मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

भारत नेपालमा गणतन्त्रको पक्षमा छ : सभापति देउवा

सोमबार, २५ चैत २०८१, १६ : ४२
सोमबार, २५ चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा प्रजातन्त्र ल्याउन भारतीय नेता चन्द्रशेखरको ठुलो योगदान रहेको बताएका छन् । उनले चन्द्रशेखर र गणेशमान सिंहबिच राम्रो सम्बन्ध रहेको र त्यो सम्बन्धले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निकै सहयोग प्राप्त भएको बताए ।

सोमबार गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘चन्द्रशेखरजी नेपालमा आएपछि नेपाली आन्दोलनकारीमा निकै उत्साह थपिएको थियो र त्यसपछि देशमा ठुलो आन्दोलन भएको थियो ।’

नेपालमा राजा ल्याउन भारतको हात रहेको भन्ने आशङ्का भ्रम मात्र रहेको बताउँदै यसबारे भारतीय दूतावासले भारतको कुनै हात नरहेको स्पष्ट पारिसकेको उनले बताए । नेपाली जनताले जे चाहन्छन् त्यसमा भारतको समर्थन रहने कुरा स्पष्ट पारिसकेको बताउँदै देउवाले भारत नेपालको गणतन्त्रको पक्षमा छ भन्ने आफूलाई विश्वास लागेको बताए ।

सभापति देउवाले भने, ‘नेपाल भारतबिच यस्तो सम्बन्ध छ कि पासपोर्टको आवश्यकता पर्दैन । नेपाल भारतबिचको सम्बन्धमा केही समस्या छैन । केही समस्या छ भने त्यसलाई छलफल गरेर समाधान गर्न सकिन्छ ।’ 

नेपाल र भारतबिच रोटी बेटीको सम्बन्ध रहेको बताउँदै उनले दुई देशबिचको सम्बन्ध त्यसैगरी अगाडि बढ्ने बताए । ‘कतिपय कुरामा नेपालले बढी आशा गर्नु स्वाभाविक कुरा हो, त्यसमा भारतले अन्यथा लिनुहुँदैन, नेपाल भारतको खिलाफमा कहिल्यै छैन ।’

थाइल्यान्डमा नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीबिच भेटघाट भएको बताउँदै उनले त्यसले पनि दुई देशको सम्बन्धलाई बलियो बनाएको दाबी गरे । भारतले नेपालका प्रधानमन्त्रीलाई निम्तो दिएर बोलाएमा चाँडै भारत भ्रमण हुने समेत स्पष्ट पारे ।

फाउन्डेशनका अध्यक्ष एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा प्रजातन्त्र ल्याउन चन्द्रशेखरले खेलेको भूमिकाको बारेमा चर्चा गरे ।

भारतीय जनता दल युनाइटेडका नेता केसी त्यागीले भारतका नेता चन्द्रशेखरको नेपालसँग बेग्लै सम्बन्ध रहेको बताए ।

नेपाल– भारतबिचको सम्बन्ध बनाउनमा चन्द्रशेखरले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उनले भारतका अन्य नेताहरूले पनि नेपाल र भारतको सम्बन्ध बनाउनमा भूमिका खेलेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप