रविलाई पक्राउ गर्न किन हतारियो प्रहरी ?

काठमाडौँ । ‘हामीलाई आदेश कार्यान्वयनका लागि पत्र आएपछि कानुनी राय पनि लिएर अगाडि बढ्छौँ,’ शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि प्रहरी प्रधान कार्यालय उच्च स्रोतले रातोपाटीलाई बताएको थियो । तर त्यसको केही समयमै प्रहरी परिचालन भयो । बूढानीलकण्ठस्थित हेपाली हाइट निवासबाट जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामिछानेलाई नियन्त्रणमा लियो ।
जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने उच्चको आदेश साँझ ७ः३० मा सार्वजनिक भयो । त्यसको डेढ घण्टामै जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ गर्न प्रहरी परिचालन भएपछि लाछिानले सामाजिक सञ्जालमा सोही दिन आफैँ गिरफ्तारी दिने जानकारी दिएका थिए ।
आदेशपछि रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, सांसद शिशिर खनाललगायत कार्यकर्ता र कानुन व्यवसायी लामिछाने निवासमा जम्मा भइसकेका थिए । पक्राउ पुर्जीविनै कोठामै प्रहरी पुगेपछि केही समय विवाद भएको थियो । प्रहरीले अदालतको आदेश आइसकेकाले अन्य कागजात नचाहिने दाबी गरेपछि विवाद भएको थियो । विवादका क्रममा लामिछाने र उनका कार्यकर्ताले पक्राउ पुर्जी मागेका थिए । त्यसपछि प्रहरीले त्यहीँ पुर्जी बनाएर लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।
लामिछानेलाई मध्यराति पक्राउ गरेर एक रात प्रहरी परिसर काठमाडौँमा राखिएको थियो । शनिबार उनलाई रुपन्देही पठाइएको छ भने कानुनी प्रक्रिया पूरा गर्न नसक्दा कारागार चलान गरिएको छैन । उनलाई आइतबार पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिने छ भने सोमबार मात्रै अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।
लामिछानेको पक्राउसँगै आदेश कार्यान्वयनका लागि प्रक्रिया नपुर्याएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । प्रक्रियागत रूपमा उच्चको आदेश जिल्ला अदालतमार्फत कार्यान्वयन हुनुपथ्र्यो । सर्वोच्च अदालतका एक पूर्वरजिस्ट्रार भन्छन्, ‘रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले हतार गरेको देखियो । आदेश जिल्ला अदालत पुगेपछि जिल्लाले प्रहरीलाई पत्र लेखेपछि मात्रै समात्नुपर्थ्यो ।’
यसरी अदालती प्रक्रिया पूरा नगरी पक्राउ गरिनुमा राजनीतिक पूर्वाग्रह देखिएको उनको बुझाइ छ । रविलाई निगरानीमा राखी आफैँ गिरफ्तारी हुन दिने, अन्यथा आइतबार बिदा भएकाले सोमबारसम्म प्रक्रिया पुर्याई पक्राउ गर्नुपर्नेमा प्रक्रिया मिचिएको उनले बताए ।
लाछिानेको पक्राउका विषयमा कानुन व्यवसायीहरूले समेत प्रश्न उठाएका छन् । ‘उनलाई किन र कुन अख्तियारीबमोजिम प्रहरी र गृह प्रशासनले मध्यरातमा समातेको हो ?,’ अधिवक्ता सुलभ खरेलले भने, ‘शुक्रबार राति उच्च अदालतले आदेश गर्यो ।
सो आदेश जिल्ला अदालत (ट्रायल कोर्ट)मा आजै मध्यरात पुग्दैन । उक्त आदेश जिल्ला अदालत पुगेपछि मात्रै अदालतले आवश्यक कारबाहीका लागि प्रहरीलाई लेखिपठाउने होला वा तारेखमा प्रतिवादी उपस्थित हुँदा समाइनुपर्ने होला ।’
यस्तै अर्का अधिवक्ता सुवास आचार्य पनि लामिछानेलाई प्रहरी परिसरमा गैरकानुनी रूपमा राखिएको बताउँछन् । उनले फेसबुकमा लेखेका छन्, ‘लामिछानेलाई एक रात प्रहरी परिसरमा राखियो । के कुन कानुनले ? कसरी ? यसको उत्तर नै छैन । एक सिन्को पनि थुना गैरकानुनी छ भने त्यो गैरकानुनी नै हुन्छ । यो गैरकानुनी थियो ।’
अदालतको आदेश आउनुभन्दा अगाडिदेखि नै सादा पोसाकमा प्रहरी खटाइएको आरोप रास्वपाको छ । जिल्लामा आदेश कार्यान्वयनका लागि नपुग्दै लामिछानेलाई नियन्त्रणमा लिएपछि सरकारले प्रतिशोध साधेको आरोप रास्वपाको छ ।
रास्वपा सांसद सोबिता गौतमले लामिछानेलाई गरिएको व्यवहार व्यक्तिमाथि मात्र नभई संविधान र विधिको शासनमाथिको पनि गम्भीर अपराध भएको बताएकी छन् । उनले न्यायसम्बन्धी हक उल्लंघन भएको जिकिर गर्दै राज्यसंयन्त्रले आफै कानुनको पालना नगरी राजनीतिक प्रतिशोध देखाएको आरोप लगाएकी छन् ।
यता प्रहरीले भने गृहको दबाबमा लामिछानेलाई रातारात पक्राउ गरिएको आरोप अस्वीकार गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले फौजदारी मुद्दामा अदालतको आदेश आएकाले प्रहरीले कार्यान्वयन गरेको दाबी गरे । ‘उच्चले थुनामा पठाउन आदेश गरेकाले हामीले त्यसलाई कार्यान्वयन गरेका हौँ । फौजदारी कसुरमा जिल्ला अदालतले प्रहरीलाई पत्र लेख्ने भन्ने हुँदैन,’ उनले भने ।
प्रहरी यो घटनामा चुक्यो : पूर्वडीआईजी मल्ल
पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी प्रहरी यस घटनामा चुकेको विश्लेषण गर्छन् । प्रक्रिया पूरा नगरी समात्दा शंका उपशंकाका ठाउँ रहेको र यसले आगामी दिनमा पनि प्रहरीको कामकारबाहीमा प्रश्नचिह्न उठ्ने उनी बताउँछन् ।
‘समाचारमा सुनेर, टेलिभिजनमा आएर कुनै पनि कार्यान्वयन गर्ने होइन । यसको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । प्रहरी हतारिएको देखियो,’ उनले भने । यस घटनामा प्रहरीलाई माथिबाट दबाब आएको हुन सक्ने उनी शंका गर्छन् ।
‘विभिन्न स्वार्थ पहिले पनि आउने र कार्यान्वयन हुने गरेका थिए । दबाब रोक्ने काम पनि हुन्थ्यो । पक्राउ गर्न पनि दबाब आउँथे, नगर्न पनि । तर यसरी दबाब आउँदैमा कानुनी प्रक्रिया पूरा नगर्दा प्रहरी बदनाम हुन्छ जसले आदेश दिएको थियो त्यो त फस्दैन, फस्ने प्रहरी हो,’ उनले भने, ‘दबाब पहिले पनि आउँथ्यो । अहिले पनि आयो होला ।’
केही वर्षदेखि प्रहरी हेडक्वार्टरबाट चलिरहेको छ कि, गृहबाट चलिरहेको छ कि बालुवाटारबाट भन्ने प्रस्ट नदेखिएको उनी बताउँछन् । ‘प्रहरी अरू ठाउँबाट चलिरहेको छ कि भन्ने शंका उपशंका छन् । यसरी बाहिरबाट परिचालन हुँदा बाहिरबाट अनुसन्धान हुन थालेपछि प्रहरीमाथि पनि प्रश्न आउँछ,’ उनले बताए ।
लामिछानेलाई पक्राउ गर्न प्रहरी हतारिने कारण तीनकुने घटनापछिको मनोविज्ञान पनि हुनसक्ने उनी बताउँछन् । तीनकुनेमा राजावादीले चैत १५ मा गरेको कार्यक्रममा हिंसा भड्किएपछि अहिले प्रहरीको आलोचना भइरहेको छ । त्यस्तै शनिबारदेखि रास्वपाले चितवनमा ‘जनयात्रा’ कार्यक्रम गरेकाले त्यो मनोविज्ञानले पनि काम गरेको हुन सक्ने मल्लले आकलन गरे ।
यस्तै लामिछानेलाई पक्राउ गर्न प्रहरी हतारिनुको अर्को कारण तीनकुनेबाट फरार भएका राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंपछिको घटनाक्रम पनि हुन सक्ने उनको अनुमान छ । ‘रविले भाग्दिनँ, आफैँ हाजिर हुन्छु भन्नुभएको थियो । तर आदेश आएपछि लुकिहाले भन्ने मनोविज्ञानले पनि काम गरेको हुन सक्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइन सहित सिरहाबाट ३ जना पक्राउ
-
नेपाल र भारतका सर्वोच्च अदालतबिच न्यायिक सहकार्यको सम्झौता
-
तीनकुने घटना : दुर्गा प्रसाईंका दाई राकेश प्रहरीको नियन्त्रणमा
-
शिक्षकहरूको आन्दोलनमा गाउँपालिका महासंघ र नगरपालिका संघले जनायो ऐक्यबद्धता
-
पाटन क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतकाे आदेश
-
उपाध्यक्षलाई नदिएर वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी