बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

चर्चित अस्ट्रेलियन महिला क्रिकेटर एस्ले गार्डनरले प्रेमिका मोनिका राइटसँग विवाह गरिन्

सोमबार, २५ चैत २०८१, १० : ५५
सोमबार, २५ चैत २०८१

काठमाडौँ । भारतमा आयोजना हुने महिला प्रिमियर लिग (डब्लूपीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी अस्ट्रेलियन खेलाडी एस्ले गार्डनर वैवाहिक बन्धनमा बाँधिएकी छन् । उनले आफ्नी प्रेमिका मोनिका राइटसँग विवाह गरेकी हुन् । 

२८ औँ वर्ष प्रवेशको सँघारमा रहेकी एस्ले गार्डनर विश्व महिला क्रिकेटकी प्रभावशाली खेलाडी हुन् । एस्ले गार्डनरले आफ्नो विवाहको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमा एस्ले गार्डनर र मोनिका राइटको विवाहको तस्बिर भाइरल पनि भइरहेको छ । 

वैवाहिक समारोहमा दुबैजनाको परिवारका सदस्य र साथीहरुको सहभागिता रहेको थियो । वैवाहिक समारोहमा अस्ट्रेलियाका चर्चित महिला क्रिकेट खेलाडी किम गार्थ, एलिस विलानी, फोबे लिचफिल्ड, एलिसा हिलीलगायको पनि उपस्थिति रहेको थियो । 

एलिसा हिली अस्ट्रेलियन महिला क्रिकेट टोलीकी कप्तान हुन् । एस्ले गार्डनर र मोनिका राइटले सन् २०२४ को अप्रिलमा टिकाटालो गरेका थिए । अलराउण्डर खेलाडी एस्ले गार्डनरले अस्ट्रेलियाको महिला राष्ट्रिय लिगमा न्यू साउथ वेल्सको तर्फबाट खेल्छिन् । 

22

महिला बिग बास लिगमा भने उनी सिडनी सिक्सर्सबाट खेल्छिन् । भारतमा आयोजना हुने फ्रेन्चाइज प्रतियोगिता महिला प्रिमियर लिगमा उनी गुजरात जायन्ट्सबाट खेल्छिन् । एस्ले गार्डनर र मोनिका राइट सन् २०२१ देखि प्रेम सम्बन्धमा थिए ।

सन् २०२३ मा अस्ट्रेलियाले आईसीसी महिला टी–२० विश्वकपको उपाधि जितेपछि एस्ले गार्डनरले मोनिका राइटसँग विवाह गर्ने निर्णय लिएकी थिइन् । एस्ले गार्डनरले अस्ट्रेलियाका लागि हालसम्म सात टेस्ट खेल्दै कुल तीन सय २५ रन बनाएकी छन् भने २८ विकेट पनि लिएकी छन् । 

यसैगरी, उनले देशका लागि ६९ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल एक हजार दुई सय ७० रन बनाएकी छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एस्ले गार्डनरले एक सय एक विकेट पनि लिएकी छन् ।

यसैगरी, उनले अस्ट्रेलियाका लागि ९६ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल एक हजार चार सय ११ रन बनाएकी छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ७८ विकेट पनि कुम्ल्याएकी छन् । हालै सम्पन्न महिला प्रिमियर लिगमा उनले गुजरात जायन्ट्सको कप्तानी पनि गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप