‘एक पालिका एक पर्यटन पहिचान’ बनाऔँ

कोशी प्रदेश सरकार २०८२ लाई पर्यटन वर्ष घोषणा गर्ने अन्तिम तयारीमा छ । पर्यटन प्रवर्द्धनका लागि पहिले सङ्घ, प्रदेश र स्थानीय तहबिचमा राम्रो समन्वय आवश्यकता पर्दछ । पर्यटन वर्ष घोषणा गरिरहँदा प्रदेश सरकारले पर्यटकीय स्थलहरू कहाँ–कहाँ छन् ? कस्तो अवस्थामा छन् ? त्यसको म्यापिङ गर्नु राम्रो हुन्छ ।
काँकडभिट्टा, विराटनगर, पशुपतिनगरको नाकाबाट भारतीयहरू आउने गरेका छन् । भारततिरको सीमा क्षेत्र दार्जिलिङ, मिरिङ, तिम्बुला, सुके, सौरेनीलगायतका क्षेत्रमा होमस्टेहरू अहिले प्रशस्त चलिरहेको छ । ती होमस्टेहरू पर्यटन व्यवसायीहरूले र ट्राभल एजेन्सीहरूले वार्षिक रूपमा ठेक्कामा लिएका छन् । पर्यटक आए पनि, नआए पनि उनीहरूले निश्चित रकम तिर्छन् । त्यसकारण उनीहरूले नै त्यहाँ पर्यटकहरू पठाउँछन् । ती पर्यटकहरूलाई हामीले पनि नेपाल भित्र्याउन सक्छौँ । त्यसका लागि भारतको ट्राभल एजेन्सीहरूसँग सहकार्य गर्नुपर्छ । त्यो सजिलो छ । गर्न पनि सकिन्छ ।
अर्को भनेको सूचनाहरू प्रशस्त मात्रामा प्रसारण गर्नुपर्छ । हामीले पशुपतिनगरमा सूचनाकेन्द्र बनाएका छौँ । उदाहरणका लागि त्यो सूचना केन्द्रलाई प्रदेशभरिका कुनकुन स्थानमा घुम्न जाँदा उपयुक्त हुन्छ भन्ने कुराको डिजिटलाइज गर्न सकिन्छ । त्यसका लागि क्यूआर कोडहरू प्रयोग गर्न सकिन्छ । सूचना दिने वा कुनै मोबाइलका चिप्सहरू आदि निःशुल्क उपलब्ध गराउने गर्दा नेपाल आउने पर्यटकहरूलाई सहज हुन्छ ।
अन्तर्राष्ट्रियस्तरमा काम गरिरहेका कैयौँ एजेन्सी छन् । उनीहरूलाई कसरी प्रयोग गर्न सकिन्छ ? भारतको विभिन्न ठाउँहरूमा पर्यटन मेला, युरोप र अमेरिकामा पनि पर्यटन मेला लगाउन सकिन्छ । अमेरिकामा रहेका भुटानी शरणार्थीहरूले नेपालले लगाएको गुनलाई धेरै ठुलो सम्झेका छन् । अहिले उनीहरू अमेरिकन भइसकेका छन् । उनीहरू नेपालमा पर्यटकको रूपमा आएर भए पनि सहयोग गर्न चाहन्छन् । खर्च गर्ने राम्रो सामर्थ्य पनि राख्दछन् । उनीहरूको समाजभित्र पस्नु पर्यो । म आफैँले उनीहरूसँग भेट्दा नेपाललाई साह्रै धेरै माया गरेको पाएँ । उनीहरूमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।
यस्तै प्रचारप्रसार व्यापक बनाउनु पर्छ । हामीले पर्यटकीय नगरी भएको कारण धेरै कुराहरू प्रदेश सरकारसँग छलफल पनि चलाएका छौँ तर, यहाँका व्यवसायीहरू होमस्टे, होटल चलाउनेहरूसँग बसेर छलफल गरियो भने पनि कहाँकहाँ ट्राभल एजेन्सीहरूले कस्तो रणनीति अपनाएको छ भन्ने सजिलै बुझ्न सकिन्छ ।
पर्यटन वर्ष मनाउने भनेर प्रदेश सरकारले महत्त्वका साथ कार्यक्रम बनाइरहँदा स्थानीय तहहरूसँग गम्भीर छलफल गर्नुपर्छ ।
अहिले दार्जिलिङ होइन, इलामको कन्याम वा अन्तु जाने भन्ने खालको प्रचारचाहिँ भारतमा पनि भइरहेको पाएका छौँ । आसामको एक जना नेपालीभाषी भारतीय कर्णेलले दार्जिलिङभन्दा इलाम धेरै सुन्दर ठाउँ भनेर युट्युब च्यानलमा भनेको सुनियो । त्यही कारण पनि मानिसहरू इलाम आइरहेका छन् । त्यस्ता प्रकारका सेन्टिमेन्टहरूलाई पक्रिएर हामीले हाम्रो प्राकृतिक सम्पदालाई बेच्नु पर्छ । प्राकृतिक सम्पदा र सरसफाइमा हामीले ध्यान दिनुपर्छ ।
हामीले हाम्रो पर्यावरण, हाम्रो बाटोहरू, हाम्रा होमस्टे, हाम्रो होटललाई सफा राख्नुपर्छ । सुन्दर बनाउनु पर्छ । ‘नेपाल जाँदा छक्क परेँ । बाटोमा एउटा पतकर पनि भेटिएन, कति राम्रो सफा रहेछ । धेरै सुन्दर लाग्यो’ भन्ने खालको बनाउनु पर्छ । पर्यटकले पनि सरसफाइ खोजेका छन् । यहाँ ठुला घर, ठुलो भवन र ठुला बाटोभन्दा पनि सुन्दर प्राकृतिक वातावरण, सुन्दर ठाउँ र सरसफाइ नै पर्यटक आकर्षित गर्ने आधार हुन् । हाम्रा झरनाहरू, चियाका बगान, हिमाल, पहाडहरू हेर्न आउनेहरूले पनि सरसफाइलाई नै बढी ख्याल गर्छन् । त्यसलाई मध्यनजर गरियो भने हामी सफल हुन्छौँ ।
यस्तै पर्यटकलाई ह्यारेसमेन्ट (अपमानित) गर्नुहुँदैन । भारतीयहरूलाई हामीले हाम्रो देशमा अपमानित गरिरहेका छौँ । पटके कर, भन्सार काटिन्छ । भन्सार र पटके कर त सबै डकुमेन्ट भएकै कारण काटियो तर, काँकडभिट्टाबाट आएका मानिसलाई विर्तामोडमा, दमकमा, उर्लाबारीमा, इटहरीमा, धरानमा पटकपटक चेकजाँच गरेर उनीहरूलाई अपमानित गरिरहेका छौँ । त्यसलाई पर्यटकले मन पराउँदैनन् । सरकारले त्यसलाई व्यवस्थापन गर्नुपर्छ ।
एक पटक कर कटाएपछि पर्यटकको सवारी साधनमा प्रदेश सरकारले छुट्टै स्टिकर टाँसिदिने गर्नुपर्छ । कुनै पनि प्रकारको स्टिकर टाँसेर नाकाबाट छोडेपछि निर्वाध हिँड्न दिनुपर्छ । त्यसले हामीलाई फाइदा गर्छ ।
हाम्रो पालिकामा घोडा चढ्नका लागि धेरै मानिस आउँछन् । जस्तो जिल्ला–जिल्ला र स्थान विशेषका विशेषताहरू के हुन् ? त्यसैलाई प्राथमिकता दिनुपर्छ । श्रीअन्तु जाँदा सूर्योदय हेर्ने, कन्याम जाँदा चियाको बगान हेर्ने, ताप्लेजुङ जाँदा पाथीभराको दर्शन गर्ने, तेह्रथुम जाँदा गुराँस हेर्ने, सोलु जाँदा हिमाल हेर्ने, खोटाङ जाँदा हलेंसी दर्शन गर्ने भन्ने खालको स्पष्ट कुरा पर्यटकहरूलाई जानकारी दिनुपर्छ । ट्राभल रुटहरू पनि बनाउनु पर्छ ।
पर्यटन वर्ष मनाउने भनेर प्रदेश सरकारले महत्त्वका साथ कार्यक्रम बनाइरहँदा स्थानीय तहहरूसँग अहिलेसम्म गम्भीर छलफल गरेको छैन । केही छलफल भए तर, त्यसको निष्कर्ष निस्किएको छैन । समय भएको हुनाले छिटो छलफल गरेर तयारी गर्नुपर्छ । त्यो छलफलमा मैले माथि उल्लेख गरेको कुरालाई नै विशेष ध्यान दिनुपर्छ । पर्यटकको चाहना बुझ्न सकिएन भने, पर्यटक केकालागि आएको छ भन्ने बुझेर उसको चाहना अनुसार गर्न सकिएन भने हामी फेल हुन्छौँ ।
अर्को कुरा। हस्पिटालिटीको कुरामा हामीले एकैपटक ठुलो केही गर्न सकिँदैन । पर्यटन वर्ष घोषणा गरेरमात्रै हुने पनि होइन । हाम्रा साना कमजोरीले पनि आइरहेका पर्यटकहरू नै बाधक बन्न सक्छन् । हामीले हाम्रा बोली, व्यवहार, उनीहरूलाई दिने सत्कार र उनीहरूको व्यवस्थापन महत्त्वपूर्ण कुरा हो । त्यसका लागि एउटा मापदण्ड बनाइयो भने पर्यटन वर्ष सफल हुन्छ, नभए हामी सफल हुन सक्दैनौँ ।
हामीले बुझ्नैपर्ने अन्य कुरा पनि छन् । सबैभन्दा पहिले पूर्वाधार निर्माण गर्दा पानीलाई प्राथमिकता दिनुपर्छ । सन्दकपुरमा पानीको समस्या होला । पानी नहुँदा नुहाउन पाउँदैन । तातो र चिसो पानीको सुविधा हुँदैन भने त्यसबारे पहिल्यै जानकारी दिनुपर्छ । बाटोको अवस्था, वत्ती, पार्किङलगायतका व्यवस्थापनबारे पर्यटकलाई पहिल्यै जानकारी दिनुपर्छ । नयाँ ठाउँको मार्केटिङ गर्ने हो भने प्रदेश सरकारले स्थानीय सरकारसँग छलफल गर्नुपर्छ । भएकै ठाउँलाई फोकस गर्ने हो भने त्यस्ता ठाउँलाई के–के आवश्यक छ ? त्यसमा ध्यान दिनुपर्छ । यस्तै व्यक्तिगत हिसाबले भन्ने हो भने काम गर्ने मान्छेहरू कस्ता छन् ? हेर्दै अल्छी लाग्ने छन्, मैला धैला, सामान्य मापदण्डहरू नअपनाएको, तालिमहरू नगरेका भए भने पनि पर्यटनमा असर गर्छ । त्यसकारण हामीले पर्यटन वर्ष मनाइरहँदा यस्ता कुरामा ध्यान दिनुपर्छ । कडा स्वभावका मानिसहरू फ्रन्ट डेस्कमा बसेका छन् भने पनि पाहुना प्रभावित हुन्छन् । त्यसैले राम्रो बोल्ने बानीको विकास गर्ने कुरामा पनि हामीले ध्यान दिनुपर्छ ।
(राई सूर्योदय नगरपालिका, इलामका प्रमुख हुन् । उनीसँग रातोपाटीका लागि अर्जुन आचार्यले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल