मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

वनबाट पतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार दिइने

आइतबार, २४ चैत २०८१, २० : ३९
आइतबार, २४ चैत २०८१

गोरखा । देशैभर वन जङ्गलमा डढेलो लागिरहेका घटना सार्वजनिक भइरहेका बेला गोरखाको भीमसेनथापा गाउँपालिकाले भने डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर सङ्कलन’ कार्यक्रम लागू गरेको छ । कार्यक्रमअन्तर्गत पालिकाले पतिङ्गर सङ्कलन गरेबापत  नगद पुरस्कार दिने घोषणा गरेको छ । 

पालिकाभित्रका सामुदायिक वनबाट पातपतिङ्गर सङ्कलन गर्नेलाई प्रतिकेजी रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए । 

उनका अनुसार व्यक्ति तथा समूहले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गरेर पतिङ्गर सङ्कलन गर्न पाउने छन् । गाउँपालिकाभित्र डढेलो लगाउने कार्य निरुत्साहन तथा वन डढेलो नियन्त्रण गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको अधिकारीले जानकारी दिए। 

“सङ्कलित पातपतिङ्गर प्राङ्गरिक मल बनाउन प्रयोग हुन्छ । त्यसको व्यवस्थापन तथा बिक्री वितरणको जिम्मा भने सम्बन्धित सामुदायिक वन तथा वडा कार्यालयलाई दिइनेछ”, उहाँले भन्नुभयो, “कार्यक्रम नयाँ हो तर यसलाई सबैजनाले सिको गर्न लायक बनाउने लक्ष्य छ ।” पालिकाबाट अनुगमन गरेपछि मात्र पतिङ्गर सङ्कलनबापतको रकम उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । 

कार्यक्रमले वन डढेलो नियन्त्रण गर्नुका साथै सामुदायिक वनको आयआर्जन बढाउन पनि सहयोग पुर्‍याउने विश्वास गरिएको छ । हाल गाउँपालिकाका अधिकांश वनजङ्गलमा धमाधम पतिङ्गर सङ्कलन गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप