बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादीको निष्कर्ष : सरकारको नालायकीपनले गम्भीर चुनौती

आइतबार, २४ चैत २०८१, २२ : ००
आइतबार, २४ चैत २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारको नालायकीपनले संघीय  लोकतान्त्रिक गणतन्त्र र मुलुकको स्वाधीनताको रक्षाका निम्ति गम्भीर चुनौती देखिएको निष्कर्ष निकालेको छ ।  चैत्र १८ र १९ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निष्कर्ष निकाल्दै यस सन्दर्भमा पार्टीको रणनीतिसहित आइतबार मातहतका कमिटीमा सर्कुलर पठाइएको एक नेताले जानकारी दिए । 

‘तीनकुनेको घटना शृङ्खला र शान्ति सुरक्षाको जिम्मेवारी रहेको सरकारको नालायकीपनले गर्दा संघीय  लोकतान्त्रिक गणतन्त्र र मुलुकको स्वाधीनताको रक्षाको निम्ति गम्भीर चुनौती देखिएको छ’, माओवादीको सर्कुलरमा भनिएको छ , ‘यस स्थितिमा हामीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने छ ।’

सरकारको नालायकी र बेथितिको विरुद्व खबरदारीका साथै प्रतिगमनकारी षडयन्त्रका विरुद्ध भण्डाफोरलाई तीव्रता दिनु दिनुपर्ने पार्टीको निष्कर्ष रहेको ती नेताको भनाइ छ । ‘शान्तिपूर्ण  रूपमा युवा स्वयमसेवकहरुको परिचालन र बृहत जनपरिचालनमा जोड दिनु पर्छ’, माओवादीको भनाइ छ, ‘ यसका लागि गणतन्त्र पक्षधरहरूबिच संवाद, सहकार्य बढाउने र यस अभियानमा समाजवादी मोर्चालाई पनि क्रियाशील गराइनु पर्दछ ।’ 

माओवादीले चैत्र १५ गते तीनकुनेमा राजावादीहरूको कार्यक्रममा देखिएको उद्दण्डता, तोडफोड,  आगजनी, आततायी र आपराधिक घटनाको रूपमा देखिएको समेत निष्कर्ष निकालेको छ ।  बैठकमा अध्यक्ष प्रचण्डले सरकारका काम कार्यवाहिहरुमा बेथिति रहेको भन्दै भ्रष्टहरूको रक्षा गरिरहेको बताएका थिए ।

यस्तै गणतन्त्र र राष्ट्रिय  स्वाधीनताको रक्षामा गम्भीरता नदेखिएको तथा प्रतिगामी षडयन्त्रहरू बढ्दै गइरहेको भए पनि यसमा सरकार गैर जिम्मेवार बनेको प्रचण्डको भनाइ थियो । 

यसै क्रममा चैत्र १५ गते राजधानीमा समाजवादी मोर्चाको तर्फबाट  गणतन्त्रको पक्षमा भएको जनप्रदर्शन सानदार रूपमा सम्पन्न भएको माओवादीको निष्कर्ष छ । यसबाट गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध सशक्त जन अभिमत प्रकट गर्न सफल रहेको माओवादीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप