बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

शंकर पोखरेलको प्रश्न : प्रचण्डको उर्दी कतै हलो अड्काएर गोरु चुट्ने त होइन ?

आइतबार, २४ चैत २०८१, २२ : ४६
आइतबार, २४ चैत २०८१

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूलाई आन्दोलन नछोड्न भनेर उर्दी जारी गरेको आरोप लगाएका छन् । महासचिव पोखरेलले सडकबाट विधि र प्रक्रिया विनै कानुन निर्माण गर्न सम्भव नभएको भन्दै पटक पटक प्रधानमन्त्री भैसकेका प्रचण्डलाई त्यो कुरा थाहा हुँदाहुँदै पनि शिक्षकहरूलाई आन्दोलन नछाड्न उर्दी जारी गरेको आरोप लगाएका हुन् । 

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नै महासचिव पोखरेलले भनेका छन्– ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरूलाई आन्दोलन नछोड्न भनेर उर्दी जारी गर्नु भएछ । कानुन निर्माणका लागि विधि र प्रक्रिया आवश्यक पर्दछ भन्ने कुरा पटक पटक प्रधानमन्त्री भएको प्रचण्डजीलाई थाह नहुने कुरै भएन । के सडकबाट विधि र प्रक्रिया विनै कानुन निर्माण गर्न सम्भव छ र ?’

पोखरेलले विगतमा शिक्षकहरूसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रचण्ड नेतृत्वको सरकारले नै उदासीनता देखाएको बताउँदै त्यसबेलाको सम्झौता अनुसार विधेयकमा सुधार गरेको भए १८०० भन्दा बढी संशोधन प्रस्तावको जटिलतामा शिक्षा समिति नफस्ने बताएका छन् ।  सत्तापक्षले संयन्त्र बनाएर छोटो प्रक्रिया अवलम्बन गरेरै हिउँदे अधिवेशनबाट विधेयक पारित गर्न प्रयास गरेको बताउँदै महासचिव पोखरेलले उक्त प्रयासलाई माओवादीले  सहयोग गरेको भए शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै नरहने जिकिर गरेका छन् ।

अध्यक्ष प्रचण्डले समाधानको प्रस्ताव नै नराखी शिक्षकहरूलाई आन्दोलन नछोड्न भनेर भन्नुको अन्तर्य के होला ? भन्दै पोखरेलले प्रश्न समेत गरेका छन् । उनले भनेका छन्– ‘यस्तो अवस्था रहँदा रहँदै प्रचण्डजीले समाधानको प्रस्ताव नराखी शिक्षकहरूलाई आन्दोलन नछोड्न भनेर भन्नुको अन्तर्य के होला ? कतै हलो अड्काएर गोरु चुट्ने त होइन ?’

shankar-1

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप