बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

रविको अन्तिम इच्छा

सोमबार, २५ चैत २०८१, ११ : १७
सोमबार, २५ चैत २०८१

रवि लामिछानेको प्रवक्ता, समर्थक र भक्त अनि फेरि विरोधका लागि कट्टर विरोधी पनि होइन म । रवि लामिछानेसँग मेरो व्यक्तिगत चिनाजानी पनि छैन । रविको आलोचक, शुभेच्छुक र शुभचिन्तक चाहिँ हुँ । नेपाली राजनीतिमा रवि लामिछाने एउटा सार्वजनिक व्यक्ति भएकाले उनका र उनीमाथि गरिएका व्यवहार र दुव्र्यवहार, सिर्जित शंका र घटनालाई सकभर स्वच्छ आलोचना र टिप्पणी गर्ने प्रयास गरेको छु । 

यहाँनेर हामी नेपाली जो–कोहीले बुझ्नुपर्ने के छ भने मानौँ रवि दोषी, अपराधी र देशद्रोही नै भए पनि उनको अभिभावक भनेको त राज्य नै हो । राज्यले किन मुद्दाको किनारा नै नलाग्दै रविमाथि बारम्बार देशद्रोहीको जस्तो दुर्व्यवहार गरिरहेको छ ? उनी देशद्रोही नै भए पनि आखिर नेपाली त हुन् । नेपाली राजनीतिलाई सामान्य रूपमा बाहिरबाट हेर्दा सिङ्गो राज्य एकातिर र रवि अर्काेतिर लडिरहेको जस्तो देखिन्छ । रवि न्यायका लागि मुद्दा लडिरहेका छन् तर कसरी न्याय निरुपण गर्न सकिन्छ भन्नेतिर नलागी सरकारले जनतालाई भ्रमित, त्रसित र आतङ्कित बनाएको देखिन्छ । कथं कदाचित् रवि लामिछाने निर्दाेष देखिए भने आगामी निर्वाचनमा सबै दललाई पछाडि पारेर कतै सबैलाई कोच्ने त होइनन् भन्ने डर सरकार र सरकार पक्षधरमा रहेको देखिन्छ । सरकारको शैली र भावाभिव्यक्ति रवि लामिछानेप्रति अत्यन्तै प्रतिशोधात्मक रहेको देखिन्छ । 

विगत एक वर्षदेखि त नेपाली राजनीति कतै न कतै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा केन्द्रित भइरहेको देखिन्छ । सहकारी रकम अपचलन गरेको आरोपमा रवि पोखरा, बुटवल, चितवन, काठमाडौँमा मुद्दा खेपिरहेका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय विशेष समिति पनि गठन गरिएको थियोे र समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रतिवेदनमा थुप्रै मान्छेलाई आरोपित गर्दै करिब दुई अर्ब अपचलन भएको भनिएको छ, तर सरकार यसको सम्पूर्ण दोषी रवि नै होझैँ गरी रविलाई हतोत्साहित गरिरहेको देखिन्छ । सरकारले सहकारीमा जनतालाई न्याय देला भन्दा त्रसित र अन्योल सिर्जना गरिरहेको छ । सरकारले केवल रवि लामिछानेलाई मध्यरातमा कहिले पोखरा, कहिले बुटवल, कहिले काठमाडौँ र कहिले चितवन ओहोरदोहोर गराइरहेको देखिन्छ । 

पुराना शक्तिहरू रास्वपाका सभापति रविको राजनीतिलाई जसरी सिध्याउने प्रयास गरिरहेका छन्, त्यसैगरी अब बालेनलाई पनि सिध्याउने कसरत त भइरहेको छैन भन्ने दृश्य पनि अगाडि देखिँदै छ । वैकल्पिक शक्ति भनिएकाहरूलाई सकाइयो भने आगामी निर्वाचनमा पुनः आफ्नो जित सुनिश्चित हुन्छ भन्ने तरिकाले काङ्ग्रेस, एमालेजस्ता दल लागिरहेका हुन् कि भन्ने जस्तो पनि देखिन्छ ।

रविको मुद्दामा सरकार नै आत्तिएको र हतासिएको जस्तो देखिन्छ । नेपाल सरकारले रविप्रति गरेको दुव्र्यवहार र क्रियाकलाप देख्दा नेपालकै महाअपराधी र देशद्रोही भनेकै रवि नै हो कि जस्तो देखिन्छ । हरेक दिनजसो सत्ता, संसद्, सडक, समाचार र सञ्जालमा प्राथमिकका साथ रविका बारेमा पक्ष र विपक्षमा टीका–टिप्पणी र चर्चाहरू भइरहेका सुनिन्छन् । चिया–चौतारीदेखि भान्सा कोठासम्म रवि नै रविको माहोल छ । सरकारले रविका विपक्षमा व्यापक प्रचार–प्रसार गरिरहेको छ । तर यसले जनतामा रविप्रति झन् सहानुभूति र संवेदना बढेको देखिन्छ । यस मुद्दाले नेपाली जनताको माझमा रवि अझै लोकप्रिय रहेको देखिन्छ । एउटा कुनै व्यक्ति कुनै आरोपमा गिरफ्तारी हुनु, मुद्दा खेप्नु, थुनिनु र छोडिनु सामान्य न्यायिक प्रक्रिया हुनुपर्नेमा सरकारले अनावश्यक रूपमा महत्त्व दिएर नौटंकी मच्चाइरहेको अनि उनलाई अनावश्यक दुःख दिइरहेको देखिन्छ । पुलिस प्रशासनले मात्र गर्नुपर्ने सामान्य प्रक्रियामा सम्पूर्ण राज्यशक्तिले एकोहोरो रविलाई खेदिरहेको देखिन्छ । यसरी सम्पूर्ण राज्यशक्ति एकोहोरो एउटा व्यक्तिका पछाडि लागिरहँदा राज्यप्रति नै प्रश्न र आशंका उठेका छन् । 

रवि लामिछाने स्वयंले बारम्बार म अदालतको निर्णय अक्षरशः पालना गर्न तयार छु भनिरहँदा प्रहरीद्वारा उनीमाथि कानुनविपरीत जबर्जस्त बल नै प्रयोग गरेको देखिन्छ । प्रहरीले उनीप्रति मानवीय संवेदना पनि देखाएको देखिँदैन । प्रहरीद्वारा कानुनको उल्लंघन गर्दै हतारहतार घर–परिवारलाई कुनै जानकारीविना अर्काे दिन उज्यालो नै हुन्न कि भनेझैँ गरी मध्यरातमा चितवनबाट पोखरा पुर्‍याइएको घटना, रविलाई प्रकाउ गर्न उनको घरमा जाँदा पक्राउ पुर्जी नै नहुनु, पक्राउ गर्न बेडसम्मै पुग्नु, अन्तिम इच्छा के हो भनेर अत्यन्तै संवेदनशील र सशङ्कित प्रश्न सोधिनु, उच्च अदालत तुलसीपुरको बुटवल इजलासद्वारा जारी गरिएको आदेशको ठुलो हिस्सा हुबहु सारिएको पाइनु, रास्वपाको जनयात्रा घोषणा गरिनुको ठिक अघिल्लो दिन रविको जेलयात्राको तय गरिनु आदि जस्ता घटनाले यो सरकार हतार–हतासमा साँच्चै रविलाई के गर्न खोज्दै छ र किन सकाउन खोज्दै छ भन्ने जस्ता संशय पैदा हुन्छन् । 

हाम्रो पूर्वीय संस्कारमा मान्छेको मृत्युवरणको अवस्थामा अन्तिम इच्छा केही छ कि भनेर सोध्ने गरिन्छ । यस्ता प्रश्न सायद मृत्युदण्ड दिइने देशहरूमा पनि सोधिन्छ होला । हाम्रो देशमा मृत्युदण्ड दिइने कानुनी व्यवस्था त छैन र रविको मुद्दाको फैसला पनि त भइसकेको छैन । नेपाल सरकारका जिम्मेवार प्रहरी अधिकृतबाट रविलाई सोधिएको यो प्रश्न यतिबेला सामाजिक सञ्जालमा भाइरल नै भएको छ । रविको अन्तिम इच्छा के रहेछ भनेर रविकै दलका चितवनबाट निर्वाचित माननीय सांसद हरि ढकालले एक सार्वजनिक कार्यक्रम नै उद्घोष गरेका छन् । यो देशलाई ३५ वर्षसम्म लुटेका भ्रष्टलाई पाता कसेर जेलमा हालेर जेलभित्रै दशदान र वैतरणी गर्ने रविको अन्तिम इच्छा रहेको हरि ढकालले बताएका छन् । रविको अन्तिम इच्छा भनी हरि ढकालले जे बताए सायद आमनागरिक पनि यसमा विमति हुने ठाउँ छैन । 

वर्तमान प्रधानमन्त्री केपी ओली बकम्फुसे गफमा आफ्नो कार्यकाल बिताइरहेका छन् । उनको करिब एक वर्षको समयावधि रवि लामिछानेको राजनीतिक पृष्ठभूमि कसरी सिध्याउने भन्नेमै व्यतीत भएको देखिन्छ । त्यस्तै प्रधानमन्त्री ओलीले काठमाडौँ महानगरपालिका प्रमुख बालेनसित र विद्युत् प्राधिकरण पूर्वकार्यकारी निर्देशक कुलमानसित पौँठेजोरी गरेर बिताएका छन् ।

यहाँ म आफू न्यायाधीश नै बनी रवि निर्दाेष छन् भन्न खोजेको होइन । राज्यले रविलाई कानुन अनुसार र प्रतिशोधविना अनुसन्धान गर्नुपर्छ भन्नेमा मेरो दुईमत छैन । रविको मुद्दाको सन्दर्भमा सरकारले उनीमाथि देखाएको अनावश्यक हर्कतहरूप्रति भने थुप्रै शंका र प्रश्न उठेका हुन् । रविका मुद्दामा स्वयं रविभन्दा सरकार डराइरहेको देखिन्छ । सरकारले नै राज्यआतंक सिर्जना गरी राज्यशक्तिको चरम दुरुपयोग गरिरहेको देखिन्छ । 

करिब ३५ वर्षदेखि यो देशमा विभिन्न नाम धारण गरेका मूलतः एउटै शक्ति समूहले राज्यसत्तालाई बन्धक बनाई ब्रह्मलुट गरेको कतै छिपेको छैन । कहिले व्यवस्था र कहिले अवस्था परिवर्तन गर्ने भन्दै नेपाली जनतालाई युद्ध र आन्दोलनको पर्याय बनाइएको मात्र छ । नेपाली जनतालाई सुख र समृद्धि भनेका सपना नै हुन् कि भनेझैँ भएका छन् । ३५ वर्षमा को कति मोटाएका छन् र दुब्लाएका छन्, नेपाली जनतालाई एक–एक विवरण थाहा छ । अहिले नेपाली जनतामा प्रतीक्षाको घडी सकिन लागेको देखिन्छ । आज जनताहरू आत्तिएर र आक्रोशित भएर यो व्यवस्था नै गलत त होइन भन्ने अवस्थामा पुगेका देखिन्छन् । तर सरकार जनताको असन्तुष्ट र आक्रोशको निकास के हुन सक्छ भनेर खोज्नुको सट्टा बलेको आगोमा पेट्रोल नै पोखिरहेको देखिन्छ । आज गणतन्त्रका नाइके भनिएकाबाटै गणतन्त्र खतरामा रहेको देखिन्छ ।


नेपालका मूल राजनीतिक दलबाट नेपाली जनताले लोकतन्त्रको खासै अनुभूति गर्न नपाएपछि वैकल्पिक शक्ति खोजिरहेको सन्दर्भमा छोटो समयमै अत्यधिक मतद्वारा अनुमोदित भएर आएका पात्र हुन् — रवि लामिछाने । रवि लामिछानेमा पत्रकारिता र नेपाल सरकारको गृहमन्त्री भएको अनुभव भएको हुनाले नेपालका भ्रष्टाचारका काण्डका फाइल कहाँ कसरी बाँधिएर बसेका छन् भन्नेमा पक्कै अनभिज्ञ छैनन् जस्तो लाग्छ । तर उनले आफ्नो कार्यकालमा सहकारी अपचलनमा मुख्य आरोपी जीबी राईलाई पक्रन नसक्नुमा उनको उपयुक्त उत्तर दिन सकेका छैनन् । देशका भ्रष्टाचारका नाइकेहरू को को हुन् भन्ने कुरा उनले आफ्ना सार्वजनिक अभिव्यक्तिमा भन्ने गरेका पनि छन् । रवि लामिछाने गृहमन्त्री भएकै बेला केही भ्रष्टाचारका फाइल खोल्नै लाग्दा रातारात सरकार ढलेको पनि सुनिएकै थियोे । यस पूर्वको प्रचण्ड सरकार किन रातारात ढल्यो र किन यी दुई ठुला दलहरू एमाले र नेपाली काङ्ग्रेसका बिचमा सरकार बन्यो भन्नेमा स्पष्ट धारणा बाहिरिएको छैन । 

ओली र प्रचण्डका बिचमा स्वर्ग र नर्कसँगै जाने भन्ने कसम खाएको भनिएको कसम किन क्षणभर टिकेन भन्नेमा ठुलो प्रश्न चिह्न उठेकै छ । गृहमन्त्री रवि लामिछानेले अब फाइल खोल्दै छन् भन्ने हल्ला बाहिर चलिरहँदा एमाले र काङ्ग्रेसका बिचमा रातारात कुनै विवादित व्यापारीका घरमा सहमत हुनुको भित्री कारण के हुन सक्छ भन्ने जस्ता थुप्रै आशंका निर्मूल हुन सकेका छैनन् । रवि कतै छुटेर आए भने ठुला दल पनि सिद्धिने र नेतृत्व पनि समातिने डरले सरकार त्रसित र आतंकित भएको जस्तो देखिन्छ । आज सरकारले रविलाई जतिसुकै दोषी हुन् भनेर प्रमाणित गर्न खोजे पनि जनता यो मान्न र विश्वास गर्न तयार छैनन् । राज्यले कति पनि जनताको मनोभावना बुझ्न सकेको छैन । जनताका नजरमा त ओली, प्रचण्ड र देउवा अपराधी र विश्वासघाती नेताका रूपमा चिन्हित भएका छन् । जनतामा यी नेताप्रति कुनै किसिमको सम्मान, विश्वास र भरोसा देखिँदैन । 

वर्तमान प्रधानमन्त्री केपी ओली बकम्फुसे गफमा आफ्नो कार्यकाल बिताइरहेका छन् । उनको करिब एक वर्षको समयावधि रवि लामिछानेको राजनीतिक पृष्ठभूमि कसरी सिध्याउने भन्नेमै व्यतीत भएको देखिन्छ । त्यस्तै प्रधानमन्त्री ओलीले काठमाडौँ महानगरपालिका प्रमुख बालेनसित र विद्युत् प्राधिकरण पूर्वकार्यकारी निर्देशक कुलमानसित पौँठेजोरी गरेर बिताएका छन् । अन्ततः प्रधानमन्त्री ओलीले जनताद्वारा उज्यालोको नायक भनी जनअनुमोदित पात्र कुलमानलाई हटाएर विजयको महसुस अनुभव गरेका देखिन्छन् । सायद उनको कार्यकालमा अबको अन्तिम लडाइँ बालेन हुन सक्छन् । पुराना शक्तिहरू रास्वपाका सभापति रविको राजनीतिलाई जसरी सिध्याउने प्रयास गरिरहेका छन्, त्यसैगरी अब बालेनलाई पनि सिध्याउने कसरत त भइरहेको छैन भन्ने दृश्य पनि अगाडि देखिँदै छ । वैकल्पिक शक्ति भनिएकाहरूलाई सकाइयो भने आगामी निर्वाचनमा पुनः आफ्नो जित सुनिश्चित हुन्छ भन्ने तरिकाले काङ्ग्रेस, एमालेजस्ता दल लागिरहेका हुन् कि भन्ने जस्तो पनि देखिन्छ । नेपाली जनता यस्तो बेलामा कसैको उक्साहट नलागी धैर्य बनी निकै गम्भीर भएर सोची यिनीहरूबाट सतर्क र सचेत हुनुपर्ने देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र पन्थी
राजेन्द्र पन्थी
लेखकबाट थप