‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?

काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनीबाट करिब २८ करोड बराबरको क्षति भएको छ । उत्पादन भवन, प्रशासनिक भवन, उपकरणहरू, चारवटा गाडी, एउटा मोटरसाइकल, प्रशोधन गरी स्टक राखेको सञ्चोसमेत नष्ट हुँदा सो क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
शनिबारमात्रै अवकाश प्राप्त गरेकी कम्पनीकी महाप्रबन्धक संगीता यादवले भनिन्, ‘प्रारम्भिक अध्ययनअनुसार करिब २८ करोड क्षति पुगेको छ । उत्पादन भवन, प्रशासनिक भवन, उपकरणहरू, चारवटा गाडी, एउटा मोटरसाइकल, प्रशोधन गरेर स्टक राखेको करिब २० लाख सञ्चोका बोटलसमेत नष्ट भएको छ ।
उनका अनुसार उत्पादन भवन पूर्ण रूपमा क्षति पुगेको छ । यसैगरी उत्पादन तथा प्रशोधन प्रयोजनमा प्रयोग हुने सम्पूर्ण उपकरण क्षति भएका छन् । यसैगरी कम्पनीका चार वटा गाडी, एउटा मोटरसाइकल र उत्पादन गरी स्टकमा राखिएको सञ्चोसमेत पूर्ण रूपमा नष्ट भएको छ । साथै प्रशासनिक भवनमा समेत क्षति पुगेको उनको भनाइ छ ।
४३ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको उक्त कम्पनीको केन्द्रीय कार्यालयमा चैत १५ गते राजावादी समूहले अराजकता प्रदर्शन गरी कम्पनीमा तोडफोड र आगजनी गरेका थिए ।
उक्त आगजनीका कारण भएको क्षतिको विस्तृत मूल्याङ्कन रिपोर्ट भने आउन अझै १० दिन लाग्ने यादवले बताएकी छन् । उत्पादन तथा प्रशोधन बन्द भएपछि यस कम्पनी भने बन्द नभएको उनको तर्क छ ।
‘कम्पनी बन्द भएको छैन । अझै बढी काम भएको छ । आगजनी भएको भोलिपल्ट नै प्रशासनिक भवन सरसफाइ गरेर सञ्चालनमा ल्यायौँ,’ उनले भनिन्, ‘बिदाको दिनमा समेत बिदा बसेनौँ । कम्पनीलाई सञ्चालनका लागि सरसफाइ गर्नेलगायत काम गर्यौँ ।’
- के–के उत्पादन हुन्छ ?
यो कम्पनीले जडीबुटीबाट उक्त कम्पनीले १० प्रकारका इसेन्सियल आयल उत्पादन तथा बिक्री गर्दै आएको छ । सञ्चो, सञ्चोबाम, वाम तेल, सञ्चो जटा केश तेल, सञ्चो पेन रिलिफ आयललगायत सात किसिमका हर्बल उत्पादन गरी बजारमा ल्याइरहेको छ ।
यीमध्ये सञ्चो बजारमा लोकप्रिय उत्पादन हो । कम्पनीले ‘सञ्चो’को वार्षिक उत्पादन ६० लाख पिस गर्ने लक्ष्य राखेको छ । कम्पनीले आफ्नो सम्पूर्ण उत्पादनको बिक्रीबाट वार्षिक १६ देखि २२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको यादवले बताइन् ।
‘दैनिक उत्पादनको गणना गर्दैन थियौँ । किनभने सिजनअनुसार माग घटबढ हुन्छ । यो वर्ष ६० लाख पिसको टार्गेट गरिएको थियो,’ यादव भन्छिन्, ‘कहिले दुई सिफ्टमा पनि काम गरिन्थ्यो । पाँच मिलिलिटर र १० मिलिलिटर गरी मल्टिपल प्याकेज सिस्टम सञ्चो उत्पादन सुरु गरेका थियौँ ।’
यस्तै बाम र सिलाजितको पनि मेसिन जडान भइसकेको थियो । पूर्ण रूपमा प्रविधीकरण भइसकोको थियो । उत्पादन भवन पनि गुड मेनिफ्याक्चर्स प्लान्ट प्राक्टिसलाई (जीएमसीमा आधारित) बेस गरेर बनाइएको थियो ।
विदेशमा काम गर्न जाने नेपाली श्रमिकले पनि सञ्चो र सिलाजित लैजाने गरेका थिए । यो वर्ष कम्पनीले सञ्चो मह र सञ्चो टिमुरको समेत उत्पादन सुरु गरेको थियो । आगजनीका क्रममा सञ्चो महको पनि क्षति भएको यादवले बताइन् ।
- ‘सञ्चो’ अभाव नहुने
केन्द्रीय कार्यालय जडीबुटीबाहेक, सुनसरीको तरहरा, बाराको तामागढी र टीकापुरको कैलालीस्थित व्यावसायिक युनिट खडा गरेर कच्चा पदार्थको संकलन तथा उत्पादन, प्रशोधन, प्याकेजिङ तथा मार्केटिङसम्बन्धी काम हुँदै आएका छन् ।
त्यसमध्ये दुई वर्षदेखि तामागढीमा उत्पादन, प्रशोधनको काम हुँदै आएको छ । गोरखामा पनि नयाँ व्यावसायिक युनिट स्थापनाका लागि प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ ।
‘बाराको तामागढीमा रहेको शाखाबाट पनि दुई वर्ष अघिदेखि उत्पादन तथा प्रशोधन सुरु भएको थियो । यो शाखा सबैभन्दा ठूलो हो । यहाँबाट उत्पादन हुने हुँदा अभाव हुने समस्या हुँदैन,’ यादवले भनिन्, ‘अरू शाखाबाट कच्चा पदार्थ संकलन तथा प्रशोधन गरिन्छ । त्यसपछि विदेशमा पनि निर्यात हुन्छ ।’
तामागढीबाहेक शाखाले कच्चा पदार्थ उत्पादन गरी निर्यात गर्दै आएका छन् । काठमाडौँमा अटोमेटेड रिफिलर मेसिनबाट रिफिलिङ हुने भएकोले धेरै उत्पादन हुँदै आएको थियो । तर अब भने बन्द भएको छ ।
- ९० प्रतिशत रोजगारी महिलालाई
यस कम्पनीले थोरै मात्रामा भए पनि रोजगारी दिएको छ । यस कम्पनीको केन्द्रीय कार्यालय जडीबुटीमा औषधि उत्पादन प्रशोधनमा काम गर्ने ३८ जनशक्तिमध्ये ९० प्रतिशत महिला छन् ।
उत्पादन बन्दसँगै उनीहरूलाई आगलागीबाट क्षति भएका संरचनामा सरसफाइको काम लगाएर राखिएको छ । अब उत्पादन तथा प्रशोधन सुरु नगरे उनीहरूको रोजगारी गुम्ने डर बढेको छ । यो अवस्थामा उद्योगलाई छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्ने देखिएको यादव बताउँछिन् ।
- सञ्चालन सम्भव छ ?
यसअघि उत्पादनपछि अटोमेटेड रिफिलर मेसिन हुँदा उत्पादित सुगन्धित तेललाई बोतलमा भर्ने काम मेसिनले गर्दै आएको थियो । तर अब मेसिन चलाउन नसकिने अवस्थामा पुगेको उनको भनाइ छ ।
‘मेसिन त जलिसकेको छ । विज्ञ ल्याएर मेसिनको अध्यन गराउनुपर्छ । चलाउन मिल्ने भए मात्र उत्पादन गर्न सकिन्छ । हेर्दा चलाउन नसक्ने अवस्थामा छ,’ उनले भनिन्, ‘कम्प्लिट अटोमेटेड मेसिनहरू थिए । अटोमेटेड रिफिलर, अटोमेटेड क्यापिङबाट सजिलै उत्पादन प्रशोधन हुन्थ्यो । अब म्यानुअल रूपमा उत्पादन गर्ने हो भने तत्काल गर्न सकिन्छ ।’
अटोमेटेड मेसिन ल्याउनुअघि महिला कामदारले हातले बोतलमा तेल भर्नुपर्ने अवस्था थियो । अब पनि त्यसरी नै काम गर्ने हो भने तत्काल उत्पादन सुरु गर्न सकिने यादवले बताइन् । आगजनीबाट कम्पनीमा क्षति पुगे पनि धेरै निराश हुनुपर्ने अवस्था नभएको उनको भनाइ छ ।
‘जहाँ अँध्यारो त्यहाँ अवश्य उज्याले आउँछ नै, त्यही तरिकाले हेरिराछु,’ उनी भन्छिन्, ‘म अवकाश भएँ सरकारले नयाँ नियुिक्त गर्नेछ । अझै बढी ऊर्जावान भएर कम्पनी आउँछ । नयाँ सुरुवातले नयाँ ऊर्जा थपिन्छ । किनभने सरकारको लगानी छ र सरोकारवालाको ध्यानाकर्षण भएको छ ।’
केही समयका लागि वनस्पति विभागको ल्याबको प्रयोग गर्न सक्ने विकल्प रहेको कम्पनीका अध्यक्ष बुद्धिसागर पौडेल बताउँछन् ।
‘हामीसँग रिफिलर मेसिनबाट काम गर्ने कि म्यानुअल विधिबाट भन्ने विकल्प छ, मेसिन मर्मत हुन वा अर्को ल्याउन समय लाग्ने अवस्था भयो भने तत्कालको लागि म्यानुअल्ली काम गरेरै उत्पादन थाल्छौँ,’ पौडेलले भने, ‘केही समयका लागि वनस्पति विभागको ल्याबको प्रयोग गरेर उत्पादन गर्न सकिन्छ ।’
अब कसरी सञ्चालन गर्ने कार्य योजना बनाइरहेको पौडेलले बताए । साथै एक हप्ताभित्र छलफल गरी उत्पादन सुरु गरिने समेत बताएका छन् ।
‘एउटा कोठामा सञ्चो उत्पादनको काम कन्टिन्यु गर्ने कि भन्ने योजना बनाएका छौँ । यो हप्तामा बसेर छलफल गर्छौँ,’ उनले भने, ‘जति उत्पादन हुन्थ्यो सबै चिज उत्पादन गर्न नसकिएला । तर सानो स्केलबाट उत्पादन सुरु गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै
-
‘अमेरिका जानुअघि सोच्नु’ भन्दै चीनले जारी गर्यो एड्भाइजरी
-
वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?
-
काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना
-
डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा १८४ जनाको मृत्यु
-
गाजाको ठुलो हिस्सा कब्जा गरिरहेछ इजरायल, २३ को गयो ज्यान