास छ ।
- निजी सवारी साधनमा के हुन्छ ?
सरकारले यसअघि नै सार्वजनिक र निजी सवारी साधनमा जीपीएस प्रणाली जडान गर्ने तयारी गरेको थियो । तर मोटरसाइकल तथा निजी सवारी साधनमा समेत जीपीएस प्रणाली जडान गर्दा गोपनीयता भङ्ग हुने भन्दै विरोध भएको थियो । सरकारको उक्त निर्णय लागू गर्न अदालतमा मुद्दा परेको थियो ।
अदालतले पनि गोपनीयता भङ्ग हुने गरी निजी सवारी साधनमा जीपीएस प्रणाली लागु नगर्न आदेश दिएको छ । अदालतको आदेश अनुसार सरकारले निजी सवारी साधनमा जीपीएस जडान नगर्ने भएको छ । सडक सुरक्षा र दुर्घटना न्यूनीकरणको लागि भन्दै जीपीएस प्रणाली जडान गर्ने तयारीमा थियो । अब सरकारले सार्वजनिक यातायात, ढुवानी र ट्याक्सीहरूमा भने जीपीएस प्रणाली जडान गर्ने तयारी गरेको हो ।
- के हो जीपीएस प्रणाली ?
पृथ्वीको कुनै पनि ठाउँमा गएर पनि आफैले आफ्नो लोकसन थाहा पाउनसक्ने सम्भव गराउने प्रविधि जीपीएस हो । जीपीएसको मद्दतले आफ्नो स्थान ट्याक गर्न सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्न सकिन्छ । यो अहिलेको संसारमा एकदमै महत्वपूर्ण बन्दै गएको छ ।
ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) एक अन्तरिक्ष–आधारित उपग्रह नेभिगेसन प्रणाली हो, जसले सबै मौसम परिस्थितिहरूमा स्थान र समय जानकारी प्रदान गर्दछ । जीपीएसको मद्दतले, सवारी साधन जस्ता उपकरणको स्थान जुनसुकै बेला ट्याक गर्न सकिन्छ ।
ग्लोबल पोजिसनिङ सिस्टम संयुक्त राज्य अमेरिकाले बनाएको हो । तर अमेरिकाले बनाए पनि आज जीपीएस प्रयोग जो कोहीले स्वतन्त्रपूर्वक प्रयोग गर्न सक्छन् । जीपीएस एक उपग्रह–आधारित नेभिगेसन प्रणाली हो, जुन अमेरिकी रक्षा विभागद्वारा राखिएको २४ उपग्रहहरूको नेटवर्कबाट बनेको छ ।
जीपीएसले संसारको कुनै पनि ठाउँमा, जुनसुकै मौसममा २४ घण्टा काम गर्दछ । जीपीएस प्रयोग गर्न कुनै शुल्क वा सेटअप शुल्क तिर्नु पर्दैन । जीपीएस सेवा निःशुल्क प्रयोग गर्न सकिन्छ । २७ अप्रिल १९९५ देखि सुरु यो प्रणालीको प्रयोग अहिले व्यापक रूपमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण