सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

शिक्षकका जायज माग सम्बोधन गर्न तयार छौँ : प्रधानमन्त्री

सोमबार, २५ चैत २०८१, १५ : ०३
सोमबार, २५ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन अवस्था अझै पार भैनसकेको बताएका छन् । सोमबार काठमाडौँमा भएको  ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

‘सङ्क्रमणकालीन अवस्था अझै पार भैसकेको छैन भन्ने कुरा पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भनिराख्या छ हामी सुनिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यो एउटा प्रमाण हो ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ का अवसरमा दिएको अभिव्यक्तितर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले अरू केही प्रवृत्ति पनि रहेको बताए । 

‘त्यस्ता प्रवृत्तिहरू । ती पनि छ्यालब्याल पोखिने गरेका छन् । मौसम त्यस्तो हुँदोरहेछ । अलि ठुलो हावा चल्यो भने बलियो रुख त रहला तर हाँगाबिँगा हावासँगै ढल्किन्छन् ।’

 उनले अहिले शिक्षक आन्दोलन चलिरहेको भन्दै किन चलाएको हो ? भनेर प्रश्न समेत गरे । ‘अहिले शिक्षक आन्दोलन चल्या छ । किन चलाउनुभएको हो शिक्षक साथीहरूले ? मलाई थाहा छैन । म प्रधानमन्त्री छु, भनिराखेको छु । जायज मागहरू लिएर कोही आउँदाखेरि आन्दोलन गरिरहनुपर्दैन हामी त्यसको समाधान दिन्छौ’, ओलीले भने, ‘हामी त्यसलाई सम्बोधन गर्न तयार छौ । दुःख पाउनुपर्दैन, सडकमा गएर सुत्नै पर्दैन भनिराखेका छौ उहाँहरूले किन दुःख पाउनुभएको हो ?’

प्रधानमन्त्रीले शिक्षकहरू संवादमा आउने बित्तिकै माग सम्बोधन गर्ने पनि बताए । उनले हत्या हिंसा, तोडफोड जस्ता प्रवृत्ति पनि देखिएको भन्दै हातमा कागज लिएर संविधानप्रति कसम खाएकाले पनि संसदमा आएर यहीं संविधान मान्दिन भन्ने गरेको बताए । ‘कत्रो विरोधाभास छ, इमानको कत्रो खडेरी छ । कति सारो खडेरी हो । यसले संक्रमणकालमै छौ भन्ने हो’, प्रधानमन्त्रीको भनाइ छ ।  

प्रधानमन्त्रीले राष्ट्रिय हितको रक्षा र संवर्द्धन महत्त्वपूर्ण विषय रहेको भन्दै सबै छिमेक सम्बन्धहरू न्यायोचित हुनुपर्ने बताए । ‘भूराजनीतिक भन्ने शब्दका आडमा आफ्नै कमजोरी, आफैँले आफ्ना कुरा, आफ्नो हित पनि भन्न नसक्ने कुरा र ढाकछोप गर्ने माध्यम बनाउनुहुँदैन’, प्रधानमन्त्रीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप