सुपुष्पालाई १० प्रश्न

काठमाडौं । सुपुष्पा भट्टले ‘रणवीर’बाट फिल्म करियर सुरु गरेकी हुन् । त्यसपछि ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’ अभिनय गरेर हराएकी उनी चार वर्षपछि गत फागुनमा रिलिज ‘फेरि रेशम फिलिली’मा देखा परिन् ।
उनी अभिनित अर्को फिल्म ‘पिताम्बर’ आगामी शुक्रबार प्रदर्शनमा आउँदैछ । अहिले उनी यसैको प्रचार–प्रसारमा छिन् । फिल्ममा ‘बिहानी’ नामक विधवाको चरित्रमा आफू रहेको उनले बताइन् । फिल्म अभिनयबाट विधवाको जीवन बुझ्न मिलेको बताउने उनी अब फिल्ममा एक्सन गर्ने इच्छा राख्छिन् । यस्तो छ अभिनेत्री सुपुष्पालाई रातोपाटीको १० प्रश्न ।
- अहिलेको व्यस्तता कस्तो छ ?
– मेरो नयाँ फिल्म ‘पिताम्बर’ आगामी शुक्रबार(२९ चैत्र) बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । त्यसको प्रचारप्रसारमा व्यस्त छु । अभिनयका लागि केही नयाँ फिल्मका स्क्रिप्ट पढिरहेको छु । फिल्मीकर्ममै छु भनौँ न ।
- कस्तो भूमिकामा देख्न सकिन्छ ?
– फिल्ममा बिहानी नामको चरित्र निर्वाह गरेकी छु । बिहानी विधवा छे र इनोसेन्ट छे । बिहानी कसरी विधवा हुन्छे भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्छ । मेरो क्यारेक्टरमा फेज र ग्राफ दुवै छ । कहाँदेखि कहाँसम्म के भइरहेको छ भन्ने बिहानीमार्फत थाहा पाइन्छ ।
- विधवाको चरित्र भन्नुभयो, विधवा जीवन के रहेछ ?
– विधवाको जीवन यस्तो, उस्तो भनेरभन्दा पनि अभिनयमार्फत केही बुझ्न सकेँ । मेरो बुझाइमा नेपाली समाजमा विधवाको जीवन बाँच्न निकै गाह्रो हुँदो रहेछ । आफूलाई माया गर्ने मान्छे नै नहुँदा गाह्रो पक्कै हुन्छ । त्यसमा पनि समाजको सकारात्मक दृष्टि र सपोर्ट मिल्दो रहेनछ ।
- ‘पिताम्बर’ मल्टिस्टारर फिल्म हो, कामको अनुभव कस्तो रह्यो ?
– मल्टिस्टारर फिल्ममा जोडिन पाउनु भाग्य हो । फिल्ममा आफ्नो पात्रमा गर्न सक्ने हो कि होइन भन्ने कुराले सुरुमा मलाई गाह्रो भएको थियो । तर मैले यतिको स्पेस पाएँ भनेर आफूलाई भाग्यशाली ठानेकी थिएँ । यति धेरै कलाकारमा म पनि एउटा छु है भन्नेमा गर्व पनि छ । तर काममा प्रेसरचाहिँ हुँदोरहेछ । सबै कलाकार राम्रो अभिनय गर्ने हुनुहुन्छ । मेरो अभिनयचाहिँ कताबाट चिप्लिने हो कि भन्ने डर थियो । आफू तयारी अवस्थामा रहेपछि त्यो डर हराउँदो रहेछ । फिल्मबाट धेरै कुरो सिक्न पाएँ । जुन अभिनय रोज्नुका लोभ पनि थियो ।
- पुरुषभन्दा महिला निर्देशकसँग काम गर्दाको भिन्नता के रहेछ ?
– महिला र पुरुष निर्देशकभन्दा पनि निर्देशक भनेको निर्देशक नै हो । फिल्मप्रति क्लियर भिजन भएको निर्देशक छ भने पुरुष वा महिला जे भए पनि सजिलो हुने अनुभव गरेँ । कृषा दिदीको निर्देशन कला एकदमै राम्रो रहेछ । एकसेएक स्टार लिएर उहाँले ‘पिताम्बर’ बनाउनुभएको छ । उहाँको आँटबाट प्रभावित भएकी छु । उहाँ चित्त नबुझेको कुरा सीधै भन्नुहुन्थ्यो । सुरु सुरुमा यो निर्देशक एकदमै कडा रहेछ, काम गर्न सक्दिनँ कि भन्ने डर लागेको थियो । काम गर्दै जाँदा एकदमै सजिलो लाग्यो ।
- केही अगाडि प्रदर्शित ‘फेरि रेसम फिलिली’मा तपाईंको अभिनयको चर्चा राम्रो भएको थियो । ‘पिताम्बर’ ले के गर्ला ?
– अभिनयमा लोभ लागेको चरित्र यो फिल्ममा मैले पाएको छ । फिल्ममा मैले भेराइटी अभिनय देखाउन पाएको छु । फिल्म हेर्ने दर्शकमा मेरो भूमिकाले रामै्र छाप छोड्छ भन्ने विश्वास हो ।
- ‘फेरि रेसम फिलिली’मा अमेरिका मोहले दुःख पाउनुभएको थियो, रियलमा त्यो मोह छ कि छैन ?
– मलाई अमेरिका जानुपर्छ, बस्नुपर्छ भन्ने पहिले पनि थिएन र अहिले पनि छैन । अमेरिका समृद्ध देश हो । एक पटक घुम्नुपर्छ भन्ने छ ।
- अब अभिनय गर्न मन लागेको भूमिका ?
– मैले केही फिल्म मात्र अभिनय गरेको छु । त्यो हिसाबले धेरै भूमिका गर्न बाँकी छ । अहिले तुरुन्तै कर्मसियलभन्दा पनि फेस्टिभल लक्षित आर्टले भरिएको फिल्म गर्छ मन छ । त्यसका लागि छुट्टै प्रशिक्षण लिन पनि तयार छु । अर्को, एक्सन फिल्ममा पनि काम गर्न मन छ । एक्सन पनि पहिलादेखिकै इच्छा हो ।
- अब कोसँग स्क्रिन सेयर गर्न मन छ ?
– ‘पिताम्बर’ दयाहाङ राई, सौगात मल्ल, प्रदीप खड्का लगायत केही स्टारसँग काम गर्ने इच्छा पुर्यायो । अब विपिन कार्की, रवीन्द्र झालगायत काम नगरेको सबै कलाकारसँग एकपटक स्क्रिन सेयर गर्न मन छ । सबैसँग काम गर्ने मौका मिल्यो भने आफ्नो अभिनयमा अझै निखार ल्याउन सक्छु भन्ने मेरो बुझाइ हो ।
- चार वर्षपछि ‘रेशम फिलिली’मा देखिनुभयो । लगतै ‘पिताम्बर’ आउँदैछ । अब फिल्म अभिनयमा निरन्तरता रहन्छ होला हैन ?
– फिल्म नपाएर वा आफूले नचाहेर हराएको होइन । मेरो स्वास्थ्य समस्याका कारण हराएकी हुँ । स्वास्थ्य समस्याका कारण अभिनयमा फर्किन सक्छु वा यति छिटो फर्किन सक्छु भन्ने थिएन । भगवान्को कृपाले स्वास्थ्य छिट्टै राम्रो भयो । अब नियमित फिल्म गर्छु ।
- होम प्रोडक्सनबाट फिल्म बन्दा निर्माताको रूपमा देखिन मन लागेको छैन ?
– मेरो बुझाइमा निर्माता एकदमै झन्झटिलो काम हो । अहिले यो मेरो बसको काम होइन । त्यसैले अहिले निर्माताको रूपमा आउँ भन्ने लागेको छैन, पछि के हुन्छ भन्न सकिन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग