२०४६ को जनआन्दोलनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्वपूर्ण : महत

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले नेपालमा २०४६ मा भएको जनआन्दोलन सफल बनाउनमा भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरको निकै महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपालका शुभचिन्तकमध्ये चन्द्रशेखर महत्त्वपूर्ण नेता रहेको बताउँदै उनले २०४६ को आन्दोलनमा नेपालमैमा आएर गणेशमान सिंहको घरमा भाषण दिएर ठुलो योगदान दिएको बताए ।
सोमबार गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान विषय अन्तरक्रिया कार्यक्रममा उनले भारतमा प्रधानमन्त्री हुँदा नेपाललाई निकै सहयोग भएको बताउँदै बिपी कोइरालासँगको सम्बन्धलाई अहिले पनि आफूहरूले स्मरण गरेको बताए ।
बीपीको मृत्यु हुँदा चन्द्रशेखर नेपालमै रहेका र त्यसबेला उनले नेपाली कांग्रेसका विद्यार्थी नेता तथा अन्य सङ्गठनको प्रशंसा गरेको समेत बताए । कांग्रेसका जस्ता कार्यकर्ता भएको भए भारतमा धेरै कुरा गर्न सक्ने भन्ने चन्द्रशेखरको भनाई स्मरण गर्दै नेता महताले चन्द्रशेखर नेपालको ठुलो शुभचिन्तक रहेको स्मरण गरे ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता महतले नेपाल भारतको सम्बन्ध बलियो बनाउन दुवै देशका नेताहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए । चन्द्रशेखरको प्रेरणाले नेपाल भारतको सम्बन्ध झन् बलियो हुने धारणा उनले राखे ।