सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : कोशी प्रदेश पर्यटन वर्षको तयारी

कोशीमा पर्यटन प्रवर्द्धनका आधार के हुन् ?

सोमबार, २५ चैत २०८१, १० : ०२
सोमबार, २५ चैत २०८१

नेपालमा पर्यटनको सुरुवात राणाकालदेखि नै भएको हो । जङ्गबहादुर राणा बेलायत गएर आएपछि उनले विदेशीलाई पनि नेपाल ल्याउनु पर्छ र नेपाल देखाउनु पर्छ भन्ने मान्यता राखे । राणाहरू विदेश गएर आएपछि नै त्यताको कलात्मक शैली र ढाँचाका घर र ठुलाठुला भवनहरू बनेका हुन् । कतिपय त्यस्ता भवनको नाम पनि तत्कालीन राणा प्रधानमन्त्रीको नामसँग जोडिएको छ । तिनै भवनमा अहिले होटलहरू बसेका छन् ।

सुरु–सुरुमा विदेशी राजपरिवार तथा मुख्य व्यक्तिहरू नेपालको दरबार निकट रहेर सिकार खेल्न आउँथे । कैयौँ सङ्ख्यामा बाघ, गैँडा, भालुलगायत वन्यजन्तुकोे सिकार गर्थे र फर्कन्थे । त्यो नै त्यसबेलाको पर्यटन थियो । अहिले हामी त्यसलाई गेम टुरिजम भन्छौँ । हन्टिङ वाइल्डलाइफ टुरिजम भन्छौँ । २००७ सालपछि नेपाल विदेशीहरूको लागि खुला हुँदै गयो । विदेशीहरू नेपाल आउने र नेपालको पनि अन्तर्राष्ट्रिय सम्बन्धहरू विकास हुँदै गएको छ ।

राजा वीरेन्द्रको पालामा आएर नेपाल शान्ति क्षेत्र भयो । हामीले पञ्चशीलको सिद्धान्त अपनाएको कारण सबैको लागि नेपाल शान्तिप्रिय र प्यारो मुलुकको रूपमा रह्यो । त्यो पहिचान विश्वभरि फैलियो । यस्तै जर्ज एभरेस्टले नामकरण गरेको सगरमाथा आरोहणको क्रम पनि २०१० तिरै भइसकेको थियो । सरगरमाथा लगायत हिमशिखर केन्द्रित विदेशी पर्यटक आउने क्रम बढिरहेसँगै २०१६ सालमा विदेशी पर्यटकको आवागमन र पर्यटन क्षेत्रको गतिविधिहरूलाई व्यवस्थित ढङ्गले अघि बढाउन पर्यटन बोर्ड स्थापना गरियो । २०३४ सालमा पर्यटन मन्त्रालय स्थापना भयो । २०३९ सालमा हवाई क्षेत्रलाई समेटी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बनाइयो । २०५७ सालदेखि यसमा संस्कृति क्षेत्रको समेत जिम्मेवारी थपियो । प्रदेशहरूमा पर्यटनको कार्य, जिम्मेवारी सङ्घीयताको कार्यान्वयन सँगसँगै २०७५ सालदेखि पर्यटन मन्त्रालयको रूपमा सुरु गरिएको छ । त्यसैले प्रदेशको पर्यटन संरचना काठमाडौँको भन्दा ५० वर्ष कान्छो छ भन्न सकिन्छ ।

काठमाडौँको पर्यटन धेरैजसो अस्ट्रेलिया, युरोप, अमेरिका लगायतका अन्य महादेशसँग जोडिएका पर्यटकहरूसँग छ । एउटामात्रै नेपालको अन्तर्राष्ट्रिय विमानस्थल पनि काठमाडौँमै भएका कारण पनि त्यहाँको पर्यटन राम्रो छ । पोखरा, चितवन र लुम्बिनीको पर्यटनलाई गोल्डेन ट्र्याङ्गल अफ नेपाल टुरिजम पनि भनिन्छ । चितवन गेम टुरिजम, वन्यजन्तु र प्रकृति हेर्ने, पोखरा नजिकै हिमाल हेर्ने, पदयात्रा गर्ने र लुम्बिनीको पर्यटन बुद्ध धर्मावलम्बीको लागि चर्चित छ । कोशी प्रदेशको पर्यटनमा मुख्यतः पर्वतारोहण पर्यटनबाट ठुलो मुद्रा आर्जन गरेको छ । यस्तै छिमेकी राष्ट्रका पर्यटकलाई चलायमान बनाउन हिमाल बाहेक अन्य पर्यटन गन्तव्य र आकर्षणहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

कोशीको पर्यटन के ?

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये नेपालमा मात्रै ८ वटा र त्यसमध्ये पनि ५ वटा हिमाल त कोशी प्रदेशमै छन् । हाम्रो प्रदेशका हिमालले धेरै पर्यटक पनि ल्याएका छन् । तथ्याङ्कले पनि त्यही भन्छ । तर, यी हिमालको पर्यटनको अधिकार केन्द्रमा मात्रै छ । त्यसको फाइदा प्रत्यक्ष सङ्घमा गएजस्तो देखिन्छ । यद्यपि राजस्व बाँडफाँटमा प्रदेशले आफ्नो हिस्सा पाएको छ । तथापि, पर्वतारोहण पर्यटनसँग जोडेर गरिने अन्य क्रियाकलापहरू प्रदेश अन्तर्गत भइरहेका छैनन् । पर्यटकको टिकटदेखि होटलको बसाइ, गाइड, पर्यटन सहयोगीहरू, पर्यटन क्षेत्रमा जाँदा गरिने खर्चहरू र सोबाट प्राप्त हुने रोजगारी र आर्थिक गतिविधिहरू प्रायः काठमाडौँ केन्द्रित छन् ।

काठमाडौँमा आउने विदेशी पर्यटकलाई पोखरा, लुम्बिनी र चितवनबाहेक कोशी पनि पर्यटन डेस्टिनेसनहरू छन् है भन्ने कुरा स्थापित गराउन अझै सकिएको छैन । हामीले त्यता ध्यान दिनुपर्ने देखिन्छ ।

कोशीमा धार्मिक पर्यटनको सम्भावना राम्रो छ । जस्तो कि पाथीभरा (मुक्कुम्लुङ), बराहक्षेत्र, हलेसी हामीसँग छन् । हलेसी त हिन्दु, किराँत र बुद्ध धर्मको सङ्गमस्थलको रूपमा पनि स्थापित छ । बराहक्षेत्र धर्तीको पहिलो तीर्थ भनेर हिन्दु धर्ममा मानिएको छ । धर्ती समुन्द्रमा डुबेको अवस्थामा बराह अवतारले उचालेर निकालेको ठाउँ भएकाले यसलाई पहिलो तीर्थ भनिएको हुनुपर्छ । पाथीभरा भारतको पश्चिम बंगाल, आसामसँगको धार्मिक विश्वाससँग जोडिन्छ । तीे क्षेत्र देवी पूजा गर्ने क्षेत्र हुन् । त्यहाँका मानिसहरू पाथीभरा क्षेत्रमा आउन चाहन्छन् । यो क्षेत्रलाई भारतका कतिपय पालिकाहरूसँग भगिनी सम्बन्ध कायम गरेर जान सक्ने हो भने थप पर्यटक भित्र्याउन बल पुग्छ ।

प्रदेशमा बाहुल्यता रहेको लिम्बू संस्कृतिसँग पाँचथरको सिलौटी, लब्रेकुटी, महागुरु फाल्गुनन्दको तपस्यास्थल र धर्मगुरु आत्मनन्द लिङ्देनको धार्मिक स्थल लारुम्बाले सांस्कृतिक पहिचान बोकेको छ । यस्तै मुन्धुमी संस्कृति, किराँत राजा यलम्बर र सो धर्मसँग जोडिएका खोटाङको हलेसी र तुवाचुङ जायुजुङग क्षेत्रको थप महत्त्व छ ।

कोशी प्रदेशमा प्राकृतिक पर्यटनमा हामीसँग झरना, खोला, भूप्रकृति, चिया बगान, भाषा, संस्कृति, मौसम, खाना, गीत सङ्गीत लगायतको विविधतायुक्त सम्पत्ति छ । मौसमको कुरा गर्दा हामी १२ महिना नै पर्यटक ल्याउन सक्छौँ । वर्षामा एक खालको पर्यटन हुन्छ । हिउँद र शरद ऋतुमा अर्को खालको पर्यटनको सम्भावना भएका क्षेत्र छन् । प्रत्येक ऋतुमा पर्यटन गराउन सक्ने गन्तव्यहरू छन् । विश्व समुदायसँग, भौतिक संरचनामा, विकासमा, ठुलाठुला सुविधासम्पन्न होटल र भ्यूटावरमा हामी प्रतिस्पर्धा गर्न सक्दैनौँ तर, हामीसँग भएको प्रकृति र विविधताको तुलना कुनै देशसँग छैन । त्यो प्रकृतिको दृश्य, कलकल पानीको आवाज र यहाँको शीतल वातावरण बेचेर हामीले पर्यटक ल्याउन सक्छौँ ।

यस प्रदेशको सिमाना जोडिएका भारतको बिहार, पश्चिम बंगाल, आसाम क्षेत्रहरूमा राज्यहरूमा करिब ४५ करोड जनसंख्या छ । त्यहाँ १२ महिनामध्ये ९ महिना गर्मी हुन्छ । त्यहाँबाट नेपाल प्रवेश गराउने र शीतल हुने स्थानहरू कन्याम, जेफाले, भेडेटार, पशुपतिनगरहरू छन् । भारतमा ४२ डिग्री सेल्सीयस उग्र गर्मी हुन्छ भने त्यहाँबाट २ घण्टाको दुरीमा नेपालका ती स्थानहरूमा त्यसको ठिक उल्टो २४ डिग्रीको चिसो छ । भारतीय नागरिकहरूमा पनि बिदा मनाउने, विवाह भोज, पार्टी, धर्म, आफन्त भेटघाट, स्वास्थ्य उपचार आदि कामका लागि नेपाल आउने र घुमघाम गर्ने प्रवृत्ति बढिरहेको तथ्याङ्कले देखाउँछ । त्यसैले ‘गर्मीसे बेहाल तो चलिए नेपाल’ भन्ने नारा भारतभित्र व्यापक प्रचार गरी हामीले भारतीय पर्यटकलाई नेपाल भित्र्याउन सक्छौँ ।

  • हामी सुध्रनुपर्छ

यति सबै हुँदाहुँदै पनि पर्यटकहरू स्थलमार्गबाट नेपाल आउँदा पाउने गरेका झन्झटहरू, नेपालतर्फ गरिने व्यवहार, बोलीचालीको शैलीले पर्यटकहरू सशंकित हुने गरेका छन् । नेपाल गयो भने थुनिन्छ, अप्ठ्यारोमा परिन्छ भन्ने खाले भाष्य भारतीय पर्यटक माझ स्थापित भएको भनेर निजी क्षेत्रबाट पर्याप्त गुनासो आइरहेका छन् । यी चुनौतीलाई पार लगाउन प्रदेश सरकारले कार्यविधि नै तयार गरेर एकल प्रवेश बिन्दु सेवा केन्द्र स्थापना गरी एकै स्थानमा सबै कर शुल्क लिने र पर्यटकको गाडीमा स्टिकर टाँसेर ती पर्यटकलाई आवागमनमा सजिलो पारिदिने सुरुवात गर्दैछ ।

कतिपय पालिकाले आफ्नो सिमानामा अलग–अलग हिसाबले कर लिएर गाडीहरूलाई ठाउँठाउँमा रोक्ने, छेक्ने काम भएको भन्ने कुरा निजी क्षेत्रले गुनासो गरिरहेका छन् । पर्यटकहरू आउँदा आनन्दले घुमघाम गर्न पाउन् भन्ने हाम्रो धारणा छ । केही सवालहरू बैंक तथा मुद्रासँग सम्बन्धित पनि छन् । अनलाइन पेमेन्ट, मुद्रा बोक्ने र साट्ने विषयहरूमा पनि थप सहजीकरण गरिदिनु पर्नेछ । यसमा सरकारी तथा निजी बैंकहरू, निजी क्षेत्र, स्थानीय प्रशासन तथा प्रहरी र अध्यागमन, पर्यटन व्यवसायी सबैको समान बुझाइ र सहकार्य आवश्यक छ ।

  • सम्भावना के त ?

सम्भावनाको कुरा गर्ने हो भने यतिबेला हाम्रा आन्तरिक उडानमा जहाजका सिटहरू खाली छैनन् । त्यसको मतलब नेपालीहरूको पनि घुमघाम गर्ने चलनमा परिवर्तन भइरहेको छ । हामीसँग होटलहरू पर्याप्त छन् । ती होटलमा चाहे अनुसारको पैसा खर्च गर्छु भन्नेका लागि त्यही अनुसारको कोठाहरू पनि उपलब्ध हुँदैछन् । कतिपय नयाँ होटलहरू पनि थपिरहेको छ । भौतिक पूर्वाधार हाम्रो सम्भावना हो । हाम्रो क्रयशक्ति पनि सम्भावना हो । नेपालीहरूमै आएको घुमघामको मानसिकता पनि सम्भावना हो । यसलाई सहजीकरण गर्दै हाम्रा प्रशासनिक विषय, कर, मुद्रा, पेमेन्टसँग सम्बन्धित विषय र हाम्रो व्यवहार पर्यटकमैत्री बनाएर मात्रै पर्यटन क्षेत्र अगाडि बढ्न सक्छ ।

नेपालभित्र छिर्ने बित्तिकैदेखि नेपालीको न्यानो माया, मिठो मुस्कान र हस्पिटालिटी पाएर आफ्नो परिवारलाई राम्रोसँग घुमेर जानसक्ने र अर्को पटक १० जना लिएर आउँछु भन्ने वातावरण बनाउनुचाहिँ हाम्रो उद्देश्य हो । प्रदेश स्थापना भएसँगै हामीले पर्यटन मन्त्रालय बनायौँ । धेरै कुराहरू हामीले भौतिक पूर्वाधारमा मात्रै जोड दियौँ र ती पनि धेरैजसो अधुरा अवस्थामै रहिरहे । अर्को महत्त्वपूर्ण क्षेत्र पर्यटन प्रवर्द्धनमा पर्याप्त ध्यान दिइएन । नयाँ गन्तव्यको खोजी, प्रचार प्रसार र प्रवर्द्धनमा सोचेजस्तो नतिजा आएन । त्यसैले नै कोशी प्रदेश पर्यटन वर्षको घोषणासँगै पर्यटन पूर्वाधारका साथै प्रवर्द्धनलाई पनि ध्यान दिने, प्रदेशको पर्यटन क्षेत्रको नीतिगत लक्ष्य तय गर्ने, आवश्यक कानुन बनाउने, ती कानुनको आधारमा टेकेर संरचनागत परिवर्तन गर्ने, नयाँ संरचना सेट गरेर सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर पर्यटन क्षेत्रलाई गुलजार बनाउने र यसमार्फत समृद्धिमा सहयोग गर्ने गरी अगाडि बढिँदैछ ।

अहिले पनि इलाम, सन्दकपुर, रोङ, कोशी गाउँपालिका, खुम्बु पासाङ ल्हामू गाउँपालिका, साँगुरीगढी (भेंडेटार क्षेत्र), टेम्के मैंयु, साल्पा सिलिचो, बराहक्षेत्र, रामधुनी, धरानलगायत थुप्रै पालिकाले पर्यटन प्रवर्द्धन र विकास गर्न प्रयास गरेका छन् । उनीहरूको थप क्षमता विकास गर्दै सङ्घ सरकारसँगको सहकार्यका लागि प्रदेशले पुलको काम गर्नेछ । पर्यटनको भौतिक पूर्वाधार र सेवा क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका ठुलो हुने भएकाले निजी क्षेत्रलाई पनि सँगसँगै लिएर अगाडि बढ्ने छौँ । असल वातावरण बनाउने, सहजीकरण गर्ने, प्रवर्द्धन गर्ने र नियमन गर्ने काममा सरकारले भूमिका निर्वाह गर्दै कोशी प्रदेश पर्यटन वर्ष २०८२ को लक्ष्य प्राप्त गर्न हामी निरन्तर लागिपरेका छौँ ।

(घिमिरे कोशी प्रदेश अन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव हुन् । उनीसँग रातोपाटीकर्मी अर्जुन आचार्यले गरेको कुराकानीमा अधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विशाल घिमिरे
विशाल घिमिरे
लेखकबाट थप