चिमामान्डा अदिचीको नयाँ पुस्तक ‘ड्रिम काउन्ट’ र अफ्रिकी चेतना

चिआलाई अमेरिकामा एउटा पुस्तक लेख्ने प्रस्ताव आयो । उनलाई लागेको थियो– यो प्रस्ताव पक्कै उनको यात्राका सरल रमाइला अनुभूतिबारे हुनुपर्छ तर, प्रकाशकको चाहना फरक थियो ।
प्रकाशक उनलाई कङ्गो पठाउन चाहन्थे । उनलाई त्यहाँका महिलाहरूमा भइरहेको हिंसाबारे लेख्नुपर्ने भनियो ।
चिआ नाइजेरियाली आप्रवासी परिवारबाट आएकी हुन् । उनी मनमोजी लेखक हुन् । उनी यात्राबारे लेख्ने गर्छिन् । उनलाई रोमान्स, रेस्टुराँ तथा मानिसको ‘आरामदायी सादापन’बारे पनि लेख्न मजा लाग्छ । उनलाई यो प्रस्तावले कता–कता घोचेको अनुभूत भयो । संघर्षको आँखीझ्यालबाट बर्बादीलाई चियाउनुपर्ने प्रस्तावबारे उनले आफ्ना जीवनसाथी चुकासँग दुःखेसो पोखिन् । चिआसँग सहमत हुँदै उनी थप्छन्, ‘यी धेरैजसो गोराहरूको समस्या नै यही हो । उनीहरू हामी पनि सपना देख्छौँ भन्ने नै सोच्दैनन् ।’
यस्तो सुन्दा उनलाई चुकाले आफ्नो मनकै कुरा शब्दमा व्यक्त गरिदिएको भान भयो । तर, प्रकाशकले आफ्नो भाष्य चिआको मुखबाट भन्न लगाएकोमा उनीहरूलाई दुःख लाग्यो । उनलाई राम्रोसँग नचिनेकोमा पनि उनीहरूलाई नमिठो लाग्यो ।
पुस्तक बजारमा चिमामान्डा अदिचिको नयाँ किताब आएको छ । नाम हो– ‘ड्रिम काउन्ट’ । यसको नामबाटै बुझ्न सकिन्छ– उनको नयाँ उपन्यास सपना र रहरहरूबारे लेखिएको छ ।
यो उपन्यास अमेरिकी काल्पनिकीको प्रभुत्वले निर्देश गरेको संसारको कथा हो, जुन काल्पनिकीले कसले सपना देख्छ ? सपनामा के देखिन्छ तथा कसको भित्री कुरा बुझ्न सकिन्छ भन्ने पनि तय गर्छ ।
यो उपन्यास पूर्ण आकारको उपन्यास हो । यसअघि सन् २०१३ मा उनले यस्तै उपन्यास लेखेकी थिइन्, जसको नाम थियो– ‘अमेरिकाना’ । तिनताका ‘अमेरिकाना’को धेरै प्रशंसा भएको थियो । सन् २००६ मा उनले लेखेको युद्धगाथा ‘हाफ अफ अ एल्लो सन’ ले त उनलाई नारी आख्यानका लागि प्रतिष्ठित ‘अरेन्ज प्राइज’ नै दिलाएको थियो । उनी त्यतिबेलादेखि नै नारिवादी घोषणापत्र, निबन्ध, लघुकथा तथा बालबालिकाका लागि पुस्तक लेख्ने गर्छिन् ।
उनका दुईवटा ‘टेड टक’ का भिडियो असाध्यै प्रभावशाली मानिन्छन् । जसमा सन् २०१३ मा तयार पारिएको ‘हामी सबै नारीवादी हुनुपर्छ’ र अर्को ‘एउटै कथाको खतरा’ भन्ने पर्छन् । यी भिडियोहरू संसारभर कक्षाकोठामा विद्यार्थीलाई पढाइन्छ । म पनि विद्यार्थीलाई हेर्न सुझाव दिने गर्छु । ती भिडियोमा कसरी शक्तिले कथा भन्ने कुरामा प्रभाव पार्छ भनेर असाध्यै सजिलोसँग भनिएको छ ।
उनको पछिल्लो उपन्यास ‘ड्रिम काउन्ट’ को कथा भने अलिक पृथक छ । यसको कथा चार जना महिलाको आँखाबाट नियालिएको छ । यी सबै एकअर्कासँग जोडिएका छन् तर विभिन्न टुक्रामा विभाजित पनि छन् । यसको कथा नाइजेरिया, गिनी, अमेरिका तथा यत्रतत्र घुम्छ । ठाउँपिच्छे दृष्टिकोणहरू फेरबदल भइरहन्छन् । फेरिएका दृष्टिकोणले परिवेश अनुसारका विविध नैतिक सन्दर्भ देखाउँछन् ।
उपन्यासमा प्रेमिल तथा अलि धेरै नै ‘अमेरिकी पन’ भएको पात्र छिन् चिआमाका अर्थात चिआ । उनको काकाकी छोरी एउटी निर्भिक बहिनी छिन्– ओमेलोगर । ओमेलोगर आफ्नो बैंकिङ पेशा छोडेर अमेरिकामा यौन चलचित्रलाई शैक्षिक सामग्रीका रूपमा प्रयोग गर्नेबारे स्नात्तकोत्तर तहमा पढ्न गएकी हुन्छिन् ।
उनको पुरानो साथी छिन् जिकोरा, जो कर्पोरेट वकिल पनि हुन् । जिकोरा थोरै परम्परागत स्वभाव भएकी व्यावहारिक मान्छे हुन् र, अर्कीे पात्र छिन्– कादियातु ।
कादियातु उनको उपन्यासको एकमात्रै त्यस्ती पात्र हुन्, जसले श्रमिक वर्ग तथा गैर–नाइजेरियाली अवाजको प्रतिनिधित्व गर्छिन् । कादियातु गिनीबाट अमेरिका आएकी हुन् । उनले त्यहाँ शरणार्थीको दाबी गरेकी छन् । उनी चिआको घरमा काम गर्छिन् । उनलाई आफ्नी छोरीको सुन्दर भविष्यको चिन्ता छ ।
यो उपन्यास कोरोनाकालमा सुरु हुन्छ तथा त्यसको अन्त्य पनि कोरोनाकालमै आइपुग्छ । घुमेर एउटै समयमा आइपुगेको यो उपन्यासले पात्रहरूको कथा विस्तारमा भन्दै जान्छ । पात्रहरू आफ्नो जीवनलाई फर्केर हेर्छन् अनि विविध सम्भावनालाई तौलिएर हेर्छन् ।
जीवनमा यस्तो भएको भए के हुन्थ्यो ? त्यस्तो भएको भए के हुन्थ्यो होला भनी गमी बस्छन् । पुस्तकमा जीवनमा प्रेम, आनन्द र केही महत्त्वपूर्ण कुरा गुमाउनु पर्दाको पीडालाई निर्भिकता साथ केलाइएको छ । लेखक अदिचीले आफ्नो लेखकीयमै पुस्तक खासमा ‘आफ्नो आमा गुमाएको’ बारेमा लेखिएको भनेकी छन् ।
धेरै महिला विगतको सम्झना गर्दा आफ्नो पुरानो प्रेम सम्बन्ध सम्झन पुग्छन् । टाढा भएको आफ्नो प्रेमी सम्झन पुग्छन् तर, उपन्यासकी पात्र कादियातुको मनमा भने झनै गहिरो क्षतिको सम्झना पिल्सिएर बसेको छ । एक सिद्धहस्त कथा शिल्पीको रूपमा अदिचीले कादियातु भित्रको मौनता, झ–झल्को तथा सम्झनाले बनाएको असहजतालाई बडो राम्रोसँग शब्दमा उनेकी छन् ।
कदियातुले आफ्नो विगत सम्झेर दुखेसो गर्दै भन्छिन्, ‘मैले केही नराम्रो हुँदैछ भन्ने बुझ्नै पर्थ्यो तर म त्यसमा असफल भएँ ।’
- निर्मल चाहना
ड्रिम काउन्ट मूलतः रोमान्टिक प्रेम खोज्ने महिलाहरूको कथा हो । धेरै कथामा जस्तो महिलाको खोजलाई यहाँ सतही रूपमा देखाइएको छैन । बरु रोमान्टिक प्रेमलाई जीवन, मूल्य, अवस्था तथा साथीभाइ र परिवारको सम्बन्धको आधारभूत विषयको रूपमा बुझ्न र देखाउन खोजिएको छ ।
अदिचीले मिहिन तथा काव्यात्मक रूपमा अप्ठ्यारो लैङ्गिक सम्बन्धका आयाम देखाएकी छन् । खास गरेर लैङ्गिक समानता तथा निजत्वबारे उत्तर–लैङ्गिक अपेक्षाहरूको बोलबाला चलेका भाष्यलाई मानिसहरू आफैँले भन्ने गरेको र अरुले भन्ने गरेको बिचमा विसंगति पैदा गरिदिन्छ । जस्तैः– धेरै लोभी नबन ।
केही समयका लागि चिआ एउटा समझदार र बेपरवाह मान्छेसँगको प्रेममा हुन्छिन् । ती व्यक्ति भावनाहरूबारे बौद्धिक खालको दृष्टिकोण राख्छन् । पेसाले शिक्षा क्षेत्रमा संलग्न दक्षिण अफ्रिकी मूलका अमेरिकी डार्नेल चिआको तृष्णाजन्य व्यवहारबाट ‘दिक्क’ हुन्छन् । साथै उनको रमाइलोलाई बेवास्ता गरिदिन्छन् । ‘जबजब म ऊसँग अन्तरङ्ग हुन्थेँ, उनले सधैँ त्यसलाई गम्भीरतासाथ नै लिएनन् । कहिलेकाहीँ त्यसलाई नराम्रो रूपमा समेत व्यवहार गरे ।’ चिआ यो प्रसङ्ग आफ्ना साथीहरूलाई सुनाउँदै सोध्छिन्, ‘यस्तो बेचैनीलाई हामीले प्रेम बाहेक अरुनै नाम दिनुपर्ने हो ?’
- बिहेको रहर नगर
जहाँ चिआ ‘चमकिलो प्रेम’ खोज्छिन्, जिकोरा भने स्थायित्व र बच्चाको चाहना गर्छिन् । ‘बिहेको वास्तविक चाहना अरु कसैमा भर पर्छ’ भन्ने कुरा जिकोरा सहर्ष स्वीकार्छिन् । तथापि जिकोराको जीवन सधैँ खुसीले भरिएको त हुँदैन । उनको जीवनमा पनि दुःखले भरिएका कठिन समय हुन्छन् ।
बिहे गर, नभए पनि कम्तीमा बच्चाचाहिँ जन्माऊ । चालीस वर्षको उमेरमा पनि बच्चा नभएको तथा आत्म–प्रेमले भरिपूर्ण (जहाँ आत्म–प्रेमको अर्थ अफ्रिकी र समुदायको प्रेम पनि हो) र एक जना महिलासँग आत्मीय सम्बन्धमा रहेको ओमेलोगरलाई ढोंगी भएको शङ्का गरिन्छ । यस्तैमा एकपटक उनकी नातेदारको फोन आउँछ । उनले फोनमा धर्मपुत्र लिन मिल्ने ठाउँहरूबारे सुनाउँदै सुझाव दिन्छिन्, ‘तिमीले बाँचिरहेको जीवन ठिक छ भनेर आफूलाई नढाँट ।’
उपन्यासले व्यक्तिका सम्भावना र चाहनाहरू बुझाउने सांस्कृतिक मान्यता र सामाजिक संरचनाबारे देखाउँछ । समाजमा यस्ता मान्यताहरू नमान्ने दबाब पनि देखाउँछ । यस्ता दबाब अस्वीकार गर्न उपयोग गरिएका विविध बहानावाजीको प्रभाव पनि देखाउँछ । हृदयविदारक सन्दर्भहरू पनि छन् । जस्तै कथामा एउटा सन्दर्भ आउँछ, जहाँ जिकोराले आफ्नो आमाको रुखोपनामा लामो समयदेखि लुकाएर राखिएको सम्मानको खोजी भेटिछन् ।
मूलतः ड्रिम काउन्टले आमसम्बन्ध र भावनाहरूलाई नै देखाएको छ । तर, साथी, नातेदार वा घरमा काम गर्न राखेको मान्छेका जस्ता पृथक–पृथक पात्रका आँखाबाट देखाइएको सन्दर्भले प्रेम र बुझाइबारे विविध आयाम थप्छन् ।
- पीडितको भाष्यभन्दा पर
जब चिआ डार्नेलसँगको आफ्नो विगतको बारेमा कुरा गर्छिन् । एउटा सन्दर्भमा उनको साथी ओमेलोगोरले उनलाई भन्छिन्, ‘तिमी खाली दुःखी वा पीडितमात्र नबन । तिमी अझै अरू नै केही पनि बन्न सक्छौ ।’
ड्रिम काउन्टले पीडितहरूलाई दोष दिँदैन । यसले आफ्ना महिला पात्रहरूलाई केवल असहाय व्यक्तित्वहरूमा कमजोर बनाएर देखाउँदैन ।
पुस्तकमा अर्को एउटा गज्जब प्रसङ्ग छ । त्यो प्रसङ्ग काडीयातौ वा काडी भन्ने पात्रसँग सम्बन्धित छ । काडीयातौ गिनीको होटेलमा काम गर्ने नाफीसाटौ दियालोबाट प्रेरित पात्र हो, जसले सन् २०११ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का तत्कालीन प्रमुख स्ट्रस काहनलाई यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।
पछि यसबारेको मुद्दा त खारेज भयो तर दियालोको चरित्रलाई लिएर धेरै टिका–टिप्पणी भयो । अदिचीले त्यसबेला त्यो मुद्दाबारे लेखेकी थिइन् । उनले कसरी मिडियाले दियालोलाई फटाहा र वेश्याको रूपमा देखायो भनेर लेखेकी थिइन् ।
उपन्यासमा अदिचीले त्यो घटना र त्यसको परिणामलाई पुनर्कल्पना गरेकी छिन् । उपन्यासमा पात्र काडीले मिडियाका यस्तै खाले व्यवहार भोग्नुपर्ने हुन्छ तर, उनलाई केवल एउटा लेबल लगाइदिने काममात्रै गरिएको छैन, पूरा र समृद्ध कथा दिइएको छ ।
आफ्नो लेखकीय टिप्पणीमा अदिची भनेअनुसार उनी काडीलाई कुनै बिम्ब वा विचारधाराको रूपमा होइन, वास्तविक व्यक्तिको रूपमा देखाउन चाहन्थिन् । उनी थप्छिन्, ‘विचारधाराले धेरै कुरा देख्नबाट रोक्छ । कलाका लागि धेरै आँखीझ्याल चाहिन्छन् ।’
काडीको हकमा यो कुरा असाध्यै राम्रो गरी देखाइएको छ । अदिचीको लक्ष्य नै त्यस्ता कथाहरू सामान्यतया कसरी भनिन्छ भन्ने असन्तुलनलाई सच्याउनु थियो भन्ने बुझ्न सकिन्छ ।
काडीको आन्तरिकताले अझै धेरै कुरा देखाएको छ । यसमा अझ अदिचीले वर्गको सन्दर्भ ल्याएर हेरेकी छन् । ओमेलोगरले गोप्य रूपमा ‘रविन हुड’ शैलीको गतिविधि गरिरहेका हुन्छन् । उनी गैरकानुनी रूपमा पैसा जम्मा गरेर महिलाहरूलाई सानातिना व्यापार गर्न सघाइरहेका हुन्छन् । उनी एकपटक काडीलाई आफ्नो सपना पूरा गर्न केही सहयोग गर्नुपर्छ कि भनेर सोध्छन् ।
काडीलाई यस्तो प्रश्न त अल्छीका लागि सोधिने हो जस्तो लाग्छ । उनका पनि सपना त छन् । जसमा सानो अपार्टमेन्ट, ठिक्कको जागिर, छोरीको पढाइ तथा अझ तातो पानीले नुहाउन पाउने सुविधाजस्ता कुरा पर्छन् । एकपटक काडी समाचारमा देखा पर्छिन् । यसले उनलाई एक्लो र कसैले नबुझेको भान गराउँछ । उनी आफूलाई गृहिणी भन्छिन् ।
चिआ र जिकोरालाई यस्तो कुरा मन पर्दैन । उनीहरू किन यस्तो मन पराउँदैनन् भन्ने पनि उनलाई खासै चासो हुँदैन । संभ्रान्तहरूलाई आफ्नो इज्जत र प्रतिनिधित्वको चिन्ता हुन्छ तर, काडीजस्ता आममान्छे आफ्नो जीवन र दैनिकी केही सुध्रियोस भन्ने चिन्तामा हुन्छन् ।
- कला र कौतुहलता
ड्रिम काउन्टले उनको पुरानो उपन्यास ‘अमेरिकाना’मा उठाएका केही सवालहरू पनि खोतलेका छन् । त्यसमा ‘अमेरिकी कालाहरू र अफ्रिकाबाट आएका आप्रवासीबिचको आपसी असमझदारी’ पर्छ तर, त्यो सन्दर्भ नयाँ उपन्यासमा आउँदा फरक सन्दर्भमा देखा पर्छ ।
सुरुदेखि नै अदिची पारलैंगिक लगायत धेरै कुरामा मुखर रूपमा प्रस्तुत भएकी छन् । साथै उनी ‘क्यान्सिल कल्चर’ को खतराबारे पनि उत्तिकै मुखर छिन् । ड्रिम काउन्टमा पात्रहरू कुनै कुरालाई पनि ‘समस्याग्रस्त’ भन्ने तरिकाबाट दिक्क छन् । अरुले कसरी बोल्ने, कसरी सोच्ने वा अनुभव गर्ने भनेर नियन्त्रण गर्न खोज्ने कुराबाट आजित पाइन्छन् ।
उपन्यासमा डार्नेल असाध्यै राम्रोसँग लेखिएको पात्र हो । साथै ऊ सबैभन्दा ठुलो दोषी पनि हो । उसले न्यायका बारेमा धेरै ठुला कुरा गर्छ तर वास्तविक जीवनमा भने कुनै पनि शक्ति संरचनालाई चुनौती दिँदैन । बरु उल्टै उसका कामले अवस्थालाई झनै असरल्ल बनाइदिन्छन् ।
उपन्यासमा अर्को एउटा सन्दर्भ छ । जहाँ डार्नेल चिआसँग छुट्टि मनाउन जान तयार हुन्छ । तर, घुमघामको पुरै समय ऊ रिसाइरहेको हुन्छ । ड्राइभरसँग पनि नचाहिँदो ठाउँहरू घुमायो भनेर झर्किरहन्छ । ‘यसरी आरामदायी यात्रामा जाने तर तर त्यसबाट रमाइलो गर्नै नसक्ने डार्नेलको तरिकालाई चिआ ‘समस्याग्रस्त थियो’ भन्छिन् ।
अदिचीले आफ्नो पछिल्लो अन्तर्वार्तामा उनलाई ‘काला जातिका मानिसहरू भित्रकै भिन्नता र संवाद’ मा रुची भएको बताएकी छन् । ड्रिम काउन्टमा उनले चलनचल्तीमा रहेको ‘विविधता’ को बहसमा रहेका छिद्रहरू राम्रोसँग केलाएकी छन् । उपन्यास मूलतः अफ्रिकीहरूबिचको सम्बन्धमा केन्द्रित छ ।
ड्रिम काउन्टले अमेरिकाको उदारवादी कलाचेतको आलोचना गर्छ । त्यो संस्कृतिले अफ्रिकी–अमेरिकी पात्रलाई खास प्रकारको चिन्तन प्रणालीको नक्कल गर्ने मान्छेहरूको रूपमा मात्रै देखाउँछ । डार्नेललाई यस्तै पात्र अर्थात् नकारात्मक व्यक्तिको रूपमा उभ्याइएको छ । अरु पात्रलाई भने पृष्ठभूमिमा आत्मविश्वासी र सुझबुझसहितका देखाइएको छ ।
डार्नेलले बोल्ने जस्ता ‘चिप्ला कुरा’ लाई नाइजेरियाली शैलीभन्दा विल्कुल विपरीत रूपमा देखाइएको छ । मुख्य पात्रहरू पुरानै शैलीको वरपर घुमेका जस्ता पनि देखिन्छन् तर, पुस्तकमा विविध कोणबाट यी पात्रलाई हेरेको देखाइएको छ । खासगरी अनुशासित हुन अप्ठ्यारो परेको अवस्था देखाउँदा यस्तो शैलीको प्रयोग हुने गर्छ ।
एउटा सन्दर्भमा चिआ भन्छिन्, ‘उसको इमानदारिताले मलाई हल्लायो तथा मभित्र घृणा जगायो ।’ यो सन्दर्भ उनको केटा साथीले आफ्नो पूर्वप्रेमिकाको जातिवादवारे कुरा गर्दाको अवस्थामा आइपुग्छ ।
धेरै सन्दर्भहरूमा भने चलनचल्तीकै शैली पछ्याइएको छ । धेरै ठाउँमा अदिचीले देखाउन खोजेको विविध कोणबाट हेर्ने कुरा हामी पाउँदैनौँ । एक ठाउँमा ओमेलोगर महिलाहरूमा हुने अभिमानलाई लिएर ‘त्यो विध्वंशक हुने तथा पुरुषहरूमा भने प्रतिक्रियावाद हुने’ भन्छिन् ।
यस्तो विचारलाई पुस्तकले संदेहको घेरामा नराखेको भान हुन्छ । प्रेमिल सम्बन्धहरू सबैजसो दुखान्तमा पुग्छन् । डार्नेलभन्दा फरक खालको गहन प्रेम गर्ने भनेकी चिआको प्रेमले पनि त्यही नियति भोग्नु परेको छ ।
केही सीमाहरूका बाबजुद ड्रीम काउन्ट चिमामान्डा अदिचीको गज्जब पुस्तक हो । यसले दिक्क लाग्दा कथाहरू भन्दा बाहिर जान र मानिसहरूलाई पृथक र स्पष्ट रूपमा सोच्नका लागि एउटा प्लटको निर्माण गरिदिएको छ । पुस्तकले मलाई धेरै ठाउमा हँसायो, रुवायो तथा मैले ‘राजनीतिक रूपमा सही’ ठानेका मेरा गल्तीहरूको बोध पनि गरायो ।
उपन्यासमा जीवनका कष्टहरूलाई ‘सानातिना र बिस्तारै मिल्दै जाने’ रूपमा वर्णन गर्छ तर, उपन्यास भने धेरै गहन छ । आम मान्छेबारेका गहिरा कौतुहलताले भरिएको छ ।
(द कन्भरसेसनबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतका कृषिमन्त्रीबिच समझदारी पत्रमा हस्ताक्षर
-
६८ हजार ६ सय ८३ घरमा निःशुल्क खानेपानीका नयाँ मिटर जडान
-
मोटरसाइकल ठोक्किएर सिराहामा दुई जनाको मृत्यु
-
नेपालले करिब २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै
-
झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा
-
पर्यटक खस्किएको बारे समितिको पर्यटन मन्त्रीसँग अनौपचारिक छलफल