शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादीमा विद्यार्थी नेतामाथि ‘प्रतिगमन’

पार्टीमा एक तह बढुवा रोकियो, नेताहरू आक्रोशित
सोमबार, २५ चैत २०८१, १५ : ००
सोमबार, २५ चैत २०८१

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)का अवकाशप्राप्त नेताहरूको पार्टीभित्र एक तह बढुवा सिफारिस स्थगित गरिएकोमा विद्यार्थी नेताहरूले चर्को असन्तुष्टि जनाएका छन् । 

माओवादीको हालै बसेको पदाधिकारी बैठकले ‘अवकाशप्राप्त विद्यार्थी समायोजन कार्यदल’ले पार्टीभित्र एक तह बढुवा गर्न सिफारिस गरेको थियो । तर एक तह बढुवाको सिफारिसलाई स्थगित गरी स्थानान्तरणको सिफारिसलाई स्वीकार गरिएको पार्टीले सर्कुलर पठाएपछि विद्यार्थी नेताहरूले असन्तुष्टि पोखेका हुन् ।

अनेरास्ववियुका पूर्वउपाध्यक्ष केशव रावलले पार्टीको निर्णय उचित नभएको बताएका छन् । अर्को बैठकमा यसलाई पुनर्विचार गर्न पार्टी नेतृत्वलाई सुझाव दिए । ‘कसको दबाबमा पार्टीले यस्तो निर्णय लियो बुझ्न सकिएको छैन । हामीले सम्पूर्ण ऊर्जाशील समय विद्यार्थी राजनीतिमा खर्चियौँ । विद्यार्थीमा ३२ वर्ष उमेर हद लगाएपछि धेरै साथीहरू बाहिरिएका छन्,’ रातोपाटीसँग रावलले भने, ‘अवकाशप्राप्त विद्यार्थी समायोजनका लागि कार्यदलले एक तह बढुवा गर्ने गरी सिफारिस गरेको थियो । तर अहिले आएर स्थगित गर्ने निर्णय उचित छैन । अर्को बैठकमा पार्टीले पुनर्विचार गर्नुपर्छ ।’

अर्का पूर्वउपाध्यक्ष पवन कार्कीले पनि पार्टी निर्णयप्रति आपत्ति जनाए । यसअघि गरिसकेको निर्णयबाट पार्टी ब्याक भएको प्रति आफूले गम्भीर रूपमा लिएकाले यसबारे अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङलाई भेटेरै ध्यानाकर्षण गराउने कार्कीले बताए ।

‘पार्टीको निर्णय गलत र आपत्तिजनक छ । यसबारे अध्यक्ष र महासचिवलाई भेटेर ध्यानाकर्षण गराउँछौँ । ३२ वर्ष उमेर हदका कारण वर्षौँ संगठनमा रहेर काम गरेका साथीहरू बाहिरिने अवस्था आयो । विशिष्ट अवस्थामा विद्यार्थीलाई पार्टीभित्र उचित जिम्मेवारी दिने पहिलेको निर्णय पार्टीले उल्ट्याउने काम गरेको छ । यसमा हाम्रो आपत्ति छ’, उनले भने ।

‘पार्टीले जुन निर्णय गरेको छ, गलत छ । हामीसँग सरसल्लाह गरिएको पनि छैन । सर्कुलरको भाषाशैली मिलेको पनि छैन ।’

उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा विद्यार्थी संगठनका इन्चार्ज हिमाल शर्मा र पूर्वअध्यक्ष पञ्चा सिंह रहेको तीन सदस्यीय कार्यदलले अखिल क्रान्तिकारीका पदाधिकारी तहका नेताहरूलाई एक तह बढुवा गर्न सिफारिस गरेको थियो । जसअनुसार उपाध्यक्षदेखि महासचिवसम्मका लागि केन्द्रीय प्रतिनिधि बनाउने, उपमहासचिवलाई प्रदेश सचिवालय सदस्य बनाउने र सविचवदेखि कोषाध्यक्ष सम्मका लागि प्रदेश सदस्य बनाउने भनिएको थियो । तर यसअघि आफैँले गरेको निर्णय उल्ट्याएकोमा इन्चार्ज हिमाल शर्माले असन्तुष्टि जनाए । उनले यसलाई प्रतिगमन भएको आरोप लगाएका छन् ।

‘पार्टीले जुन निर्णय गरेको छ, गलत छ । हामीसँग सरसल्लाह गरिएको पनि छैन । सर्कुलरको भाषाशैली मिलेको पनि छैन । गत केन्द्रीय समिति बैठकसम्म भनिएको छ । केन्द्रीय समिति बैठकअघि यो निर्णय भएकै थिएन । पार्टीको निर्णय प्रतिगमन छ । यसबारे नेतृत्वसँग छलफल गर्छौँ’, उनले भने ।

पार्टीको पछिल्लो निर्णयले यसअघि विद्यार्थी नेताहरू जुन जुन पदमा रहेर काम गरेका थिए, त्यही पदमा बसेर काम गर्नुपर्ने भएको छ । केन्द्रीय प्रतिनिधिहरूको हकमा भने आगामी केन्द्रीय समिति पाउने छन् ।

‘उहाँहरू(अवकाश प्राप्त नेताहरू) विगतमा जुन तहमा रहँदै आउनु भएको थियो सम्बन्धित क्षेत्रको सोही तहका पार्टी कमिटीहरूमा संगठित गर्ने निश्चित गरिएको छ । केन्द्रीय प्रतिनिधि बनाइएकोमा त्यसको कार्य अवधि गत केन्द्रीय समितिको बैठकसम्म रहनेछ’, सर्कुलरमा उल्लेख छ । पार्टीको निर्णयले विद्यार्थी संगठनको जिम्मेवारीबाट पार्टी राजनीतिमा प्रवेश गरेकाहरूको बढुवा रोकिएको छ ।

पार्टी निर्णयबारे प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय प्रतिनिधि भएका नेताहरूलाई आगामी केन्द्रीय समिति बैठकसम्म जिम्मेवारी कायम राखिएको र बाँकीको हकमा पहिले प्राप्त गरेको जिम्मेवारीमा रहने गरी निर्णय भएको स्वीकार गरे ।

‘केन्द्रीय प्रतिनिधिको जिम्मेवारी आगामी केन्द्रीय समिति बैठकसम्म कायम राखिएको छ । उपमहासचिवदेखि मुनिका हकमा पहिलेकै जिम्मेवारीमा रहने गरी निर्णय गरिएको छ’, उनले भने ।

गएको पुस १३ गते भएको ३२ वर्षे उमेर हद र माघ १३ गते भएको नयाँ कार्यसमितिको निर्वाचनमा झन्डै एक हजार विद्यार्थी नेताहरू बाहिरिएका थिए । अवकाशप्राप्त पदाधिकारीलाई तहगत बढुवा गर्न कार्यदलले सिफारिस गरेको थियो । बाँकी सदस्यहरूको हकमा निर्णय अहिलेसम्म कुनै निर्णय भएको छैन । पार्टीको निर्णयले युवाहरूलाई अस्वीकार गरेको बाहिर गलत सन्देश गएको विद्यार्थी नेताहरूले बताएका छन् । भूगोलमा वर्षौँ काम गरेका नेताहरूको दबाबमा पार्टीले गलत निर्णय गरेको उनीहरूले आशङ्का गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप