शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चैत्र नवरात्र : दसैँ, छठ र रामनवमीको सँगालो

सोमबार, २५ चैत २०८१, ११ : ५५
सोमबार, २५ चैत २०८१

आज चैते दसैँको जात्रा । वसन्त नवरात्रको रूपमा चैते दसैँ धुमधामका साथ देशैभर मनाइँदै छ । यो शारदीय नवरात्रपछिको दोस्रो ठुलो दसैँ हो । दसैँ मूलतः देवी पर्व हो । देवी पर्व अर्थात् आत्मज्ञानको साधना पर्व । नवरात्रमा, मानिसहरू देवी मन्दिरहरूमा साथै आफ्नो घरहरूमा नौ दिनसम्म देवीको पूजा–आराधना गर्छन् ।

देवी पर्व हिन्दु धर्मको प्रमुख पर्व र परम्पराका रूपमा रहिआएको छ । देवी पूजाका लागि धार्मिक र सांस्कृतिक रूपमा वर्षका अनेक तिथि–मिति समर्पित छन् तर वर्षको चारवटा नवरात्रको भने विशेष महत्त्व र विधान छ । मिथिला संस्कृतिमा समेत वर्षको चार नवरात्र क्रमशः आश्विन, माघ, चैत्र र आषाढ महिनाको शुक्लपक्षमा मनाइन्छ । 

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसैँ हिन्दुधर्मावलम्बीले वर्षमा चारपटक मनाउने गर्छन् । चैत महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ । यसमा पनि असोजको दसैँको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् । नेपाली चाडपर्वमा चैते दसैँको पनि महत्त्वपूर्ण स्थान छ ।
चैते दसैँ आश्विन–कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिविम्ब चाड हो । चैत शुक्ल पक्षको प्रतिपदादेखि नयाँ वर्ष प्रारम्भ हुँदाताकाका दसैँलाई मुख्य दसैँ मानिन्थ्यो तर मौसमको प्रतिकूलताको सम्भावनाको आधिक्यका कारण शारदीय नवरात्रलाई प्रधानता दिन थालिएको हो । त्यसैले शरद ऋतु (असोज–कार्तिक) मा मनाइने दसैँलाई बडा दसैँ भन्न र मान्न थालिएको विद्वान्हरू मान्छन् ।

चैते दसैँमा पनि देवी मन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत, कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थहरूको पाठ गर्ने परम्परा छ । चैते दसैँमा देवी मन्दिर र शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्ने गर्छ । देवी मन्दिरमा वैदिक तथा तान्त्रोक्त विधिले पूजाअर्चना गरिन्छ र बलि तथा अनेक परिकारको भोग दिइन्छ । यस अवसरमा देशभरि देवी मन्दिर तथा शक्तिपीठहरूमा दर्शनार्थीको घुँइचो हुने गर्छ । कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्दछ । 

आफ्नो ध्यान र चिन्तनका बलमा भारतीय ऋषिहरूले चैत्र शुक्ल प्रतिपदामा वसन्त ऋतुको सुरुवातमा नवरात्र पूजामार्फत देवी दुर्गाको पूजा सुरु गरे, जुन दिन संसारको सृष्टि सुरु भएको थियो, जुन अनादिकालदेखि चलिरहेको छ । यस प्रार्थनाबाट साधक, उपासकहरूले जीवनमा नयाँ ऊर्जा, जोस, आत्म–नियन्त्रण, शक्ति, तेज र अनेक अद्भुत गुणहरू अनुभव गर्छन् । 

चैत्र शुक्लपक्ष चैते दसैँभित्रै षष्ठी तिथिमा चैती छठ मनाइयो । छठ पर्व भगवान् सूर्यको उपासना पर्व हो । कात्तिकमा मनाइने छठजस्तै यो पर्व पनि समान चार दिनसम्म मनाइन्छ— नहा खाय, खरना, साँझिया/सन्ध्याघाट र भोरवा घाट वा पराण ।

 

  • चैती छठ 

चैत्र शुक्लपक्ष चैते दसैँभित्रै षष्ठी तिथिमा चैती छठ मनाइयो । छठ पर्व भगवान् सूर्यको उपासना पर्व हो । कात्तिकमा मनाइने छठजस्तै यो पर्व पनि समान चार दिनसम्म मनाइन्छ— नहा खाय, खरना, साँझिया/सन्ध्याघाट र भोरवा घाट वा पराण । 

छठ पूजाको पहिलो दिनलाई नहाय खाय भनिन्छ, जसको अर्थ छठको व्रत लिनेले सम्पूर्णतामा स्नान गर्नु हो र निर्दिष्ट आहार लिनु हो । यस दिन, व्रत बस्नेले जलाशयमा पवित्र स्नान गर्छन् र सांसारिक चिजहरूबाट आत्म–प्रतिरोधको मार्ग पछ्याउँछन् । यस दिन व्रतीले दिनभरि केवल एक छाक मात्र भोजन लिन्छन्, मुख्यतया दाल (केवल चना वा मुगको दाल) सँग कद्दु भात आदिको उल्लेख भेटिन्छ । खाना माटो वा काँसको भाँडामा मात्र तयार गरिन्छ । पर्वको दोस्रो दिनलाई खरना, लोहण्डा वा बरौना भनिन्छ । यस दिन व्रतीहरूले दिनभरि उपवास बस्छन् । साँझमा तिनीहरूले विशेष प्रसाद खिर (गुड वा दूधमा पकाएको भात), पुरी र फलफूल तयार गर्छन् । यो प्रसाद छठी मैयालाई चढाइन्छ र पछि भक्तले यो प्रसाद खाएर आफ्नो उपवास तोड्छन् । प्रसाद परिवार र साथीभाइहरूमाझ बाँडिन्छ । 

छठ पूजाको तेस्रो दिनलाई सन्ध्याघाट (साँझको भेटी) भनिन्छ । दिनभरि स्वादिष्ट परिकार र प्रसाद तयार गर्नमा बित्छ । व्रत र परिवारका सदस्य नयाँ लुगा लगाउँछन् र नदी, पोखरी वा पोखरीको किनारमा भेला हुन्छन् । तिनीहरू त्यहाँ एकदेखि दुई घण्टा बस्छन् र सूर्य भगवान्को पूजा गर्छन्, छठ गीत गाउँछन् । सूर्यास्त भएपछि तिनीहरूले दिनको अनुष्ठान गर्न साँझको अघ्र्य वा सन्ध्या अघ्र्य चढाउँछन् । अन्तिम दिन (पराण दिन) वा भोरवा घाट (बिहानको अघ्र्य) मा व्रती फेरि तयार भएर नदी, पोखरी र पोखरीको किनारमा जान्छन् । उदाउँदो सूर्यलाई अघ्र्य चढाइन्छ । छठ पर्व यस दिन समाप्त हुन्छ । व्रतीहरू घर फर्केपछि अदुवा र पानी खाएर र त्यसपछि स्वादिष्ट छठ प्रसाद, खाना खाएर उपवास तोड्छन् ।

रामनवमी पर्व चैत्र शुक्लपक्षको यसै चैते दसैँभित्रै नवमी तिथिमा मनाइयो । यस दिन चरित्रका प्रतीक भगवान् श्री रामको जन्म भएको थियो । चैत्रे नवम्यां प्राक् पक्षे दिवा पुण्ये पुनर्वसौ ।

मिथिला संस्कृतिमा रामनवमी पर्वको महत्त्व धेरै रहेको छ । यस पर्वसँगै नवरात्र पनि समाप्त हुन्छ । हिन्दु धर्ममा रामनवमीको दिन भगवान् राम र माता जानकीको पूजा गरिन्छ । रामनवमीको पूजामा पहिले देवताहरूलाई पानी, रोली र लेपन चढाइन्छ, त्यसपछि मूर्तिहरूमा एक मुठी चामल चढाइन्छ । पूजापछि आरती गरिन्छ । कतिपय मानिसहरू यस दिन व्रत पनि बस्छन् । 

  • रामनवमी 

श्रीरामको जन्म पर्वका कारणले यस तिथिलाई रामनवमी भनिएको हो । भगवान् रामलाई विष्णुको अवतार मानिन्छ । पृथ्वीमा रहेका राक्षसहरूलाई नाश गर्न, भगवान् विष्णुले त्रेता युगमा श्री रामको रूपमा मानव अवतार लिनुभयो । भगवान् रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, किनभने उनले आफ्नो जीवनकालमा धेरै कठिनाइहरूको सामना गर्नुपरे पनि सम्मानजनक जीवनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए । उनले प्रतिकूल परिस्थितिमा पनि आफ्नो आदर्श त्यागेनन् र आफ्नो जीवन सीमाभित्र बिताए । त्यसैले उनलाई आदर्श पुरुषको दर्जा दिइएको छ ।

रामनवमीको दिनमा सामान्यतया हिन्दु परिवारहरूमा उपवास, पूजा र अन्य धार्मिक अनुष्ठानहरू आयोजना गरिन्छ । रामजीको जन्मको समयमा, उनको जन्मदिन उत्सव आयोजना गरिन्छ र उनलाई हर्षोल्लासका साथ स्वागत गरिन्छ । धेरै घरहरूमा विशेष सजावट गरिन्छ, घर शुद्ध गरिन्छ र कलश स्थापना गरिन्छ र श्री रामको पूजा गरेपछि भजन–कीर्तनको आयोजना गरिन्छ । यस दिन श्री रामसँगै माता जानकी र लक्ष्मण जीको पनि विशेष पूजा गरिन्छ ।

आषाढ शुक्लपक्षमा मनाइने ग्रीष्म नवरात्र र माघ शुक्लपक्षमा मनाइने शिशिर नवरात्र गुप्त नवरात्र मानिएकाले सामान्य व्यक्ति यसबाट अपरिचित हुन्छन् । चारवटै नवरात्रको आ–आफ्नै विशिष्टता छ । 

चैत्र नवरात्र देवी, सूर्यदेव तथा भगवान् रामको समेत आराधना पर्वका रूपमा स्थापित छ । प्रत्येक नवरात्र १० दिनसम्म अर्थात् शुक्ल पक्षको प्रतिपदादेखि दशमी तिथिसम्म मनाइन्छ, जो प्रकृतिको मूल अर्थात् दिव्य स्त्रीत्वको उत्सव मनाउने नौ रातको पर्व हो । देवी एउटै भए पनि स्वरूपका आधारमा सहस्र छन् । सबैको पूजा विधि र प्रक्रियामा विविधता पाइन्छ । भिन्दाभिन्दै स्वरूप रहेकाले मानिसहरू भ्रमित हुन्छन् । 

नवरात्र एक तरहले दैत्यराजहरूमाथि देवी दुर्गाको विजयको उत्सव हो । देवी दुर्गा इच्छा, ज्ञान र क्रिया शक्तिकी प्रतीक हुन् । सम्पूर्ण ब्रह्माण्डको आधारभूत र क्रियात्मक शक्तिको नाम प्रकृति (देवी) हो । आध्यात्मिक र वैज्ञानिक दृष्टिकोणबाट चैत्र नवरात्रको मानव जीवनमा ठुलो महत्त्व छ ।

चैत्र नवरात्र पर्व प्रत्येक वर्ष भक्तिपूर्ण रूपमा मनाइन्छ । यसलाई शारदीय नवरात्रपछिको दसैँको रूपमा मान्यता दिने गरिन्छ । अन्य दुई दसैँ भने गुप्त दसैँ कहलाउँछन्, जो सामाजिक दृष्टिमा विलुप्तप्रायः देखिए पनि देवी–साधनामा संलग्न साधकका लागि भने अत्यन्त महत्त्वपूर्ण मानिन्छन् ।

देवी पर्वमा माता दुर्गाको पूजा–आराधना गरिन्छ । देवीको उपासकलाई सुख–समृद्धिको प्राप्ति हुन्छ । यससँगै यस चैत्र नवरात्रमा छठ पर्वको आयोजना पनि गरिन्छ । यसैले साधारण बोलचालमा चैत्र नवरात्रलाई चैते दसैँ र छठलाई चैती छठ भन्ने गरिन्छ । चैते दसैँको नवमी तिथिलाई भगवान् रामको जन्मजयन्ती र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको विजयको उत्सवका रूपमा पनि मनाइन्छ । 

यो चैते दसैँ प्रारम्भसँगै आमसञ्चारमा अनेक विद्वान्को धारणा र विचार अवलोकन गर्न पाइयो । नवरात्र देवी भगवतीको आराधना गरेर आध्यात्मिक शक्ति, मानसिक शान्ति र शारीरिक स्वास्थ्य बढाउने दुर्लभ अवसर हो । नवरात्रमा देवी दुर्गाका विभिन्न नौ रूपहरूको पूजा गरिन्छ । नवरात्रिका दिनहरू देवी दुर्गालाई प्रशन्न पार्नका लागि उत्तम मानिन्छ । वास्तवमा यी दिनहरूमा देवी दुर्गाका सबै रूपहरूलाई सच्चा हृदयले पूजा गर्ने भक्तहरूको सबै इच्छा माता दुर्गाले पूरा गर्नुहुन्छ । नौ दिनसम्म मातारानीको पूजा, व्रत र देवी कथा पाठ गर्नुपर्ने विधान छ । यस अवधिमा व्रतका कारणले खानपान र जीवनशैलीमा संयम राख्ने गरिन्छ, जसले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढाउन र आत्मशक्ति जागृत गर्न मद्दत गर्छ ।

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप