मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक : के-के गर्‍यो निर्णय ?

सोमबार, २५ चैत २०८१, १६ : ३०
सोमबार, २५ चैत २०८१

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालको सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विभिन्न निर्णयहरु गरेको छ । 

बैठकले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनालाई अराजक र हिंसात्मक बनाउन सरकार स्वयंले नियोजित षडयन्त्र गरेको निष्कर्ष निकालेको छ । 

तीनकुने घटनामा गोली काण्ड, सविन महर्जन र पत्रकार सुरेश रजकको दुस्खद मृत्यु, म्याद गुज्रिएको टियर ग्यासको प्रयोग, लुटपाट, आगजनी र प्रशासनिक दमनका बारेमा निष्पक्ष छानविनको लागि उच्चस्तरिय न्यायिक आयोग गठन गर्न समेत राप्रपा नेपालले माग गरेको छ । 

त्यस्तै चैत १५ गते कुनै अराजक गतिविधिमा संलग्न नरहेका बरु परिस्थितिलाई नियन्त्रण भन्दा बाहिर जान नदिन तथा भिडलाई संयमित हुन सार्वजनिक आह्वान गरिरहेका डा.धवल शमसेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्र राजभण्डारी, आशिष तामाङ लगायतलाई झुठा मुद्दा लगाई थुनामा राखिएका सबैलाई तत्काल रिहा गर्न समेत राप्रपा नेपाल सरकारसँग माग गरेको छ । 

त्यस्तै बैठकले हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको पुनस्स्थापना गर्न तथा विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन डा.जगमान गुरुङको संयोजकत्वमा गठन भएको संयुक्त जनआन्दोलन समितिलाई राप्रपा नेपालले पूर्ण रूपले सहयोग र समर्थन समेत गरेको छ ।  

उक्त समितिले आयोजना गर्ने सबै कार्यक्रममा सहभागी हुन राप्रपा नेपाल पार्टीका कार्यकर्ता,सहयोगी र शुभचिन्तकहरुमा राप्रपा नेपाल आग्रह समेत गरेको छ । 

योजनावद्ध र संगठित रुपले राजा, हिन्दुराष्ट्रको मान्यता र राजसंस्था सहितको प्रजातन्त्रको बिचारलाई बदनाम गर्ने, निषेध गर्ने तथा उक्त बिचारका पक्षधरहरुलाई हतोत्साहित तुल्याउने षडयन्त्र भइरहेकोले यो अवस्थामा आफ्नो बिचारको प्रतिरक्षाको निम्ति सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी र प्रजातन्त्रवादी एकतावद्ध हुन राप्रपा नेपाल अपिल समेत गरेको छ ।

यस्तै बैठकले डा.जगमान गुरुङको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत २७ गते बुधवार आयोजना गर्ने प्रतिवद्धता सभालाई सफल बनाउन राप्रपा नेपालले सक्रिय सहयोग गर्ने निर्णय समेत बैठकले गरेको छ । 

उक्त सभामा सहभागी हुन सम्पूर्णमा आह्वान समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप