मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

नेपाल र बेलायतमा मञ्चन हुँदै नाटक ‘भीमसेन थापा’

सोमबार, २५ चैत २०८१, १५ : ३४
सोमबार, २५ चैत २०८१

काठमाडौँ । युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित नाटक अब मञ्चन हुने भएको छ ।

नाटक बेलायत र नेपालका विभिन्न सहरमा मञ्चन हुन लागेको हो । सनम कुमार बैराग नाटकका परिकल्पना तथा निर्देशक रहेका छन् । 

बेलायतमा अप्रिल २६ देखि मे महिनाभर लन्डन, रिडिङ, विलविच, अल्डरसट, स्कटल्यान्डलगायत विभिन्न सहरहरूमा नाटक मञ्चन हुनेछ । नेपालमा भने काठमाडौँको मण्डला थिएटरमा २०८२ को दसैँ तिहारपछि हुनेछ । काठमाडौँको प्रदर्शनपछि पोखरा, चितवन, बिर्तामोड, धरानलगायत सहरमा नाटक मञ्चन हुने निर्देशक बैरागले बताए । 

नेपालको इतिहासमा भीमसेन थापा एउटा यस्तो नाम हो, जसले देशको राजनीतिक, सामाजिक, र सैनिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी नेपालको पहिलो प्रधानमन्त्री थिए, जसले राष्ट्रको संरक्षण र स्वाधीनताका लागि अनगिन्ती सङ्घर्ष गरे । नाटकमा भीमसेन थापाको भूमिका निर्देशक बैराग आफैले निर्वाह गर्दैछन् । नाटकको सह निर्मातामा दिल घले रहेका छन् । 

करिब चार दशक नेपाली रंगमञ्चमा सक्रिय निर्देशक बैराग पछिल्लो समय लन्डन बस्दै आएका छन् । उनले केही अगाडि फिल्म ‘कैदीको पत्र’ समेत निर्देशन गरेका थिए । 

यसअघि बैरागले २०१६ देखि बेलायतमा ‘समय दृश्य’ र ‘जिगिशा’ मञ्चन गरेका थिए । ‘भीमसेन थापा’ पनि यसअघि बेलायतमा मञ्चन भएको थियो । अहिले पुनः मञ्चन हुन लागेको निर्देशक बैरागले बताए ।

नाटकका लागि संगीतकार तारा प्रकाश लिम्बूले संगीत भरेका छन् । नृत्यको संयोजन कोरियोग्राफर चरण प्रधानले गर्नेछन् । नाटकमा सामन्ता तामाङ, सुरेश श्रेष्ठ, गोपाल बस्नेत र सुशन गुरुङ लगायतको अभिनय रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप