बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय
माओवादीको निर्णय

पूर्वउपराष्ट्रपति पासाङलाई माओवादीले बनायो उपाध्यक्ष

आइतबार, २४ चैत २०८१, २० : २६
आइतबार, २४ चैत २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी समेत दिएको उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो । 

यसअघि गत माघमै पासाङ पार्टी राजनीतिमा औपचारिक रूपमा फर्किएका थिए । जसअनुसार पार्टीले पासाङलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो । 

उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै उनी अनौपचारिक रूपमा माओवादीको आन्तरिक बैठकमा सहभागी हुँदै आएका थिए  । अब भने उनी पदाधिकारीको थप जिम्मेवारीसहित पार्टी राजनीतिमा सक्रिय हुने भएका हुन् । 

पासाङ राजनीतिमा फर्किन लागेकोबारे समाचार पहिलो पटक रातोपाटीले प्रकाशित गरेको थियो ।  समाचार पछि  यसबारे पार्टीभित्र र बाहिर व्यापक बहस समेत सिर्जना भएको थियो । 

पासाङले पार्टी राजनीतिमा फर्किने चाहना राखेपछि प्रचण्डले सुरुमै उनलाई उपाध्यक्ष बनाउन लागेको चर्चा भएको थियो । तर, सर्वत्र आलोचना भएपछि उनलाई जिम्मेवारी दिने प्रचण्डको चाहना स्थगित हुँदै आएको थियो । गत उपराष्ट्रपतिबाट बिदा भएपछि कात्तिक २६ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पहिलोपटक सहभागी भएका उनी त्यसयता माओवादीको केन्द्रीय तहका हरेक बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका थिए । 

गत पुस तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमा पनि उनी आमन्त्रित हैसियतमै सहभागी भएका थिए । उक्त बैठकमा पासाङलाई पार्टीमा जिम्मेवारी दिने विषयमा कैयन केन्द्रीय समिति सदस्यहरूले असहमति समेत राखेका थिए । सोही असहमति र पार्टिभित्रको आन्तरिक समीकरण मिलाउन पासाङलाई पदाधिकारीमा नल्याएका प्रचण्डले हाल आएर भने उपाध्यक्ष बनाएका हुन् । 

तत्कालीन माओवादी जनयुद्धकालका डेपुटी कमान्डर पुन माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा नगएर राजीनामा प्रवेश गरेका थिए ।

 जसअनुसार संसदीय राजनीतिमा लागेका उनी २०७२ सालमा  उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यससँगै माओवादीबाट अलग भएका उनी २०७९ को निर्वाचनपछि भने उपराष्ट्रपति पदबाट बाहिरिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप