बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

सरकारलाई थप दबाब दिन आजदेखि शैक्षिक हडताल

सोमबार, २५ चैत २०८१, १२ : ००
सोमबार, २५ चैत २०८१

काठमाडौँ । काठमाडौँ सडक आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासंघले आजदेखि शैक्षिक हडतालको सुरु गरेको छ ।

 महासंघले तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै चैत २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेको छ । आन्दोलनलाई थप तताउन महासंघले आजदेखि शैक्षिक हडतालको गरेको हो । 

शिक्षकहरूले अनिश्चितकालीन हडतालका क्रममा उत्तरपुस्तिका परीक्षण, परीक्षामा सहभागी, विद्यार्थी भर्ना अभियान, शैक्षिक गोष्ठी, सेमिनार जस्ता कार्यक्रम बहिस्कार गरेका छन् । शिक्षकहरूको आन्दोलन तथा हडतालका कारण विभिन्न ठाउँमा शिक्षक तालिमहरू समेत स्थगित भएका छन् । 

त्यस्तै एसईईको उत्तरपुस्तिका समेत परीक्षण नगर्ने घोषणा गरेका छन् । जसले गर्दा एसईई दिएका ५ लाख विद्यार्थीका ३५ लाख थान उत्तरपुस्तिका परीक्षणको काम अनिश्चित बनेको छ । यही सातादेखि कापी परीक्षणको काम सुरु नगरेको खण्डमा आगामी असार ७ गते एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने देखिएको छ । 

शिक्षकहरूको आन्दोलन तथा हडतालका कारण नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान समेत प्रभावित हुने देखिएको छ । 

त्यस्तै विभिन्न तहका परीक्षाको नतिजा प्रकाशनमा समेत ढिलाइ भएको छ । शिक्षकहरूले भने ऐन जारी नहुँदासम्म कुनै पनि प्रकारका शैक्षिक कार्यक्रममा सहभागी नहुने अडान लिँदै आएका छन् । 

देशभर चार लाख भन्दा बढीको संख्या शिक्षक तथा विद्यालय कर्मचारी छन् । उनीहरूले शैक्षिक हडताल गर्दा नयाँ शैक्षिक सत्र नै प्रभावित हुने खतरा बढेको छ । 

तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने अडानबाट आफूहरू तलमाथि नहुने उनीहरूको अडान छ । जसले गर्दा सरकारले पटक पटक वार्ताका लागि बोलाउँदा समेत वार्तामा जान मानेका छैनन् । 

उनीहरूले शिक्षा ऐन जारी गर्न तीन विकल्प अघि सारेका छन् । विशेष अधिवेशन बोलाउने वा बर्खे अधिवेशन बोलाउने, वा अध्यादेशबाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने विकल्प अघि सारेका हुन् । सरकार भने तिनै विकल्पमा सहमत देखिएको छैन । 

सरकारले उनीहरूसँग तत्काल सहमत गरेर बर्खे अधिवेशनको पहिलो सत्रमा नै विधेयक पेस गर्नेगरी सहमति गर्न प्रस्ताव गरेको छ । शिक्षकहरू विगतमा पटक पटक उधारो सहमति गरिएको बताउँदै यो पटक त्यस्तो केही सहमति नगर्ने अडान राख्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप