बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
आईपीएल प्रिभ्यू

मुम्बईलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने धुनमा बेंगलुरु

मैदानमा फर्कन सक्छन् जसप्रित बुमराह
सोमबार, २५ चैत २०८१, ११ : ००
सोमबार, २५ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा सोमबार रोयल च्यालेन्जर्स बेंगलुरु र मुम्बई इन्डियन्सबिच भिडन्त हुँदैछ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । 

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो २०औँ खेल हो । यो सिजन बेंगलुरु र मुम्बई पहिलो पटक आपसमा भिड्न लागेका हुन् । जारी संस्करणमा बेंगलुरुले आफ्नो चौथो र मुम्बईले आफ्नो पाँचौँ खेल खेल्न लागेका हुन् । 

आईपीएलको इतिहासमा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोलीमध्ये एक हो । मुम्बईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । मुम्बईका अतिरिक्त चेन्नई सुपर किङ्सले मात्र पाँचपटक उपाधि जित्न सकेको छ । 

मुम्बईले सन् २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई २३ रनले पराजित गरेको थियो । सन् २०१५ मा मुम्बईले दोस्रोपटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नईलाई नै ४१ रनले हराएको थियो ।

mumbai indians

त्यसपछि मुम्बई इन्डियन्सले सन् २०१७ मा उपाधि जितेको थियो । उक्त संस्करणको फाइनलमा मुम्बईले राइजिङ पुणे सुपरजायन्ट्सलाई एक रनले पराजित गरेको थियो । आईपीएलको इतिहासमा यो सबैभन्दा कम रनअन्तरको जित पनि हो ।

मुम्बईले सन् २०१९ मा चौथो पटक उपाधि उचालेको थियो । उक्त संस्करणको फाइनलमा पनि मुम्बईले चेन्नईलाई एक रनले नै हराएको थियो । मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो । मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको थियो ।

यसैगरी, रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएलमा सधें उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर, बेंगलुरुले हालसम्म एकपटक पनि उपाधि जित्न सकेको छैन । बेंगलुरु आईपीएलमा तीनपटक फाइनलमा पुगेर पराजित भएको छ । 

बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । सन् २०११ को फाइनलमा बेंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो । 

Royal Challengers Bengluru

  • बेंगलुरुको चौथो र मुम्बईको पाँचौँ खेल

आईपीएलको १८औँ संस्करणमा मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्न लागेको हो । तर, मुम्बईको प्रदर्शन भने निराशाजन रहेको छ । आफूले खेलेको चारमध्ये एक खेलमा मात्र मुम्बईले जित हात पारेको छ । मुम्बई तीन खेलमा भने पराजित भएको छ । मुम्बई दुई अंकसहित तालिकाको आठौँ स्थानमा आसीन छ । 

यसैगरी, रोयल च्यालेन्जर्स बेंगलुरुले जारी संस्करणमा हालसम्म तीन खेल खेलेको छ । बेंगलुरुको प्रदर्शन भने सन्तोषजनक नै देखिन्छ । बेंगलुरुले तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । बेंगलुरु चार अंकसहित तालिकाको तेस्रो स्थानमा आसीन छ । 

  • हेड टु हेडमा मुम्बई अगाडि

आईपीएलमा हालसम्म मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच कुल ३५ खेल खेलिएको छ । यसअघिको खेलको तथ्याङ्कलाई हेर्दा बेंगलुरुभन्दा मुम्बई बलियो देखिन्छ । मुम्बईले २१ खेलमा बेंगलुरुलाई हराएको छ । 

बेंगलुरुले भने १४ खेलमा मात्र मुम्बईलाई हराउन सकेको छ । वानखेड स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच कुल १० खेल खेलिएको छ । त्यसमध्ये सात खेलमा मुम्बई इन्डियन्स र तीन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु विजयी भएका छन् । 

वानखेड स्टेडियममा १० वर्षदेखि बेंगलुरुले मुम्बईलाई हराउन सकेको छैन । बेंगलुरुले हालसम्म तीनपटक मुम्बईलाई वानखेड स्टेडियममा हराएको छ । पछिल्लो पटक सन् २०१५ मा बेंगलुरुले मुम्बईलाई वानखेड स्टेडियममा हराएको थियो । 

  • सूर्यकुमार यादवको नाममा मुम्बईको सर्वाधिक रन

आईपीएलको जारी संस्करणमा मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूर्यकुमार यादव हुन् । उनले यसअघि खेलिएका चार खेलमा कुल एक सय ७१ रन बनाइसकेका छन् । उनले लखनउ सुपर जायन्ट्सविरुद्ध ४३ बलमा ६७ रन बनाएका थिए ।

surya kumar yadav

मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर भने हार्दिक पाण्ड्या हुन् । हार्दिकले हालसम्म तीन खेलमा आठ विकेट लिएका छन् । उनले लखनउ सुपर जायन्ट्सविरुद्धको खेलमा चार ओभरमा पाँच विकेट लिएका थिए । यो सूचिमा दोस्रो स्थानमा रहेका विग्नेश पुथुरले तीन खेलमा पाँच विकेट लिएका छन् । 

  • बेंगलुरुका चार ब्याट्सम्यानको अर्धशतक

आईपीएलको १८औँ संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरुका चारजना ब्याट्सम्यानले अर्धशतक बनाएका छन् । बेंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने फिल साल्ट हुन् । उनले तीन खेलमा कुल एक सय दुई रन बनाएका छन् । 

phil salt

फिल साल्टले कोलकाता नाइट राइडर्सविरुद्ध ५६ रन बनाएका थिए । यसका अतिरिक्त विराट कोहली र रजत पाटिदारले पनि ९७–९७ रन बनाएका छन् । विराटले कोलकाताविरुद्ध ५९ रन बनाएका थिए । बेंगलुरुका लियाम लिभिङ्स्टोनले पनि अर्धशतक बनाएका छन् । 

बेंगलुरुका लागि सर्वाधिक विकेट लिने बलर भने जस हेजलउड हुन् । उनले अघिल्ला तीन खेलमा ६ विकेट लिइसकेका छन् । उनले चन्नई सुपर किङ्सविरुद्धको खेलमा २१ रन खर्चिएर तीन विकेट लिएका थिए । यश दयालले पनि तीन ओभरमा दुई विकेट हात पारेका थिए ।

  • मैदानमा फर्कन सक्छन् जसप्रित बुमराह

लामो समयदेखि घाइते रहेका मुम्बई इन्डियन्सका तिब्रगतिका बलर जसप्रित बुमराह रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्धको खेलमार्फत मैदानमा फर्कने सक्ने सम्भावना रहेको बताइएको छ । उनी स्वस्थ्य भएर टोलीको प्रशिक्षणमा फर्किसकेका छन् । 

jasprit-bumrah

तर, यस विषयमा मुम्बई इन्डियन्सको व्यवस्थापनले भने केही बताएको छैन । स्वस्थ्य भएर प्रशिक्षण क्याम्पमा फर्किए पनि बुमराहले हालसम्म अभ्यास खेल खेलेका छैनन् । आईपीएलमा फर्कनुअघि उनले अभ्यास खेलमार्फत आफू स्वस्थ्य भइसकेको प्रमाणित गर्नुपर्ने हुन्छ । 

यद्दपि, केही सञ्चारमाध्यमले भने उनी बेंगलुरुविरुद्ध नै मैदानमा ओर्लने दाबी गरेका छन् । केहीले भने उनी दिल्ली क्यापिटल्सविरुद्धको अर्को खेलमा मात्र मैदानमा ओर्लने बताएका छन् । अस्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर ट्रफीका क्रममा उनी घाइते भएका थिए । उनको पिठ्यूँमा समस्या देखिएको थियो ।

  • ब्याट्सम्यानलाई साथ दिन पिच 

रोयल च्यालेन्जर्स बेंगलुरु र मुम्बई इन्डियन्सबिच सोमबारको खेल हुने वानखेड स्टेडियमको पिच ब्याट्सम्यानलाई सहयोग पुर्‍याउने प्रकृतिको रहेको छ । यो पिचमा तिब्रगतिका बलरले पनि थोरै साथ पाउन सक्छन् । 

वानखेड स्टेडियममा हालसम्म आईपीएलको कुल एक सय १७ खेल खेलिएको छ । त्यसमध्ये ५४ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । ६३ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । 

  • छैन वर्षाको सम्भावना

मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेल हुने दिन सोमबार मुम्बईको मौसम सफा रहने छ । वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मोसम विभागले जनाएको छ । मुम्बईको तापक्रम २६ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ । 

  • सम्भावित टोली

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रायल रिकेल्टन (विकेटकिपर), विल ज्याक्स, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, आश्वनी कुमार, विग्नेश पुथुर र रोविन मिन्ज ।

रोयल च्यालेन्जर्स बेंगलुरु : राजत पाटिदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पाडिकल, लियाम लिभिङ्स्टोन, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, जस हेजलउड, यश दयाल र रसिख सलाम ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप