बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसियाली सेयर बजार राताम्मे

सोमबार, २५ चैत २०८१, १३ : ४४
सोमबार, २५ चैत २०८१

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापार साझेदारहरूमाथि पारस्परिक अतिरिक्त भन्सार महसुलको घोषणा गरेपछि विश्वभर सेयर बजारलाई ठुलो झट्का लागेको छ । हप्ताको पहिलो दिनको कारोबारमा एसियाली सेयर बजार राताम्मे  भएका छन् ।

चीनदेखि दक्षिण कोरिया अनि अस्ट्रेलियादेखि इन्डोनेसियासम्म एसिया–प्रशान्त क्षेत्रका सबै मुख्य सेयर परिसूचकमा पहिरो गएको छ । ट्रम्पले सुरु गरेको विश्वव्यापी व्यापार युद्धले विश्वको अर्थतन्त्र सुस्ताउने र अमेरिका मन्दीमै भासिन सक्ने चिन्ताले लगानीकर्ताहरू त्रस्त बन्दा यसको असर सेयर बजारमा देखिएको हो । 

विश्वभर प्रयोगमा आउने कयौँ सामान एसियामै बन्ने गरेका छन् । ट्रम्पको ट्यारिफको  सबैभन्दा मारमा एसियाली देशहरू परेका छन् । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो १ः२४ बजे जापानमा निक्केई २२५  परिसूचक ८ दशमलव ४९ प्रतिशतले घटेर ३१ हजार १३६ दशमलव ५८ अङ्कमा आएको थियो ।

चीनमा साङहाई कम्पोजिट ७ दशमलव ९३ प्रतिशतले तल ओर्लिएर ३ हजार ९६ दशमलव ५८ अङ्कमा खुम्चिँदा हङ्कङमा हाङ्शेङ परिसूचक १२ दशमलव ५६ प्रतिशतले घटेर १९ हजार ९८० दशमलव १९ अङ्कमा झरेको थियो । 

सोमबारको कारोबारमा एसियाली बजारमा सबैभन्दा धेरै गुमाउनेका हाङशेङ थियो । दोस्रो उच्च कमी ताइवानमा देखियो । उक्त दिन ताइवान वेटेड १० दशमलव ७४ प्रतिशतले घटेर यो समाचार तयार पार्दाखेरि १९ हजार ९७६ दशमलव ३५ अङ्कमा समेटिएको थियो ।

सोमबारको कारोबारमा भारतमा निफ्टी परिसूचक ४ दशमलव ६९ प्रतिशतको कमीसहित २१ हजार ८८१ मा आयो । दक्षिण कोरियामा पनि कोस्पी परिसूचक ५ दशमलव ८९ अङ्कले घटेर २ हजार ३२८ दशमलव २० अङ्कमा ओर्लिदा सिंगापुरमा स्टेट टाइम्स ७ दशमलव ८२ प्रतिशतले घटेर ३ हजार ५२६ दशमलव ६६ अङ्कमा आएको थियो । 

अस्ट्रेलियामा एसएन्डपी/एएसएक्स २०० परिसूचक ४ दशमलव २३ प्रतिशतले घटेर ७ हजार ३४३ दशमलव ३ अङ्कमा आएको थियो । सोमबारको कारोबारमा बेलायतमा फुट्सी ५ दशमलव २१ प्रतिशतले घटेर ७ हजार ६३५ दशमलव ८८ अङ्कमा आएको थियो ।

उता, फ्रान्सको क्याक फोर्टी र जर्मनीमा डीएएक्स परिसूचक  पनि क्रमशः ५ दशमलव ९ प्रतिशत र ६ दशमलव ९६ प्रतिशतले घटेका थिए । 

अतिरिक्त भन्सार महसुलले विश्वभर महँगी बढाउने र आर्थिक मन्दी निम्त्याउने भय बढेको विश्लेषण गर्न थालिएको छ । आगामी १२ महिनामा अमेरिकी अर्थतन्त्र मन्दीमा भासिने सम्भावना ४५ प्रतिशत भएको अमेरिकी लगानी बैंक गोल्डम्यान श्याख्सले प्रक्षेपण गरेको छ ।  यसअघिको  प्रक्षेपणमा यो दर ३५ प्रतिशत मात्रै थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप