बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : अग्रज पत्रकार भैरव रिसालको निधनदेखि तीनकुने घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको फरक-फरक भनाइसम्म

आइतबार, २४ चैत २०८१, २३ : ५६
आइतबार, २४ चैत २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 
१. अग्रज पत्रकार भैरव रिसालको निधन 
अग्रज पत्रकार भैरव रिसालको निधन भएको छ । उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो ।  मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए । 

२. रवि लामिछानेलाई पक्राउ गर्न किन हतारियो प्रहरी ?
सहकारीको रकम हिनामिना लगायतका मुद्दामा रुपन्देही जिल्ला अदालतको आदेश अनुसार धरौटीमा रिहा भएका रवि लामिछाने उच्च अदालतको आदेश अनुसार फेरि थुनामा पुगेका छन् । शुक्रबार अबेर उच्च अदालतले आदेश दिए पनि त्यसको केही घण्टामै अर्थात्, राति प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो । आखिर प्रहरीले यति हतार किन गर्‍यो भन्नेबारे प्रश्न उठेको छ ।

३.  तीनकुने घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको भनाइ फरक
चैत १५ गते शुक्रबार राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको आन्दोलन हिंसात्मक बनेपछि त्यसको छानबिन कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले राखेका धारणामा मतैक्य देखिन सकेको छैन ।

४. शिक्षकहरू निर्णायक आन्दोलनमा लाग्दा दलहरू आरोप–प्रत्यारोपमा
काठमाडौँ केन्द्रित आन्दोलन थालेका मुलुकभरका शिक्षकले सोमबारबाट आम शैक्षिक हडताल घोषणा गरेका छन् । चैत २५ गतेदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै उनीहरू हडतालमा उत्रिन थालेका छन् । दलहरू भने आरोप–प्रत्यारोपमा उत्रिएका छन् । 

५. पूर्वउपराष्ट्रपति पासाङ बने माओवादी केन्द्रको उपाध्यक्ष
नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी समेत दिएको उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो ।

६.फोरम लोकतान्त्रिक र राप्रपाबाट आएकाहरूको सदस्यता नवीकरणमा कांग्रेसभित्र विवाद
नेपाली कांग्रेससँग एकीकरण गरी आएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सुनिल थापा समूहको सदस्यता नवीकरणमा विवाद देखिएको छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबिच २०७४ असोज ३० गते एकीकरण भएको थियो । राप्रपाका तत्कालीन महामन्त्री थापाको समूह २०७७ साउन १३ गते कांग्रेस प्रवेश गरेको थियो । 

७. गणतन्त्र ल्याउने सहमतिबारे माधवकुमार नेपालको यस्तो खुलासा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादीले जनयुद्ध छोडेर आएको बताएका छन् ।  

८. गभर्नरका रूपमा अधिकारीले ५ वर्षमा के-के गरे ? 
महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकबाट बिदा भएका छन् । शनिबार उनको कार्यकाल सकिने भएकाले शुक्रबार नै राष्ट्र बैंकमा औपचारिक बिदाइ गरियो । गभर्नरका रूपमा पाँच वर्ष बिताएका उनी विवादमुक्त भने हुन सकेनन् ।

९. राप्रपाको आन्दोलनमा संयुक्त आन्दोलन समिति पनि सामेल हुने
राप्रपाले चैत २६ गते गर्न लागेको प्रदर्शनमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को पनि सहभागिता रहने भएको छ । समितिका कार्यवाहक संयोजक जगमान गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा समिति राष्ट्रिय झन्डासहित राप्रपाको कार्यक्रममा सहभागी हुने उल्लेख छ ।

१०. जनमत र नाउपाबिच एकता प्रक्रियाबारे सैद्धान्तिक सहमति
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरूको बैठक  बर्दियाको राजापुर सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले पार्टी एकता गर्ने विषयमा सैद्धान्तिक सहमति टुङ्ग्याएको छ ।

११. शंकर पोखरेलको प्रश्न 
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूलाई आन्दोलन नछोड्न भनेर उर्दी जारी गरेको आरोप लगाएका छन् । महासचिव पोखरेलले सडकबाट विधि र प्रक्रिया विनै कानुन निर्माण गर्न सम्भव नभएको भन्दै पटक पटक प्रधानमन्त्री भैसकेका प्रचण्डलाई त्यो कुरा थाहा हुँदाहुँदै पनि शिक्षकहरूलाई आन्दोलन नछाड्न उर्दी जारी गरेको आरोप लगाएका हुन् । 

१२. नेपाली फिल्म ‘सेन्सर’मा लफडा झेल्दै
विभिन्न नेपाली फिल्मले ‘सेन्सर’का नाममा लफडा झेलेका छन् । नेपाली फिल्म सेन्सरमा पुगेर किन अल्झिन्छन् भन्नेबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप