१० बजे १० समाचार : पूर्वउपराष्ट्रपति पासाङ बने माओवादीको उपाध्यक्षदेखि रवि लामिछानेलाई पक्राउ गर्न किन हतारसम्म

आज २०८१ चैत २४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा रवि लामिछानेलाई पक्राउ गर्न किन हतारियो प्रहरी ?, तीनकुने घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको भनाइ फरक, शिक्षकहरू निर्णायक आन्दोलनमा लाग्दा दलहरू आरोप–प्रत्यारोपमा, पूर्वउपराष्ट्रपति पासाङ बने माओवादी केन्द्रको उपाध्यक्ष, राप्रपाको आन्दोलनमा संयुक्त आन्दोलन समिति पनि सामेल हुने लगायत छन् ।
१. रवि लामिछानेलाई पक्राउ गर्न किन हतारियो प्रहरी ?
सहकारीको रकम हिनामिना लगायतका मुद्दामा रुपन्देही जिल्ला अदालतको आदेश अनुसार धरौटीमा रिहा भएका रवि लामिछाने उच्च अदालतको आदेश अनुसार फेरि थुनामा पुगेका छन् । शुक्रबार अबेर उच्च अदालतले आदेश दिए पनि त्यसको केही घण्टामै अर्थात्, राति प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो । आखिर प्रहरीले यति हतार किन ग¥यो भन्नेबारे प्रश्न उठेको छ ।
२. तीनकुने घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको भनाइ फरक
चैत १५ गते शुक्रबार राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको आन्दोलन हिंसात्मक बनेपछि त्यसको छानबिन कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले राखेका धारणामा मतैक्य देखिन सकेको छैन ।
३. शिक्षकहरू निर्णायक आन्दोलनमा लाग्दा दलहरू आरोप–प्रत्यारोपमा
काठमाडौँ केन्द्रित आन्दोलन थालेका मुलुकभरका शिक्षकले सोमबारबाट आम शैक्षिक हडताल घोषणा गरेका छन् । चैत २५ गतेदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै उनीहरू हडतालमा उत्रिन थालेका छन् । दलहरू भने आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
४. पूर्वउपराष्ट्रपति पासाङ बने माओवादी केन्द्रको उपाध्यक्ष
नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी समेत दिएको उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो ।
५. फोरम लोकतान्त्रिक र राप्रपाबाट आएकाहरूको सदस्यता नवीकरणमा कांग्रेसभित्र विवाद
नेपाली कांग्रेससँग एकीकरण गरी आएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सुनिल थापा समूहको सदस्यता नवीकरणमा विवाद देखिएको छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबिच २०७४ असोज ३० गते एकीकरण भएको थियो । राप्रपाका तत्कालीन महामन्त्री थापाको समूह २०७७ साउन १३ गते कांग्रेस प्रवेश गरेको थियो ।
६. गणतन्त्र ल्याउने सहमतिबारे माधवकुमार नेपालको यस्तो खुलासा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादीले जनयुद्ध छोडेर आएको बताएका छन् ।
७. गभर्नरका रूपमा अधिकारीले ५ वर्षमा के–के गरे ?
महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकबाट बिदा भएका छन् । शनिबार उनको कार्यकाल सकिने भएकाले शुक्रबार नै राष्ट्र बैंकमा औपचारिक बिदाइ गरियो । गभर्नरका रूपमा पाँच वर्ष बिताएका उनी विवादमुक्त भने हुन सकेनन् ।
८. राप्रपाको आन्दोलनमा संयुक्त आन्दोलन समिति पनि सामेल हुने
राप्रपाले चैत २६ गते गर्न लागेको प्रदर्शनमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को पनि सहभागिता रहने भएको छ । समितिका कार्यवाहक संयोजक जगमान गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा समिति राष्ट्रिय झन्डासहित राप्रपाको कार्यक्रममा सहभागी हुने उल्लेख छ ।
९. जनमत र नाउपाबिच एकता प्रक्रियाबारे सैद्धान्तिक सहमति
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरूको बैठक बर्दियाको राजापुर सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले पार्टी एकता गर्ने विषयमा सैद्धान्तिक सहमति टुङ्ग्याएको छ ।
१०. नेपाली फिल्म ‘सेन्सर’मा लफडा झेल्दै
विभिन्न नेपाली फिल्मले ‘सेन्सर’का नाममा लफडा झेलेका छन् । नेपाली फिल्म सेन्सरमा पुगेर किन अल्झिन्छन् भन्नेबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकहरूबिचको छलफल सकियो
-
एमालेको पथरी शनिश्चरेमा नयाँ नेतृत्व चयन
-
वाणिज्य विभागको अनुगमन जारी, २० वटा उद्योगहरूको कारोबार रोक्का
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
माओवादी सचिव शर्मा र चिनियाँ पार्टी स्कुलका कार्यकारी उपाध्यक्षबिच भेटवार्ता, सम्बन्ध बढाउनेबारे छलफल